0
हरि पन्त÷गोल्डेन
यतिबेला नेपाल पत्रकार महासंघ कास्कीको चुनावी माहौलले पोखरा तातेको छ। चुनावको रणनीति बनाउन र उम्मेदवार चयन गर्न विभिन्न पार्टी निकट पत्रकार संगठनहरुले घेटघाट, छलफललाई तीव्र पारेका छन्। अध्यक्ष छानिसकेका केही संगठनले पदाधिकारीका उम्मेदवार तय गर्न भेला समेत आयोजना गरेका छन्। महासंघको भावी नेतृत्व लिनका लागि कांग्रेस निकट नेपाल प्रेस युनियन, एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरले उम्मेदवार खडा गरिसकेका छन् । केही अघिमात्र गठन भएको  स्वतन्त्र पत्रकार महासंघ, नयाँ शक्ति पार्टी निटक प्रेस सोसाईटी, नेकपा–माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, आदिवासी जनजाति निकट आदिवासी जनजाति पत्रकार संघले हालसम्म कुनै निर्णय गरेका छैनन् । महासंघ कास्कीमा पुराना २६५ र नयाँ ४४ गरि ३०९ मतदाता रहेकोमा चौतारी निकट ११०, युनियन निकट ९० र प्रेस सेन्टर निकट ८६ मतदाता रहेको बताइन्छ । बाँकी मतदाता अन्य संगठनका छन् । 
प्रेस युनियनले रमेश पौडेल, प्रेस चौतारीले दीपेन्द्र श्रेष्ठ र प्रेस सेन्टरले त्रिभुवन पौडेललाई अध्यक्ष पदमा उठाएका छन् । अध्यक्ष पदका उम्मेदवार रमेश रेडियो बाराही, दीपेन्द्र रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत हुन् भने त्रिभुवन पोखरा हटलाईन दैनिकका कार्यकारी सम्पादक हुन् । महासंघ कास्कीमा रमेश पूर्व उपाध्यक्ष, दीपेन्द्र पूर्व सचिव हुन् भने त्रिभुवन वर्तमान सचिव हुन् । यसैगरी रमेश वान तथा प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष, त्रिभुवन अर्थमन्त्री कृष्ण बहादुर महराका प्रेस सहयोगी हुन् भने दीपेन्द्र विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध छन्। चुनाव जित्नका लागि तीनै जना उम्मेदवार कम्मर कसेर लागेका छन् ।
तीनै उम्मेद्वारले आफ्नो उम्मेदवारी पत्रकार एवं समग्र पत्रकारिताको विकासका लागि भएको दावी गरेका छन् । अध्यक्ष पदका उम्मेदवार रमेश पौडेलले आफ्नो उम्मेदवारी ब्यवसायिक पत्रकारितालाई स्थापित गराउन र पत्रकारलाई निर्वाहमुखी नभई व्यवसायिक बनाउनका लागि भएको बताए। उनले आफ्नो नेतृत्वमा गर्ने विभिन्न एजेण्डा समेत अघि सारेका छन् । ब्यवसायिक पत्रकारिताको विकास गर्ने, पत्रकारले भोगेका समस्याको अन्त्य गर्न दक्षता अभिवृद्धि गराउने, गुणस्तरीय पत्रकारितामा जोड दिने र पत्रकारको हकहित एवं पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने लगायतका एजेण्डा अघि सारेर चुनावी मैदानमा होमिएका छन् ।
गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै अध्यक्ष पदका उम्मेदवार रमेश पौडेलले हरेक संघ–संस्था तथा व्यापारिक प्रतिष्ठान एवं उद्योगहरुले कानूनी सल्लाहकार राखे जस्तै प्रेस सल्लाहकार पनि राख्नुपर्नेमा जोड दिए । अधिवक्ता समेत रहेका उनले भने–‘सूचनाको हक कार्यान्वयन गराउनका लागि भएपनि हरेक संघ–संस्था, व्यापारिक तथा उद्योग प्रतिष्ठानको प्रेस सल्लाहकार राख्नुपर्छ । म अध्यक्ष बने भने त्यसकार्यलाई सशक्त ढङ्गले अघि बढाउछु ।’ पौडेलले पोखराका यो सिस्टम लागू भए भने कास्कीका सबै पत्रकार कुनै न कुनै संस्थामा सल्लाहकारको रुपमा आवद्ध हुने र पत्रकारहरु पनि व्यवसायिक बन्ने स्पष्ट पारे । 
यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार दीपेन्द्र श्रेष्ठले पनि  समग्र पत्रकारिता क्षेत्रको गुणस्तरीयता वृद्धि, छवी निर्माण, ब्यवसायिक हक, हित तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गराउन आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आफ्नो मूल एजेण्डा निकास, विकास र सम्वृद्धि को पत्रकारिता भएको स्पष्ट पारे । आफ्नो उम्मेद्वारी सम्पूर्ण पत्रकारको हक हितका लागि रहेको दावी गर्दै श्रेष्ठले आफू अध्यक्ष भएमा गर्ने विभिन्न एजेण्डा समेत अघि सारेका छन्। उनले अघि सारेका एजेण्डामा पत्रकारको न्यूनतम पारिश्रमिकको मुद्धा बेला–बेलामा उठ्ने गरेको र यसलाई सम्बोधन गर्न मुद्धाकोरुपमा मात्र नभई संस्थागत रुपमा लागू गराउने रहेको छ ।
यस्तै एउटा युवाले आफ्नो जीवनको उर्जाशिल समय पत्रकारिता क्षेत्रमा खर्चिने गरेको र अन्त्यमा आर्थिक समस्याका कारण पेशा छाडेर अन्यन्त्र मोडिनुपर्ने बाध्यता रहेकोले त्यसलाई तोड्न  पत्रकारितामा व्यवसायिकताको शुरुवात गराउने, महासंघको अहिलेको भवन निर्माण गर्न ठूलो परिश्रम गर्नुपरेकोले यसलाई व्यवस्थित गराउने, भवनमै पत्रकार पुग्ने तथा भवनमै बसी काम गर्ने वातावरण बनाउन मिडिया सेन्टरको स्थापना गर्ने र पोखरा ४ नम्बर प्रदेशको अघोषित राजधानी भएकोले विकास पत्रकारिता, निकास पत्रकारिता र सम्वृद्धि पत्रकारिताको नारालाई अगाडि बढाउने अध्यक्षका उम्मेदवार दीपेन्द्रको एजेण्डा रहेका छन् । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै श्रेष्ठले पोखराका पत्रकारलाई विट छुट्याएर प्रत्येक महिना एक÷एक तालिम आयोजना गर्ने र पत्रकार महासंघमा सबै पत्रकारलाई जाउँ–जाउँ लाग्ने वातावरण स्थापित गर्न आफू प्रयत्नशील रहने स्पष्ट पारे ।
यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार त्रिभुवन पौडेलले महासंघमा नयाँ र पुराना पुस्ताका पत्रकारहरु बीचको दुरीलाई ब्यवस्थापन गर्दै पत्रकारको ब्यवसायिक हकहित र सुरक्षाका ग्यारेन्टी गराउने बताएका छन् । ‘मैले राजनीतिक कारणबाट मात्र नभई लगातार दुइ कार्यकाल सचिवको भूमिकामा रही महासंघलाई अघि बढाउन लागिपरेकाले स्वाभाविक ढंगले अध्यक्षमा उम्मेद्वारी दिएको उनले स्पष्ट पारे ।
आफू अध्यक्ष बनेमा गर्ने कामको एजेण्डा समेत उनले अघि सारेका छन् । उनको केही एजेण्डा अध्यक्ष पदा उम्मेदवार दीपेन्द्र श्रेष्ठसंग मिल्दा–जुल्दा रहेका छन् । पत्रकार बिरामी हुँदा अथवा समस्यामा पर्दा हाल संघमा १० हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्ने सक्ने क्षमता नरहेकोले एक करोड भन्दा बढीको अक्षयकोष खडा गर्न लागिपर्ने, चुनावको बेलामा मात्र पाइला टेक्नुपर्ने अवस्थाको अन्त्य गराउन र पत्रकारको खुबी तथा क्षमतालाइ उजागर गराउन दिनहुँजसो प्रशिक्षण, विटका आधारमा तालिम, अन्तत्र्रिmया जस्ता कार्यक्रम संचालन गर्ने त्रिभुवन पौडेलका एजेण्डा रहेका छन् ।
यसैगरी निर्भिक ढंगले पत्रकारले भोगेका समस्या राख्ने स्थितिको विकास गर्दै श्रमजीवि पत्रकारहरुलाई परेका समस्यालाई समाधान गराउन र पत्रकारिता गरेकै भरमा आउने धम्की र त्रासको कानूनी उपचारका लागि कास्की जिल्ला बार एशोसिएशन, पुनरावेदन अदालतसंग समन्वय गरी निःशुल्क कानुनी डेस्क स्थापना गराउने र महासंघको भवन निर्माणार्थ आफू सचिव हुँदाको बखत गरेको मेहनतलाई खेर जान नदिई त्यसलाई सबै पत्रकारलाई आफ्नो भवन हो भन्ने महसूस गराउँदै तेश्रो तल्ला थप गरि सबैले भवनमै बसेर काम गर्न सक्ने वातावरणको सिर्जना गर्ने लगायत उनको एजेण्डा छन् ।
यसैबीच पोखरामा महासंघको चुनावी माहौल तातिरहेका बेला विभिन्न खाले बजार हल्लाले प्रसय पाएको छ । अध्यक्ष पदका लागि उम्मेदवार दिएका ३ मध्ये दीपेन्द्र श्रेष्ठसंग त्रिभुवन पौडेलले मात्र प्रतिस्पर्धा गर्ने र युनियन निकट रमेश पौडेललाई ब्याक गराएर महासंघको अध्यक्ष बाहेकका अन्य पदमा युनियन निकटलाई उठाउने र त्यसमा प्रेस सेन्टरले सहयोग गर्ने बजार हल्लाले व्यपाकता पाएको छ ।
प्रेस सेन्टर निकट एक पत्रकारले गोल्डेन न्यूज दैनिकसंग भने–‘यस विषयमा छलफल भइरहेको छ, सहमति भने भएको छैन । केन्द्रीय निर्देशन पनि अध्यक्षमा प्रेस सेन्टर र अन्य पदमा युनियनलाई सघाउने भन्ने छ ।’ राज्य सत्ता समीकरण जस्तै नेतृत्व माओवादी केन्द्र निकटले गर्ने र अन्य पदमा कांग्रेस निकटलाई सघाउने विषयमा छलफल भइरहेको उनले स्पष्ट पारे ।
तर अध्यक्ष पदका उम्मेदवार रमेश पौडेल यो कुरा स्वीकार गर्दैनन् । ‘बजार हल्ला त छ तर यथार्थ त्यो होइन । त्रिभुवन पौडेलले मलाई समर्थन गरेर छाड्न सक्ने सम्भावना छ’,उनले भने–‘युनियनको क्षेत्रीय भेलाले समेत सिनियरको हैसियतले आफूलाई नै कास्कीको अध्यक्षमा उठाउने निर्णय गरेको छ । कसले के प्रपञ्च बनाउँछन्, त्यो मलाई मतलव छैन ।’ उनले २१ गते युनियनको भेला हुँदैछ, त्यो भेलाले अधिकारिक निर्णय गर्ने उनले स्पष्ट पारे ।
यता, रमेश पौडेललाई अध्यक्ष पदमा उठाउने निर्णयप्रति युनियनका जिल्ला अध्यक्ष शिरोमणि बरालले समेत असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्ष बरालले महासंघको अध्यक्ष पदमा आफूले चाहना गरेपनि संगठनका केही अग्रजहरुले मेरो चाहनालाई अस्वीकार गरि रातारात अर्को पात्र खडा गरेको भन्दै असन्तुष्टि प्रकट गर्दै आइरहेका छन् ।
यता, अध्यक्ष पदका तीनै उम्मेदवारले महासंघको अबको नेतृत्व आफूले गर्ने दावी गरेका छन् । महासंघको नेतृत्वका लागि विगतको सम्झौता हेर्ने हो भने चौतारी–प्रेस सेन्टरबीच एकता हुनुपर्छ तर वर्तमान सत्ता समीकरण हेर्ने हो भने प्रेस–सेन्टर र युनियन बीच एकता हुने देखिन्छ । बजार हल्ला र सत्ता समीकरण अनुरुप पत्रकार पनि अघि बढ्ने हो भने महासंघको अबको नेतृत्व त्रिभुवन पौडेलले गर्ने पक्का छ।
प्रेस सेन्टर स्रोतका अनुसार विगतको सम्झौता जे भएपनि वर्तमान सत्ता समीकरण अनुसार प्रेस सेन्टर र युनियनबीच चुनावी एकता हुने पक्का छ । त्यसो भएमा चौतारीका उम्मेदवार दीपेन्द्र श्रेष्ठ पराजित हुनेछन् । तर युनियन र प्रेस सेन्टरका उम्मेदवारबीच चुनावी एकता भएपनि चुनाव जित्नेमा ढुक्क भने छैनन । केही अघिको अकुरावको चुनावमा भएको पराजय महासंघमा पनि दोहोरिने हो कि भन्ने चिन्ता यी दुवै संगठनका उम्मेदवार तथा अग्रजलाई छ । यस्तै प्रेस सेन्टर कास्कीका अध्यक्ष दीपक परियारले महासंघको सचिवमा चाहना गरेकाले पनि यो समीकरण नबन्ने हो कि भन्ने आशंका समेत गरिएको छ । स्रोतका अनुसार परियारले अध्यक्ष र सचिव पद प्रेस सेन्टरले पाउनुपर्ने दावी गर्दै आएकाले समीकरण नबन्नेतर्फ उन्मुख भएको समेत बताइन्छ । अध्यक्ष पदका उम्मेदवार रमेश र त्रिभुवनको राजनीतिक पृष्ठभूमि फरक भएपनि सहगोत्रीय समेत भएकाले यी दुईलाई मिल्नुपर्ने दवाव समेत छ। कतिपयले त्रिभुवनले महासंघको अन्य महत्वपूर्ण पदका लागि बार्गेनिङ गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको र राजधानीतर्फ बढी केन्द्रित भएकाले महासंघको नेतृत्व उनले गर्न नसक्ने भन्नेहरु पनि कम छैनन ।
महासंघ र पोखराको पत्रकारिता क्षेत्रमा दीपेन्द्र श्रेष्ठको सक्रियता र क्रियाशीलता बढी भएकोले श्रेष्ठलाई धेरैले मन पराएको हुनाले युनियन र प्रेस सेन्टरबीच तालमेल भएपनि केही फरक नपर्ने चौतारी निकट एक पत्रकार बताउँछन् । स्वतन्त्र पत्रकार तथा आदिवासी पत्रकारहरुको मत समेत दीपेन्द्रतर्फ जाने भएकाले दीपेन्द्रलाई कम आँक्न नुहने उनी बताउछन् । 
यसैबीच प्रेस युनियन कास्कीका पूर्व उपाध्यक्ष यदुनाथ बञ्जराले आफूले महासंघको उपाध्यक्ष पदमा चाहना गरेको बताएका छन्  । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले भने–‘युनियनले के गर्छ त्यो पछि हेरौंलाई । मेरो चाहना महासंघको उपाध्यक्षमा हो । यदि त्यो पदमा अन्यलाई पठाउने हो भने युनियनको आगामी नेतृत्व मलाई दिनुपर्छ ।’
यसैबीच महासंघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएसंगै पत्रकारिता क्षेत्रमा देखिएका विकृति–विसंगतिका विषय समेत सतहमा आउन थालेका छन् । विभिन्न माध्यम तथा सामाजिक संजालमा आएका असन्तुष्टिहरु विशेषगरि पत्रकारको हक अधिकारमै केन्द्रित रहेका छन्। ती असन्तुष्टिहरुमा पत्रकारको हक, हि र सुरक्षामा महासंघको नेतृत्व मौन बसेको, चुनावा गरिएका प्रतिवद्धता पूरा नगरेको लगायत रहेका छन् । महासंघको अबको नेतृत्व मालिकले होइन श्रमजीवि पत्रकारले गर्नुपर्नेमा समेत कास्कीका पत्रकारहरुले जोड दिएका छन् । पत्रकारिता आचारसंहिता पलना गराउन सक्ने व्यक्तिले महासंघको नेतृत्व गर्नुपर्ने समेत पत्रकारको जोड छ ।

Post a Comment

 
Top