0
विष्णुहरि पौडेल
नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि आर्थिक विकास मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन् । मुलुकमा असहज परिस्थितिको अन्त्य भएकाले अब समृद्धिका लागि एकमात्र एजेण्डा आर्थिक विकास भएको भन्दै उनले सरकार लगानी मैत्री वातावरण बनाउन लागिपरेको र राष्ट्र निर्माणको एजेण्डामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउनेतर्फ केन्द्रित रहेको स्पष्ट पारे । बुधबारदेखि शुरु भएको १२ आंै लेखनाथ महोत्सवको उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले सरकारले अघि सारेको ‘हाम्रो धरहरा हामी बनाउछौं’ भन्ने नारा जस्तै तीव्र आर्थिक विकास र समृद्धिका लागि मेरो लेखनाथ म बनाउछु भन्ने सोचका साथ अघि बढ्न आग्रह गरेका थिए । सरकारले गरेका कार्यहरुको संक्षेपमा जानकारी गराउँदै उनले पश्चिमाञ्चल क्षेत्रको विकासका लागि बनेका योजना कार्यान्वयनमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा मन्त्री राइले जोड दिए । मन्त्री राईले एक बर्षभित्र लोडसेडिङ कम गर्ने र आगामी दुई बर्ष भित्र उर्जा संकटको अन्त्य गर्ने योजनामा सरकार रहेकोले सन २०२२ सम्ममा नेपाल विकसित देश बन्ने दावी गरे। पश्चिमाञ्चल क्षेत्रको विकासका लागि सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडि बढ्न तयार रहेको स्पष्ट पार्दै राइले उत्तर तर्फको नाका विस्तार तदारुकताका साथ अगाडि बढेकोले भविष्यको ब्यापार भारत र चीन दुबै देशसंग विस्तार हुने बताए । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले लेखनाथलाई व्यवस्थित शहरका रुपमा विकास गर्र्नुपर्नेमा जोड दिंदै विकासका नाउमा राजनीति गर्न नहुने, दोषारोपण र नकारात्मक टिप्पणीले विकास अवरुद्ध हुने बताए । सांसद यज्ञबहादुर थापाले प्रदेश नं ४ का प्रमुख कार्यलयहरु का शाखा लेखनाथमा बनाउने पहल भईरहेकोले महोत्सवले लेखनाथको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष किशोर प्रधानले अघोषित नाकाबन्दीका कारण मुलुकको निजि क्षेत्र धराशायी भएको भन्दै व्यवसायीलाई राहत प्याकेज घोषणा गर्न, लगानीमैत्री वातावरण र सुरक्षाको प्रत्याभूति दिलाउन समेत आग्रह गरे । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षमतामा भएको कार्यक्रममा क्षेत्रीय प्रशासक शंकर कोइराला, सांसद्  शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सी, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एनेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, नेकपा माओवादी कास्कीका सचिवालय सदस्य गोकुल पराजुली, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी, रुपाकोट रिसोर्टका संचालक पुष्प अधिकारी, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, पारालिगल कास्कीका अध्यक्ष कोपिला रानाभाट, संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी, महासचिव छत्रधर आत्रेय र उद्घोषक नेत्रपाणि बाँस्तोला लगायतले शिथिल अर्थतन्त्रमा गतिशिल बनाउन महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । 
महोत्सव उद्घाटन अघि  लेखनाथ भित्र रहेका विभिन्न टोल विकास संस्था, आमा समूह लगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । महोत्सव फाल्गुन १६ गतेसम्म संचालन हुने महोत्सवमा ३ सय भन्दा बढी स्टलहरु रहेका छन् ।



Post a Comment

 
Top