0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिटीले तनहुँको एक विद्यालयलाई खेलकूद सामाग्री प्रदान गरेको छ । तनहुँको अरुणोदय, टक्रेभञ्ज्याङ स्थित श्री बालविकास निमाविमा उक्त सामाग्री प्रदान गरिएको हो । खेलकूद सामाग्री पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र दमौली युनेस्को क्लवको सहयोगमा उक्त खेलकूद सामाग्री आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो । क्लवका अध्यक्ष टंकराज अधिकारी र क्लवका संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना लगायतले विद्यालयका प्रधानाध्यापक रामजी सिग्देल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापालाई उक्त सामाग्री प्रदान गरिएको बताइन्छ । खेलकूद सामाग्रीमा भलिवल, व्याडमिण्टन, बेबी बलका साथै स्पाइकिङ, रिङ, फ्लाइङ्क डिक्स, लुँडो, चेस लगायत रहेका छन् । उक्त विद्यालयमा क्लवकै पहलमा पुस्तकालय समेत स्थापना भइसकेको छ । उक्त अवसरमा बोल्दै क्लवका अध्यक्ष टंकराज अधिकारीले ग्रामिण भेगको सामुदायिक विद्यालयमा आफूहरुले सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै खेलकूद सामाग्री वितरणले विद्यार्थीमा रहेको खेलकूद प्रतिभाको थप प्रस्फुटन हुने विश्वास व्यक्त गरे । संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गानाले क्लवको पहलमा पुस्तकालय स्थापना भइरहेको, खेलकूद सामाग्री पनि लिएर आउन पाउँदा अतिनै हर्ष विभोर भएको भन्दै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देल, सहायक प्रअ मुक्तिनाथ सिग्देलले लायन्सले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा क्लवका तृतीय उपाध्यक्ष किशोरमोहन भट्टराई, सह–कोषाध्यक्ष अर्जुन सिग्देल लगायतले पनि क्लवको बारेमा आ–आफ्नो भनाइ राखेका थिए । २०४७ सालमा स्थापित विद्यालयमा हाल २५० जना विद्यार्थी अध्ययनरत छन् । गत वैशाख १२ गतेको महाभूकम्पले उक्त विद्यालयको भवन क्षतिग्रस्त अवस्थामा छ । अस्थायी टहरामा विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् ।

Post a Comment

 
Top