0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगरपालिका–१२ खुदीका सुरेन्द्र थापाले दोहोरो फाइदा लिनका लागि राँगापालन व्यवसाय सुरु गरेका छन् । व्यावसायिक रुपमा तरकारी खेती समेत गर्दै आएका थापाले मल र मासुका लागि राँगापालन व्यवसाय सुरु गरेका हुन् । धेरैजसोले गाई, भैँसी, कुखुरा, बाख्रापालन लगायत व्यवसाय गरेर कमाइ गरेका चर्चा सुन्नमा आएपनि थापाले राँगापालन व्यवसाय गरेको देख्दा यहाँका बासिन्दाले अनौठो मानेका छन् । लमजुङको सिम्पानी गाविस–३ घर भई खुदीमा बस्दै आएका थापाले २५ वटा राँगा पालेर व्यवसाय सुरु गरेका छन् । दूधजन्य वस्तु पाल्दा धेरै मेहनत र लगानी गर्नुपर्ने भएका कारण राँगापालन व्यवसाय सुरु गरेको थापा बताउछन्। उनले भने–“राँगाको लागि बिहान, दिउँसो र बेलुका मात्रै स्याहार–सुसार गरे पुग्छ ।” कहिलेकाहीँ चराउन जङ्गल लैजाने गरेको उनले बताए । नवलपरासीको बर्दघाटस्थित हाट बजारबाट प्रतिराँगा नौ हजारमा खरिद गरेर ल्याएको र अहिले राँगाको मूल्य बढेर २० हजार रुपैयाँ पुगेको थापाले बताए ।  थापाले राँगापालनका लागि ३० रोपनी जमिन भाडामा लिएा छन् ।  सँगसँगै उनले गोलभेँडा र माछापालन व्यवसाय समेत गर्दै आएका छन् । जग्गााको वार्षिक तीन लाख ६० हजार रुपैयाँ भाडा बुझाउनु पर्छ ।  थापाले तीसवटा प्लास्टिकका टनेल बनाएर गोलभेँडा खेती तथा तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन्। तरकारी खेतीका लागि बर्सेनि रु डेढ लाखभन्दा बढीको मल खरिद गर्नुपर्ने भएकाले मलकै लागि समेत राँगापालन व्यवसाय सुरु गरेको थापाको भनाइ छ । राँगा बढ्दै गएपछि मासुको लागि समेत बिक्री गर्न सकिने र यस व्यवसायबाट दोहोरो फाइदा हुने थापाले बताए ।  उनले भने–“अहिलेसम्म बैंकबाट व्यवसायका लागि रु ५४ लाख ऋण लिइसकेको छु ।”  उनले प्रमाणपत्र तह उत्तीर्ण गरेका थापा वैदेशिक रोजगारीमा जान नहुने बताए। उनले भने–“यही कमाइ गर्न सकिन्छ भने किन अर्काको देशमा गोठालो बन्न जाने ?,” उनले अहिले नौ जनालाई रोजगारी समेत दिएका छन् । उनले एक वर्ष अघिदेखि मात्रै व्यवसाय सुरु गरेका हुन् ।


Post a Comment

 
Top