0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गमा नवनिर्मित पोखरा ट्रेड मलमा सामान किन्न आउने ग्राहकसंग पनि ट्रेड मलले पार्किङ शुल्क अशुल गर्न थालेको छ । पोखरामा रहेका भाटभटेनी, सेलवेज जस्ता व्यापारिक प्रतिष्ठानले आफ्ना ग्राहकसंग पार्किङ शुल्क लिने गरेको छैन । तर ट्रेड मलले भने व्यापारिक कारोबार शुरु भएको केही महिनाबाटै पार्किङ शुल्क अशुल्न थालेको छ । ट्रेड मलमा व्यापार व्यवसाय संचालन गर्ने व्यवसायी समेत ग्राहक को आगमन कम भएको भन्दै चिन्ता व्यक्त गरेको र आफ्नो पसल अन्य उपयुक्त स्थानमा सार्न खोजेको अवस्थामा ट्रेड मलले तिनै व्यवसायी र तिनका ग्राहकसंग सवारी साधनको पार्किङ शुल्क लिन थालेपछि व्यवसायी झनै चिन्तित बनेका छन् । ट्रेड मलले पार्किङ शुल्क बापत मोटरसाइकलको प्रतिघण्टा ५ रुपैयाँ र कारको प्रतिघण्टा १० रुपैयाँ अशुल्न थालेको छ । ट्रेड मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले ग्राहकहरुले धेरै समय पार्किङ नगरुन् भनेर शुल्क लिन थालिएको गोल्डेन न्यूज दैनिकलाई बताए । ट्रेड मल भित्र पसल राख्ने सटर बाहेक अन्य विशेषता नभएपछि त्यहाँ जाने ग्राहक तथा सर्वसाधारणको संख्यामा कमि आएको छ । शुरुका दिनमा ट्रेडमल हेर्न भन्दै मानिसहरु घुम्न जाने गरेको भएपनि पछिल्लो समयमा ट्रेडमलको पहिलो र दोस्रो तलाका सीमित पसलमा मात्रै सीमित ग्राहक तथा सर्वसाधारण जाने गरेको बताइन्छ । गोल्डेन न्यूज दैनिकसंग एक व्यापारीले भने –‘हाम्रा तिर ग्राहक त के हेर्न आउने मानिसको संख्या समेत निकै कम छ, व्यापार नभएर आर्थिक स्थित चौपट भएको छ । गर्मीको बेला बिजुली नआउँदा ट्रेड मलले जेनेरेटर समेत चालाउँदैन। जसले गर्दा पसल कुरेर बस्ने मान्छे समेत कतिबेला बाहिर निस्कौं जस्तो हुन्छ । ट्रेड मलको व्यवस्थापनले व्यापारीहरुसंग धरौटी बापत शुरुमै लाखौं रुपैयाँ लिएको र त्यसपछि महिनावारी हजारौं रुपैयाँ भाडा लिने गरेको भएपनि व्यापारीलाई कुनै सुविधा नदिएको र ट्रेड मल जाने ग्राहक तथा सर्वसाधारणले समय विताउन अन्य कुनै स्थान समेत नभएकाले पोखरा ट्रेड मलको भविष्यप्रति धेरैले चिन्ता प्रकट गरेका छन् ।

Post a Comment

 
Top