0
गोल्डेन न्यूज संवाददाता
पोखरेली महिला व्यवसायीहरुले नेतृत्वमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् । कृयाशिल पत्रकार महिला (डब्लु डब्लु जे)ले पोखरामा आयोजना गरेको ‘महिला उद्यमीहरुसँग अनुभव आदान–प्रदान’ कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । पोखरा उद्योग वाणिज्य संघको नेतृत्व तहमा महिलाको सहभागिता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा उनीहरुले नेतृत्व लिन महिला आफै अघि सर्नुपर्ने र त्यसमा पुरुषहरुले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । संघको नजिकिंदो अधिवेशनलाई नै टार्गेट गरेर आयोजना गरेको कार्यक्रममा बोल्दै संघको पहिलो महिला अध्यक्ष बन्ने दौडमा रहेकी हिरा भट्टराईले महिला उम्मेद्वारलाई महिला र पुरुष दुबैले सहयोग गर्नुपर्ने बताइन । उनले महिला उम्मेद्वारलाई पत्रकारहरुले पनि विशेष प्राथमिकतामा राखेर प्रचार–प्रसारमा सहयोग गर्नुपर्नेमा जोड दिइन । संघको उपाध्यक्षकी प्रत्यासी विन्दु कोइराला सुवेदीले उद्यमशिल महिलाहरुलाई प्रोत्साहित गर्नुपर्ने आवश्यक्ता औंल्याइन । संघको उपमहासचिवकी प्रत्यासी सीता गुरुङले संघको आउँदो अधिवेशनमा ७ जना महिलाले पदाधिकारीमा र ४ महिलाले कार्यसमिति सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी गराइन । पत्रकार श्याम कुँवरले महिला÷महिलामा प्रतिष्पर्धा गर्न सकिए मात्र पनि महिलाको सिट सुरक्षित हुने सुझाव दिए ।
सञ्चारिका समूह पश्चिमाञ्च लका महासचिव कविता श्रेष्ठले महिलाको भोट महिलालाई भन्ने अभियानको थालनी गर्न बताइन । कार्यक्रममा कार्यसमितिका प्रत्यासीहरु मिना बाँस्तोला, गीता तिवारी गौतम, वसन्ता केसी, सान्त्वना पराजुली, कल्पना आचार्य, नेपाली काँग्रेस कास्कीका सदस्य नम्रता बराल लगायतले बोलेका थिए । क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे) की अध्यक्ष सरिता तिमिल्सिना पगेँनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष शिला गुरुङले गरेकी थिइन ।

Post a Comment

 
Top