0
गोल्डेन न्यूज संवाददाता
असल छिमेकी नेपाल पोखराले गोरखा जिल्लाका विभिन्न गाविसहरुमा रहेका ३ हजार  भूकम्प प्रभावितहरुलाई न्याना कपडा वितरण गरेको छ । जिल्लाका भूकम्प प्रभावित गाविसहरुमध्ये बारपाकमा ३ र ४ गते; गुम्दामा ७ गते; मकैसिङ, ताङ्लीचोक, भुम्लीचोक र घ्यालचोकमा १५ गते तथा बोर्लाङ र पान्द्रुङ गाविसमा २१ गते राहत टोली पुगेको थियो । जिल्ला दैवी प्रकोप उद्धार समितिको संयोजनमा गाविस, वडा तथा सुरक्षा निकायका प्रतिनिधिहरुको रोहबरमा २ ओटा कम्बल, ३ ओटा उनी टोपी, २ ओटा पछ्यौरा र १ ओटा ज्याकेट राहत सामग्री वितरण गरिएको छ । यी सामग्रीहरुका लागि प्रतिघरपरिवार ढुवानीसमेत गर्दा  १० हजार रुपैयाँ खर्च भएको जानकारी असल छिमेकी नेपाल डिजास्टर संयोजक विजय श्रेष्ठले बताए । कार्यक्रमहरु सफल रुपमा सम्पन्न गर्न सहायता गर्ने सरकारी अधिकारीहरु तथा स्वयंसेवकहरु प्रति आभार व्यक्त गर्दै असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारीले गोरखाकै घ्यालचोक, भुम्लीचोक, घैरुङ, आँपपीपल सिमपानीमा स्वास्थ्य चौकीहरुका साथै १०० घर पुनर्निर्माण गर्ने, त्यस्तै श्रीनाथकोट गाविसमा गाविस भवन तथा स्कुलहरु पुनर्निर्माणको काम प्रक्रियामा रहेको र स्वास्थ्य चौकीहरु निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए । 
पोखरेली ख्रीस्टिय समुदायका अध्यक्ष पास्टर राम रोकाहाले आउँदा दिनहरुमा पनि यसैगरी दुःखी, पीडितहरुका माझ काम गर्नलाई प्रेरणा मिलेको बताए ।


Post a Comment

 
Top