0
नेपालका सबै संस्कृतिमा पाहुनालाई देवता मान्ने चलन छ । यसैले नेपाल जुनसुकै भागमा पुग्दा पनि विदेशी पर्यटकले स्नेह र सम्मान पाउँछन् । नेपाली संस्कृतिको यही विशेषतालाई राज्यले आर्थिक उन्नतिका लागि उपयोग गर्ने उद्देश्य राखेर पर्यटनलाई उद्योगका रूपमा विकास गर्ने नीति अपनाएको हो । पर्यटन प्रवर्धनमा अनुकूल प्रभाव पर्ने गरी राज्यका अरू नीति नियममा पनि परिवतन परिमार्जन गरिएको छ । प्रवेशाज्ञा (भिसा) जारी गर्नेलगायतका प्रशासनिक क्रियाकलापलाई पनि नेपाल आउन चाहने पर्यटकका लागि सहज र सरल हुने गरी व्यवस्था मिलाइएको छ । यसैले संकटकै बेला पनि नेपाल आउने पर्यटकको संख्या घेरै घटेको थिएन । दशकैपिच्छे भ्रमण वा पर्यटन वर्ष मनाउनुको कारण पनि यही हुनुपर्छ । दुर्भाग्य, देवताका रूपमा देशभित्र स्वागत गरिएका पर्यटक भने लागूपदार्थ ओसारपसारदेखि धर्म परिवर्तनका काममा समेत लागेका पनि भेटिएका छन् । बेग्लाबेग्लै प्रयोजनका लागि नेपालमा विभिन्न ९ प्रकारका भिसाको व्यवस्था छ । सबै प्रकारको भिसामा नेपाल पस्ने र बस्नेले धेरथोर बदमासी पनि गर्छन् होला । हुनत यदाकदा कूटनीतिक भिसामा आएकाहरू तस्करीमा दसीसहित समातिएका पनि उदाहरण छन् तर,पर्यटक भिसामा आउनेहरूले अपेक्षाकृत बढी बदमासी गरेको भेटिन्छ । भिसासम्बन्धित मामिला हेर्ने अध्यागमन विभागका महानिर्देशकले बताएअनुसार पर्यटक भिसामा नेपाल पस्नेहरूले लागु पदार्थ ओसारपसार र व्यापार गर्ने, नेपालीसँग बिहा गरेर सोही आवरणमा अवैध गतिविधि गर्ने, धर्म परिवर्तनका लागि सक्रिय हुने, बहुमूल्य जडीबुटी र सम्पदाको अनुसन्धान तथा चोरीनिकासी गर्नेजस्ता गैरकानुनी क्रियाकलाप गर्ने गरेका छन् । भिसाको दुरुपयोग गरेर यस्ता धेरै गैरकानुनी क्रियाकलापमा संलग्न हुनेहरु सामान्यतः कार्बाहीको दायरामै आइपुग्दैनन् । कारबाही गरेर देश निकाला गरिएकाहरूसमेत अर्कै उयाप अपनाएर नेपाल छिर्ने र पुरानै धन्दामा संलग्न हुने गरेको गम्भीर प्रकृतिको चलनको पनि महानिर्देशकले खुलासा गरेका छन् । सम्भवतः अध्यागमन नियमनका क्षेत्रमा यो प्रवृत्ति सबभन्दा डरलाग्दो अवस्था हो । नेपाल आउने सबै पर्यटक असल नभएजस्तै सबै खराब पनि हुँदैनन् । नियम अप्ठेरो बनाउँदा असलहरू मर्कामा पर्छन् । नेपालको पर्यटक मैत्री छवि पनि धमिलो हुन्छ । यसैले सरकारले अहिलेको अभ्यास र कार्यशैलीमा सही पर्यटकले दुःख नपाउने तर नेपालभित्र गैरकानुनी काममा संलग्न हुनेले कडा सजाय पाउने गरी नीति र नियममा पुनःविचार गर्नु उचित हुनेछ । यस्तै नियमकानुनभित्रका छिद्रको फाइदा उठाएर बदमासी गर्नेहरूमाथि कार्बाही हुनसकेको छैन भने असल नियतले प्रचलित ऐनकानुन मान्न चाहने पर्यटकले अनावयक प्रशासनिक झन्झट पनि बेहोर्नुपर्छ । भूकम्पपछि थुप्रै विदेशी स्वयंसेवकले नेपालमा सराहनीय काम गरेका छन् । कतिपय गाउँमा सबैभन्दा पहिले पुग्नेमा तिनै विदेशी थिए । तर, कानुनका दृष्टिमा भने उनीहरूले गरेको सेवा अपराध ठहरिन्छ । नेपालको कानुनअनुसार पर्यटक भिसामा बसेको व्यक्तिले परोपकार गर्न पनि पाउँदैनन् । यस्तो अवस्थामा उनीहरूमध्ये धेरैले सजिलो बाटो रोज्नु गैरकानूनी भए पनि नैतिक दृष्टिमा अनुचित मान्न सकिँदैन । यसैले एकातिर विदेशीलाई नेपालभित्र घोषित उद्देश्यबाहेक अरू क्रियाकलापमा संलग्न हुन नदिन प्रभावकारी उपाय अपनाउन राज्यले ढिलो गर्नु वा हिचकिचाउनु हुँदैन भने अर्का्तिर असल कामका लागि आउन चाहनेहरूले गैरकानुनी बाटो अपनाउनुपर्ने बाध्यता पनि हटाउनुपर्छ । यी सबैका लागि सबैभन्दा महत्वपूर्ण नेपाल प्रवेश गर्ने विदेशीको अभिलेख र क्रियाकलापको निगरानी गर्ने आधुनिक प्रविधियुक्त संयन्त्र र सुविधा निर्माण गर्नुपर्छ । संसार धेरै अगाडि पुगिसक्यो । हामीमात्रै तजबिज, निषेध र सजाय मध्ययुगीन शासन शैली अपनाएर बसिरहन सक्तैनौ । अध्यागमन व्यवस्थापनलाई आधुनिक र युगसापेक्ष बनाउन सके विभागकै महानिर्देशकले सार्वजनिकरूपमा कमजोरी देखाइरहनु पर्नेछैन ।

Post a Comment

 
Top