0
गोल्डेन न्यूज संवाददाता
कास्कीको मर्दीखोलाबाट पोखरामा ल्याइएको खानेपानीको पाइप बगाएपछि केही दिनदेखि पोखरामा खानेपानीको हाहाकार भएको छ । मर्दीखोलाबाट पोखराका लागि १६ र २० इन्चको पाइप जोडेर पानी ल्याइएकामा गत साउन १० गतेको बाढीले सेती नदी र मर्दीखोलाको दोभानमा २० इन्चका चारवटा पाइप बगाएपछि पोखरामा अहिले खानेपानीको हाहाकार भएको हो । अहिले मर्दीखोलाबाट १६ इन्चको पाइपबाट मात्रै पानी ल्याइएकाले नगर क्षेत्रमा वितरण गरिँदै आएको पानीमा ५० प्रतिशतभन्दा बढीले कटौती भएको छ । पोखराको नगर क्षेत्रका ग्राहकलाई नेपाल खानेपानी संस्थानले १६ र २० इन्चबाट छुट्टाछुट्टै धारा जडान गरिएकाले कोही धारामा पानी आउने र कोहीमा कत्ति पनि पानी नआउने गरेको छ । पोखराको लेकसाइडका उपभोक्ता खानेपानीको समस्याबाट वढी पीडित देखिएका छन् ।  योसंगै बजारमा किन्न पाइने २० लिटरका जार र १ लिटर बोटलका पानी समेत अभाव हुन थालेका छन् । घरको धारामा पानी आउन छाडेपछि विभिन्न सार्वजनिक धारामा नागरिकको घुइँचो नै लाग्ने गरेको छ । नागरिकले घण्टौं लाइनमा बसेर पिउने पानीको जोहो गर्दै आइरहेका छन् । २०६९ वैशाख २३ गते आएको बाढीले पनि खानेपानीको पाइप बगाएको थियो । त्यसको मर्मत गर्न संस्थानलाई छ महिना लागेको थियो । खानेपानी संस्थानबाट वितरण गरिने पानीमा भारी कटौती भएपछि निजी क्षेत्रबाट खोलिएका बोरिङलाई पानी वितरणमा अहिले भ्याइनभ्याई भएको छ । पोखरामा हाल डेढ दर्जनभन्दा बढी बोरिङले महँगो शुल्कमा पानी बिक्री गरिरहेका छन् । खानेपानीको पाइप बगाएको ठाउँमा पर्खाल चिन्ने काम भइरहेको र अबको एक हप्तामा भाँच्चिएको पानीको पाइप जोडिसक्ने र पूर्ववत् अवस्थामा पानी वितरण गरिने संस्थानका इन्जिनियर दिनेश्वर यादवले बताए । पोखरामा हाल चार करोड ५० लाख लिटर पानी दैनिक आपूर्ति हुँदै आएको छ । यता, पोखरामा खानेपानीको सङ्कट बढ्दै जाँदा समेत नेपाल खानेपानी संस्थान भने मौन छ । पानी ल्याउने मुहानमा पाइप जडान कार्यलाई तीव्रता दिएपनि बजारमा देखिएको पानी समस्यामा संस्थान मौन रहँदै आएको छ । संस्थानसंग पानी बोक्ने ट्याङ्कर पनि छ तर उपयोग गरेको छैन । ट्याङ्कर भाडामै लिएर भएपनि पानीको जोहो गर्नुपर्ने संस्थान मौन बसेर जनतालाई थप सास्ती दिएको नगरवासीको गुनासो छ ।







Post a Comment

 
Top