0
वासुदेव पौडेल
पोखराको पर्यटकीय याम नजिकिँदै गर्दा पोखराका होटेलमा भइरहेका अग्रिम बुकिङ सन्तोषजनक देखिएको छैन । विगतमा यसै समयमा लगभग ८० प्रतिशतको  हाराहारीमा अग्रिम बुकिङ हुने गरेको थियो भने यस वर्ष करिब ४० प्रतिशतको हाराहारीमा मात्र बुकिङ भएको होटेलका सञ्चालक बताउँछन् ।      पोखराका तारेदेखि पर्यटकस्तरीय होटलमा अग्रिम बुकिङ भूकम्प अघिका वर्षमा उत्साहजन देखिए पनि भूकम्प र नाकाबन्दीपछि निराशाजनक देखिएको छ । भूकम्प अगाडि याममा र अफयाममा पोखरामा पर्यटक निकै आउने गर्दथे । भूकम्प अघिको अवस्थामा लगभग तीन लाखको हाराहारीमा पर्यटक आउने गरेपनि त्यसपछि भने पोखराको पर्यटनमा एका–एक मन्दी आएको व्यवसायी बताउँछन् । यस वर्ष पनि याम सुुरु हुनै लाग्दा पनि केही मात्रामा मात्रै बुकिङ आएपछि व्यवसायीलाई चिन्तित बनाएको छ । पोखराका केही होटेलमा बुकिङ सकारात्मक देखिए पनि समग्रतामा उत्साहजन नभएको पश्चिमाञ्चल होटल एसोसिएसन (हान) का अध्यक्ष भरतराज पराजुलीले बताए। “विगतको अनुभवमा हालसम्म ८० देखि ९० प्रतिशत बुकिङ भइसक्नुपर्ने थियो,” उहाँले भने–हालसम्मको अवस्थामा लगभग ४० देखि ५० प्रतिशत मात्र बुकिङ छ ।” साना तथा मझौता होटेलमा भने खासै अग्रिम बुकिङ नहुने र ती होटेलमा विशेष गरी स्थानीय पर्यटक आउने गरेको उनले जानकारी दिए । सेप्टेम्बरदेखि डिसेम्बरको समय पोखराको महत्वपूर्ण पर्यटकीय याम भएको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा यो याममा पोखरा, अन्नपूर्ण पदमार्ग फेरोलगायतका क्षेत्रमा पर्यटक घुम्न आउने बताउछन्। यस याममा विशेष गरी युरोपियन, अष्ट्रेलियन पर्यटक धेरै मात्रामा पोखरा आउने गरेको उनको भनाइ छ । पोखरा आउने पर्यटकमध्ये केही पर्यटक भने अग्रिम बुकिङबिना पनि आउने गरेको बताउदै उनले भइरहेको बुकिङको अवस्था सन्तोषजनक नभएको बताए । होटल बाराहीका म्यानेजर राजकुमार केसीले हालसम्म लगभग ४० प्रतिशत मात्र बुकिङ भएको बताए ।“हालसम्म ६० प्रतिशत भन्दा बढी बुकिङ भइसक्नुपर्ने अपेक्षा गरिए पनि त्यो हुनसकेको छैन”, उनले भने । गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण पोखरा र आसपासको पर्यटन थिलोथिलो परे पनि पोखराका होटेलमा लगानीको क्रम भने बढिरहेको छ । पोखराका एकाद होटेलमा भने अहिले पनि बुकिङ सकारात्मक देखिन्छ । टेम्पल ‘ट्रि रिसोर्ट’ एण्ड स्पाका अध्यक्ष वसन्त गौतमले आगामी अक्टोबर, नोभेम्बरका लागि ६० प्रतिशत अग्रिम बुकिङ भएको जानकारी दिए। समग्रतामा भने पोखरामा अग्रिम बुकिङको क्रम सन्तोसजनक नदेखिएको उनको भनाइ छ । पोखराको लेकसाइडमा साना र ठूला गरी करिब चारसय ५० को हाराहारीमा होटल सञ्चालनमा आएका छन् । पोखराका ती होटलमा करिब एक खर्ब भन्दा बढीको लगानी भइसकेको छ । नेपाल आउने पर्यटक काठमाडौँपछि अधिकतम आउने स्थान पोखरा नै हो । नेपालमा आउने विदेश पर्यटकमध्ये पोखरामा ४० प्रतिशत पर्यटक आउने गरेको तथ्याङक छ । रासस



Post a Comment

 
Top