0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला भित्र अवैध कारोवार गरेका पर्यटकलाई कार्वाही गरिने भएको छ । महोत्सव स्थलमा टिकट चिठ्ठा बेच्ने पर्यटकलाई कार्बाही गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । मेलाभित्र पर्यटकले चिठ्ठा बेचेको जानकारी आफूले केहि समय अगाडि मात्र थाहा पाएको भन्दै मैनालीले जो सुकैले पनि यो अथवा त्यो वहानामा प्रलोभन देखाई टिकट चिठ्ठा बेच्न नपाइने बताए । ‘यस्तो कार्य गैह्रकानूनी हो, सम्बन्धित पक्षलाइ कार्वाही हुन्छ’–प्रजिअ मैनालीले भने । कस्तो कारवाही हुन्छ भन्ने प्रश्नमा उनले नियम हेरेर कार्वाही प्रक्रिया अघि बढाउने बताए । आइतवार महोत्सवको आयोजक पोखरा उद्योग वाणिज्य संघले पर्यटन प्रवद्र्धन गर्ने भन्दै मेलामा विदेशी पर्यटकहरुलाइ निम्त्याएको थियो । मेलामा पुगेका केही विदेशी पर्यटकले महोत्सव स्थल भित्रको चौरमा डेस्क स्थापना गरी फन्डरेजिंग इभेन्टको नाममा प्याराग्लाइडिङ, जिप फ्लाएर, होटल आवास, रेष्टुरेन्ट गिफ्ट लगायतका उपहारहरु प्रदान गरिने भन्दै चिठ्ठा विक्री गरेका थिए । पिस क्रप नेपाल भोलुन्टियर नामवाट पर्यटकले मेला स्थलमा २०० र ४०० रुपैयाँ दररेटको टिकट चिठ्ठा बेचेका थिए ।  औद्योगिक ब्यापार मेला स्थल भित्र बिदेशी पर्यटकले अवैध रुपमा चिठ्ठा किन बेचे ? भन्ने बिषयमा आयोजक संस्थाका अध्यक्ष बिश्वशंकर पालिखेले भने आफूलाई यस विषय जानकारी नभएको बताए । सोमवारसम्म पनि आयोजक सस्थाका पदाधिकारीले यस बिषयमा अनभिज्ञता प्रकट गर्दै सामान्य ढङ्गले प्रस्तुत भएका छन् ।  उनीहरुले कसरी चिठ्ठा विक्री गरे, चिठ्ठा विक्री गर्नका लागि डेस्क, कुर्ची लगायतका सामग्रीको प्रबन्ध कसले मिलाएको थियो, उनीहरुले ठाउँका लागि पैसा तिरेका थिएकि थिएनन् यो विषयमा आयोजकनै बेखबर छ ।

Post a Comment

 
Top