0
 कुरा २० वर्ष अगाडिको हो । म्याग्दीको बेनी शहर त्यति बिकसित भैसकेको थिएन । भर्खर २० वर्ष पुगेको एउटा युवाले ईष्टमित्रहरुसँग करिब १ लाख रुपैयाँ सापटी मागेर एउटा ‘टेलर पसल’ खोल्यो, आफ्नै नाममा । उसको नाम थियो बबिन बागदास । पसलको नाम चाँहि ‘बबिन टेलरिङ’ । एकदुई वटा कपडा सिलाउने मेशिन र दुई चार थान ‘सर्टिङ–सुटिङ’का कपडा । शुरुवाती दिन २ जनामात्रै कामदार राखेर बबिन बागदासले म्याग्दीको बेनीमा आफ्नो व्यवसाय शुरुवात गरे । म्याग्दीको विशेषता भन्ने हो भने वैदेशिक रोजगारी नै हो । लगभग यो जिल्ला वैदेशिक रेमिट्यान्सकै भरमा छ । कारण, धेरै युवाहरु विदेश पलायन भएका छन् । लाहुरे सँस्कृति तत्कालिन समयमा खुब मौलाएको थियो । र, म्याग्दीमा अझै पनि यो सेलाएको छैन ।
आफ्ना छिमलका युवाहरु पैसा कमाउन विदेश जाने योजना बनाईरहेको बेलामा बबिन भने स्वदेशमै व्यवसाय शुरुवात गर्दै्थिए । नेपालमै केहि गर्ने जोश र जाँगर बोकेर । ‘गरे के हुँदैन ?’ भन्ने सोँच राख्ने बबिनलाई शुरुवाती दिनमा त्यति सजिलो चाँहि थिएन । व्यावसाय गर्न लिएको ऋण तिर्न थियो । घरमा आमा थिईन् । केहि समयमा विहे गरे, त्यसपछि बालबच्चाको पालनपोषण । तर उनी हिम्मत हारेनन् । र, गरिरहे निरन्तर सँघर्ष । त्यहि सँघर्षले उनलाई विस्तारित बनाउँदै लग्यो । उनले व्यवसायलाई अपडेट गर्दै लगे । थोरै थोरै गर्दै जम्मा गरेको पैसाले आफ्नो पसललाई पनि विस्तार गर्दै लगे । म्याग्दीबाट विस्तारित हुँदै उनी पोखरा आईपुगेका छन् । २ वर्ष अगाडि पोखरा छिरेका बबिनले न्यूरोडमा करिब २ करोड रुपैयाँको लगानीमा ‘सर्टिङ–सुटिङ’ तथा लेडिज गार्मेन्ट्सको शो रुम खोलेका छन् ।
१ लाखबाट शुरुवात गरेको उनको व्यवसाय अहिले २ करोड भन्दा माथिको भैसकेको छ । र, २५ जनाले रोजगारी पाएका छन् । ‘निरन्तरता र ग्राहकको सन्तुष्टीले नै मलाई यहाँसम्म ल्याएको हो ।’ न्यूरोडको आफ्नै पसलमा मन्द मुस्कान छर्दै बबिनले भने–‘मलाई यतिले पुगेको छैन । अझै माथि सम्म जानुछ ।’ यो २ दशकमा उनले निरन्तर परिश्रम गरे । र, त्यसको फल पनि पाउँदै गए । अब उनलाई अगाडि मात्रै बढ्नुछ । पछाडि फर्केर हेर्नु परेको छैन ।
बबिनको जन्म खासमा कुश्मामा हो । पारिवारिक पृष्ठभूमि उति सारो राम्रो थिएन । बाल्यकालमा उनी मामाघर पर्वतको कुर्घामा बसेर पढे । त्यहिँको शारदा माध्यामिक विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरे । र, उनी उच्च शिक्षा अध्ययनका लागि पोखरा झरे ।
‘बुवा विदेशमा हुनुहुन्थ्यो । घरको आर्थिक अवस्था राम्रो थिएन । अब आफैँ केहि गर्नुपर्छ भन्ने लाग्यो । र, राष्ट्रिय उच्च मावि पढ्दा पढ्दै टेलरिङ सिक्न काठमाण्डौँ हानिएँ ।’ बबिनले पुराना दिन सम्झिए–‘टेलरिङ सिकेपछि बल्ल म बेनीतिर लागेँ । केहि आफन्तहरु त्यतै हुनुहुन्थ्यो, त्यसैले म त्यता लागेको थिएँ ।’ २०५२÷५३ ताकाको कुरा हो यो ।
बबिनलाई विदेश गएर होईन, बरु व्यवसाय गरेर पैसा कमाउनुपर्छ भन्ने लाग्नुको पनि कारण छ । बबिनको बुवा तत्कालिन समयमा लामो समय विदेशमा बसे । विदेशमा जाँदा परिवारले दुख पाउँछन् भन्ने कुरा उनले देखेको मात्रै होईन भोगेका थिए । ‘घरको मुली मान्छे वैदेशिक रोजगारिमा जाँदा हुने समस्या भोगेर नै मैले त्यतातिर चासो नै दिईन ।’ बबिनले भने । उनले दुःख पाएपनि उनको छोराछोरी अनि श्रीमतीले दुख नपाउन भन्ने बबिनलाई थियो । त्यहि भएर उनले व्यवसाय शुरु गरे । अहिले उनको परिवार पनि खुशि छ । व्यवसाय राम्रै भईरहेको छ भने एउटी छोरी र एउटा छोराले पनि राम्रै स्कुलमा पढ्छन् । छोरी ८ र छोरा ३ कक्षामा पढिरहेका छन् । उनलाई लाग्छ–‘च्याऊ खानेको छोरोले आफ्ना छोराछोरीलाई घिऊ खाने बनाएको छ ।’
म्याग्दीमा रहेर व्यवसाय गर्दा पुरै म्याग्दीसहित धौलागिरीकै माया पाएको बताउने बबिन अब पोखरेलीले पनि आफुलाई माया गर्नेमा विश्वस्त छन् । ‘आफ्नो काम गर्ने हो र ग्राहकलाई सन्तुष्टि दिने हो । त्यसपछि त्यसै व्यवसायमा सफलता हात लाग्छ । मलाई प्रतिस्पर्धामा खासै विश्वास लाग्दैन ।’ बबिनले आफ्नो व्यवसाय शुत्र बताए ।
रेम विक÷मेन खबर







Post a Comment

 
Top