0
पोखराका व्यापारी तथा आलुका पारखीहरु हेमजाको आलु भन्ने वित्तिकै हुरुक्कै हुने गर्दछन् । उनीहरुका लागि हेमजाको आलु पहिलो रोजाइ, पालुङको आलु दोस्रो रोजाइ र त्यपछिमात्र अन्य क्षेत्रमा उत्पादित आलु हुने गर्दछ । आलु लिएर पोखरा बजार भर्ने हेमजालीलाई यतिबेला हेमजामै भ्याइ–नभ्याइ छ । हेमजामा जारी हालु महोत्सवमा प्रवेश गर्ने वित्तिकै आलुको थुप्रोले स्वागत गर्दछ । जसलाई कृषकहरुले आलुको पहाड उपनाम समेत दिएका छन् । उर्वर माटो आलुको पकेट क्षेत्र अनि प्रत्येक घरका कृषकको मुख्य बाली आलु लगाउने र सो को विक्रीबाट मनग्ये आम्दानी गर्नु कास्की पोखराको हेम्जाका किसानको नियमित कर्म बन्दै गएको छ । 
विगतमा अर्थात आजभन्दा करिब ८÷१० वर्ष अघि पनि त्यहाँका किसानहरुले अर्गानिक प्रविधिबाट टन्न आलु फलाउँथे । तर उनीहरुले फलाएको आलु विक्री गर्न निकै कठिन थियो ।  राजमार्गले छोएको हेमजामा यातायातको सहज पहुँच भएपनि महिला कृषकहरु डोकोभरी आलु राखेर विक्रि गर्न पोखरा सम्म पुग्ने गर्दथे । तर अहिले भने समय फेरिएको छ । 
अहिले भने हेमजाका बासिन्दाहरु आफ्नो ठाउँलाई आलुको पर्याय बनाउन सफल भएका छन् । अहिले हेमजाबासीका दुख एकादेशका कथा जस्तै भईसके । अहिले उत्पादन भएको आलु आप्mनै आँगनबाट क्वीण्टलका क्विण्टल विक्री हुने गरेको छ । आलुको विक्रिका लागि वर्षेनी हेमजामा आयोजना हुँदै आएको आलु महोत्सवको छैटौँ संस्करणसम्म आईपुग्दा आलुको विक्री गर्न धेरै सहज भएको छ । 
आलुको विक्री गर्ने प्रक्रियामा समेत धेरै सुधार आएको छ ।  आफ्नै ठाउँमा महोत्सव आयोजना गरिएपछि दुःख गरी फलाएका आलु डोकोमा बोकेर पोखरासम्म धाउनुपर्ने बाध्यताबाट उनीहरु मुक्त भएका त छन् नै त्यसैमाथि आप्mनो ठाउँलाई आलु गाउँका रुपमा समेत परिचित गराउन सफल भईसकेका छन् ।
महोत्सव आयोजना हुन थालेपछि यस ठाउँको प्रचारप्रसारमा ठूलो टेवा मिलेको र पोखरा लगायत आसपासका उपभोक्ताहरु आलु तथा ताजा तरकारीका लागि हेम्जासम्म आउन थालेको कृषक जयराम तिमिल्सिनाको भनाई छ ।
कृषकहरुको सुविधाका लागि यहाँ वर्षेनी विष्णु पादुका क्लब हेमजाले महोत्सवको चाँजोपाँजो मिलाउँदै आएको छ । महोत्सवमा राखिएका आलुका परिकारहरुले त झन आलुको लोकप्रियता प्रष्ट पारेको छ । महोत्सवमा आलुबाट बनेका २० प्रकारका परिकारहरु महोत्सवमा पुग्र्ने दर्शकहरुलाई आकर्षण बन्ने गरेको छ । आलुबाट मःम, पापड, आलु दम, आलुको हलुवा, पकौडा, अचार, आलुको कवाफ, आलुको परौठा, मस्यौरा, खिर र आलुको सुप लगायतका परिकार महोत्सवमा राखिएका छन् ।
अहिले कृषिमा देखिएको मुख्य चुनौती विषादियुक्त तरकारी हो । जसबाट मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । तर महोत्सवमा पुग्ने कृषक तथा दर्शकहरुका लागि  विषादिरहीत तरकारीबाली कसरी गर्ने भनेर अभियान समेत चलाईएको छ । जागरण अभियान नेपाल पोखराको स्टलमा पुग्ने कृषकहरुलाई विषादी प्रयोगबाट पर्ने असरहरुबारे जानकारी गराईएको छ । शनिबार जागरण अभियानका उपाध्यक्ष विनोद त्रिपाठी कृषकहरुलाई विषादि रहित तरकारी उत्पादनको प्रशिक्षणमा व्यस्त देखिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नारा सहित आयोजित महोत्सवमा महोत्सवमा करिब दुई करोड भन्दा बढीको आलुको कारोबार हुने अपेक्षा गरिएको छ । यति ठूलो परिणाममा आलुको कारोबार हुन आफैमा सुखद् पक्ष हो । साथै कृषिमा लगानी गरे प्रतिफल अवश्य प्राप्त हुन सक्दोरहेछ भन्ने कथनको पनि ज्वलन्त उदहारण हो । हेमजामा मात्रै चार सय क्षेत्रफलमा आलु लगाइने र आठ हजार ४ सय  मेट्रिकटन आलु उत्पादन हुने गरेको छ आलुको पकेट क्षेत्र भएकाले पनि कृषकहरुको सुविधा तथा उपभोक्ताको हितका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक एवं विष्णुपादुका क्लब हेमजाका अध्यक्ष रमेश कार्कीले बताए । 

महोत्सवले कृषक र उपभोक्ताबीच सीधा व्यापारलाई पनि सघाउ पुगेको छ । महोत्सवमा यस वर्ष दुई प्रकारका आलुको विक्रि वितरण भएको छ । लाम्चो प्रकृतिको एम एस ४२.३ निलो जातको आलु हेमजाको मुख्य बिषेशता हो । छिटो पाक्नुका साथै चिनिको मात्रा समेत बढी हुने गरेको कृषि बिज्ञहरु  बताउछन । माहोत्सवले सम्पूर्ण कृषकहरुका लागि प्रत्यक्ष फाईदा पुगेको र उत्पादन बढाउने आधुनिक बाली प्रविधिमा कृषकहरुलाई जानकारी गराउन सफल भएको महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष महेन्द्र थापा बताउछन् । कास्कीमा झण्डै १ हजार ३० हेक्टर क्षेत्रफलमा आलु खेती गरिदैं आएको छ । हेमजा गाविसमा मात्रै ४ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । चैत्र १ गतेसम्म चल्ने आठौँ आलु महोत्सवमा महोत्सवमा ६० वटा व्यवसायिक स्टल, १२ वटा आलुका परिकार स्टल १५ वटा कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहेका छन् । २ हजार १ सय ४५ घरधुरी  रहेको हेमजामा ५ सय ५० घुरपरिवारले ब्यवसायीका आलु खेती गदै आएका छन् । हेमजामा उत्पादित आलुले नेपालको कुल उत्पादनको शून्य दलमलव ४९ प्रतिशत हिस्सा ओगटेको छ । हेमजाको उत्पादनले पोखरामा सिजनमा ३० प्रतिशत सम्म माग धान्न सकेको छ । हेमजा बासीको यो प्रयासले निरन्तरताले कृषिमा पनि लगानी गरे प्रतिफल पाउन गाहो छैन भन्ने टुक्कालाई ढुक्कसंग भन्न सकिन्छ ।





Post a Comment

 
Top