0
गोल्डेन न्यूज संवाददाता
 गरिमा बिकास बैंकले बिगत ६ महिना (चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक)मा खुद नाफा ९ करोड ७९ लाख आर्जन गरेको छ । यो नाफा गतबर्षको तुलनामा ५० प्रतिशतले बढी हो । बिगत ६ महिना देखिको नाकाबन्दिमा पनि बैंकले नाफामा उच्च बृद्धि गर्न सफल भएको देखिन्छ । बैंकको ६ महिनाको नाफाको बृद्धि हेर्दा बार्षिक २० करोड नाफा आर्जन गर्न सक्ने अनुमान गर्न सकिन्छ । बैंकको अहिलेको प्रतिशेयर आम्दानी २२ रुपैंयाँ ९५ पैसा र संचित नाफा अनुसार आगामी बर्ष २० प्रतिशत बोनस सेयर दिन सक्ने क्षमता देखिन्छ । यसअघिका बर्षमा पनि बैंकले तीन बर्षदेखि निरन्तर २० प्रतिशतका दरले बोनस सेयर दिंदै आएको छ । नेपाल राष्ट्र बैंकको नीतिअनुसार बैक तथा वित्तीय संस्थाले नाफा वा प्रतिसेयर आम्दानीकोे २० प्रतिशत बराबर रकम जगेडा कोषमा अनिवार्य राख्नु पर्ने हुन्छ भने ८० प्रतिशत बराबर रकम लाभांश वितरण गर्न सक्छ । बैंक तथा वित्तीय संस्थाले अनिवार्य पुँजी बढाउनु पर्ने राष्ट्र बैंकको पछिल्लो नीति अनुसार यो बैंकले आगामी बर्ष पनि बोनस सेयर नै दिनु पर्ने हुन्छ । हाल बैंकको चुक्तापुँजी ८५ करोड ३२ लाख छ । निलगिरि बैंकसँग मर्ज भएको गरिमाले गत आर्थिक बर्षमा २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । पोखरा प्रमुख कार्यलय रहेको बंैकले विगत ४ बर्षदेखि लगातार बोनस सेयर वितरण गर्दै आएको छ । गरिमा पोखराका बिकास बैंकमा नियमित बोनस सेयर दिने मध्येमा पर्छ । हरेक बर्ष पुँजी बृद्धि गरेर पनि लाभांश दरमा स्थिरता कायम गर्न सक्नु बैंकको सबै भन्दा राम्रो पक्ष हो । सामान्यतः बैंकले पुँजी बृद्धिको अनुपातमा नाफा बृद्धि गर्न नसक्दा अघिल्लो बर्षको अनुपातमा लाभांश बितरण गर्न सक्दैनन । नविल, चार्टर्ड बैंक आदि बैंकले पूँजी वृद्धिको अनुपातमा नाफा बढाउन सकेका छैनन् ।

यसैगरि बैंकको कुल आम्दानीमा नाफाको औषत प्रतिशत पोखराका अन्य बैंक भन्दा बढी छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार बिगत ५ बर्षको नाफाको औषत प्रतिशत ३६ दशमलब ५८ छ । जुन यो समूहका विकास बैंकको नाफाको औषत प्रतिशत भन्दा बढी हो । दोस्रो त्रैमाशिक प्रतिवेदन अनुसार बैंकको मूल्य आम्दानी अनुपात १३ दशमलब ७३ छ । यसले अझैपनि शेयर राम्रो मूल्यांकन भएको देखाउँछ तर अन्य बैंक भन्दा सस्तो देखिन्छ । मूल्य आम्दानी अनुपात १० देखि १७ सम्म हुनुलाई राम्रो मूल्याँकन भएको शेयर मानिन्छ । बैंकको व्याजदर अन्तर निरन्तर बढ्दो छ, जसले आम्दानीको बृद्धिलाई कायम राख्न मद्धत गर्छ । यो जति बढी भयो त्यतिनै बैंकले नाफा बढाउन सक्छ र राम्रो पनि मानिन्छ । 

बैंकको निष्क्रिय कर्जा शून्य दशमलब २९ प्रतिशत छ । यो गतबर्ष भन्दा कम हो । गतबर्ष यो अनुपात शून्य दशमलब ४७ प्रतिशत थियो । यो अनुपात नेपाल राष्ट्र बैंकको ५ प्रतिशतको मापदण्ड भन्दा धेरै कम हो । निष्क्रिय कर्जा प्रतिशतले बैंकको कर्जा जोखिमलाई जनाउँछ । यो अनुपात जति कम भयो त्यति नै बैंकको लगानीमा जोखिम कम छ भन्ने जनाउँछ । यसले बैंकको लगानी राम्रो ठाउँमा भएको मात्र नजनाई यसको ऋणिको गुणस्तरलाई पनि संकेत गर्छ । यसैगरि निष्क्रिय कर्जा कम हुनुले कर्जा नोक्सानी वापत छुट्याउनु पर्ने रकम कम हुन गई नाफा बढ्छ । हाल नेपाल स्टक एक्सचेन्जमा बैंकको शेयर ३५३ रुपैयाँ प्रतिसेयरका दरले कारोबार भै रहेको छ ।

Post a Comment

 
Top