0
गोल्डेन न्यूज संवाददाता
ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्थामा सामान्य सुधार आएको छ । अस्पतालले बुधबार साँझ ७ बजे पत्रकार सम्मेलनको आयोजना गरी उनको अवस्थामा निकै सुधार आएको जानकारी दिएको हो । यसअघि अस्पतालले अपरान्ह पत्रकार सम्मेलन गरी कोइरालाको अवस्था थप गम्भीर रहेको बताएको थियो । पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता डा. लव जोशीले कोइराला बिस्तारै होसमा आउन थालेको जानकारी दिए । उनले भने–‘अचेत हुनु भएको उहाँले केहीबेर अघि मात्र आँखा खोल्नुभयो र हामीले बोलाउँदा सुनेको संकेत गर्नु भएको छ । यो सकारात्मक संकेत हो ।’ उनले दिगामी हालतमा सुधार आएको भन्दै पिसाव पनि पर्याप्त रुपमा भइरहेको जानकारी दिए । उनले २४ घण्टासम्म यसै केहि भन्न नसकिने तर, यही अवस्था कायमै राख्न सकेको खण्डमा भोलिदेखि थप सुखद खबर आउने निश्चित रहेको बताए । उनले चिकित्सकहरु ले निरन्तरको प्रयासले स्थिर अवस्थामा राख्न सकिएको तर अहिले पनि भेन्टिलेटरमै राखिएको र हाइडोजको औषधि चलाइएको जानकारी दिए । अस्पतालले उनको पछिल्लो रिपोर्टमा ब्लड प्रेसर १२०–५०, मुटुको चाल ९२ प्रतिमिनेट रहेको जनाएको छ भने बिहानदेखि तीन लिटर पिसाव भएको जनाएको छ । तर मुटु र मृगौलामा समेत असर कायमै रहेको र त्यसलाई पनि सामान्य अवस्थामा फर्काउने प्रयास जारी रहेको जनाएको छ ।मंगलबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो । राति नै ओममा भर्ना भएका उनको स्वास्थ्य अवस्था भने बुधबार बिहान ४ बजेपछि नाजुक बन्न पुगेको थियो । रातिदेखि बिहानसम्म लगातार बमिट गरिरहेका उनको बिहान साढे पाँच बजे बमिट सर्किएर मुटुमा असर गर्न पुगेको बताइएको छ । लगत्तै अचेत बनेका उनलाई चिकित्सकहरुले भेन्टिलेटरमा सारेका थिए । पत्रकार सम्मेलनमा अस्पतालले यहि अवस्थामा विदेश लैजान सम्भव नरहेको बताएको छ । तर भोलिसम्ममा थप सुधार आए र यहाँ सम्भव नभए अवस्था हेरेर लैजान सकिने भन्दै प्रवक्ता जोशीले त्यसका लागि भारतको दिल्लीस्थित अपोलो अस्पतालका चिकित्सकहरु सँग आफूहरु निरन्तर सम्पर्कमा रहेको बताए । ‘बिहानदेखि अहिलेसम्म स्वास्थयमा सुधार केहि सुधार भएको हो । तर बाहिर लाने विषयमा अझैं सोच्न सकिन्न, त्यसरी लैजान अहिलेकै अवस्थामा निकै चुनौतिपूर्ण छ । पठाउने भन्दैमा हाम्रो जिम्मेवारी बाट पन्छेर पठाइहाल्न मिल्दैन’, उनले भने,–‘परिवारले पनि अहिले नलैजाने कुरा गर्नु भएको छ ।’ कोइरालाको उपचारमा राजधानीका विभिन्न अस्पतालमा कार्यरत १५ बढी डाक्टरहरु सक्रिय छन् ।यसैबीच कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेट्न जाने नेताहरुको ओम अस्पतालमा घुइँचो लाग्यो । कोइरालाको स्वास्थ्यमा एक्कासी समस्या आएपछि चाबहिलस्थित ओम अस्पतालको आइसियू कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोइरालालाई भेट्न अस्पताल पुगेका थिए । उनले कोइरालालाई आइसियू कक्षमै पुगेर भेटेका थिए । नेताहरुले आइसीयुकक्षमा छिरेर भेटघाट गर्दा अस्पतालमा निकै ठूलो भिडभाड भएको थियो। यस्तो भिडले विरामीलाई असर पार्ने भए पनि अस्पताल प्रशासनले भीड नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा सरकारको तर्फबाट कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका थिए । उनीसँगै अस्पताल पुगेका मुख्यसचिव सोमलाल सुवेदीसँग प्रधानमन्त्रीले कोइरालाको उपचार प्रवन्धबारे छलफल गरे । शशांकलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सुजाता कोइराला लगायत अस्पताल पुगेका थिए । यसैगरी एमाले नेता माधव कुमार नेपाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, अख्तियार प्रमुख लोकमानसिंह कार्की पनि अस्पताल पुगेर कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अस्पतालमा शशांकको स्वास्थ्यबारे बुझ्न नेता, सांसद, कार्यकर्ताहरु पुग्नेक्रम जारी छ । अहिले अस्पतालमा उनीहरुको निकै ठूलो भिडभाड छ । आफन्तजनहरु चिन्तित थिए । यसैगरी अस्पतालमा शशांककी दिदीसमेत रहेकी कांग्रेस नेतृ सुजाता पनि पुगेकी थिइन् । जब शशांकलाई भेटेर फर्किइन् उनी निकै गम्भीर र भावुक देखिइन् । सुजाता बायाँ हातले आँसु पुछ्दै बाहिरिएकी थिइन् । स्वास्थ्यलाभको कामना नेपाली काङ्ग्रेस कास्कीले पार्टीका महामन्त्री डा.शशांक कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। कास्की काङ्ग्रेसका सभापति कृष्ण के.सीले बुधबार विज्ञप्ति निकालेर उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । महामन्त्री कोइराला अचानक विरामी भएपछि उनको काठमाडांै स्थित ओम अस्पतालमा उपचार भैरहेको छ ।






Post a Comment

 
Top