0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नम्बर १४ मझेरीपाटनमा बंगुरको मासु प्रशोधनको लागि ब्यवस्थित वधस्थल संचालनमा आउने भएको छ । स्वस्थकर मासु उत्पादनको लागि ब्यवस्थित वधस्थल सहित मासु प्रशोसन केन्द्र संचालनमा ल्याउन लागिएको हो । यति फ्रेस हाउस चिप्लेढुङ्गाद्धारा सञ्चालित मासु प्रशोधन तथा वजारिकरण उपआयोजना अन्तर्गत वधस्थल निर्माण गरिएको हो । ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाको ४२ लाख अनुदान सहित कुल ९७ लाख रुपैया लगानीमा मासु प्रशोधन स्थल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक कृष्णबहादुर गुरुङले जानकारी दिए । आफ्नो साथै अन्य फर्ममा रहेका बंगुरपनि सो स्थानमा ल्याएर मासु उत्पादन गरी बजारीकरण गरिने उनले बताए । प्रशोसन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी दुई महिना भित्र प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने गुरुङले बताए । 
‘स्वस्थकर र गुणस्तरीय मासु उत्पादनको लागि ब्यवस्थित वधस्थल निर्माण गरिएको हो’, गुरुङले भने–‘आफ्नो सँगै अन्य फर्ममा रहेका बंगुरपनि यहाँ ल्याएर मारिन्छ र मासु उत्पादन गरेर बजारमा पठाइन्छ ।’ वधस्थलभित्र १० टन क्षमताको मासु भण्डारण केन्द पनि छ । दैनिक २५ वटा वंगुर काटेर मासु भण्डारण गर्न सक्ने क्षमता रहेको उनले बताए । विगत १५ बर्षदेखि फर्म सञ्चालन गर्दै आएको यति फ्रेस हाउसले यसअघि सो स्थानबाट उन्नत जातको बंगुरको पाठा पाठी उत्पादन गरेर देशका बिभिन्न स्थानमा बिक्री गर्दै आएको थियो । प्रशोधन केन्द्र संचालनमा आएपछि मासुको लागि पनि बंगुर पालन गरिने गुरुङले बताए । मासिक तीन सय बंगुरको पाठा पाठी देशका विभिन्न स्थालमा पठाउँदै फर्ममा अहिले ७ सय ५० बंगुर छन् ।
यसैबीच सञ्चालनमा रहेको उप–आयोजना वारे शनिवार भएको दोस्रो सार्वजनिक सुनुवाईमा संचालक गुरुङले आयोजनाको लागत तथा फर्मको वारेमा जानकारी गराएका थिए । उनले फर्मलाई ब्यवस्थित बनाउँदै गुणस्तरीय मासु उत्पादन र बजारीकरण गरिने जानकारी गराए । 
कार्यक्रममा उपस्थित स्थानीयवासीले भने बंगुर फर्मको कारण प्रदुर्षण फैलिएको भन्दै नियन्त्रणको लागि आग्रह गरेका थिए । उनीहरुले वरिपरीको वस्तीमा दुर्गन्ध फैलिएको र घरमा बस्न समेत नसक्ने अवस्था आएको गुनासो गरे । स्थानीय शिव मार्ग क टोल विकास संस्थाका उपाध्यक्ष रमेश विकले दुर्गन्ध नियन्त्रण नगरे फर्म सञ्चालन गर्न समेत नदिने चेतावनी दिए । संस्थाका सचिव दिलिप चापागाईले यसअघिको सार्वजनिक सुनुवाईमा पनि फर्मबाट आउने दुर्गन्ध नियन्त्रणका लागि आग्रह गरिएपनि नियन्त्रण नगरिएको भन्दै आक्रोश पोखे । फर्म संचालक गुरुङले दुर्गन्ध नियन्त्रणको लागि विभिन्न उपायहरु अपनाउने आश्वासन दिए । उनले त्यसका लागि सरसफाईमा विशेष ध्यान दिने समेत प्रतिबद्धता जनाए । ब्यवस्थित फर्म संचालनका लागि सहयोग गर्न उनले स्थानीय वासीलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा पोखरा लाइभ स्टल प्रालिका सञ्चालक छ्याम थापा मगरले बंगुर फर्मबाट निस्कने फोहोरको उचित ब्यवस्थापन गर्न सुझाव दिए । उनले फर्मबाट निस्कने दुर्गन्ध नियन्त्रण गर्न सकिने उल्लेख गरे । व्यवसायिक कृषि तथा ब्यापार आयोजना पोखराका प्रमुख वसन्त कुमार श्रेष्ठले ब्यवस्थित बंगुर पालन र गुणस्तरीय मासु उत्पादनमा जोड दिए । कार्यक्रमको सञ्चालन ब्यवस्थापक शिव प्रसाद अधिकारीले गरेका थिए ।


Post a Comment

 
Top