0
गोल्डेन न्यूज संवाददाता
नेपाल र भारतबीच भूकम्पपछिको पुनःनिर्माण, नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार विकास, सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना, पारवहन मार्ग, रेल यातायात, ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन र प्रबुद्ध समूह स्थापनासहित सातवटा समझदारी एवम् र विनिमयपत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको राजकीय भ्रमणका क्रममा शनिबार ती सहमति एवम् विनिमयपत्र दुवै मुलुक सम्बद्ध अधिकारीहरूले हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् । भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदानस्वरुप उपलब्ध गराउने २५ अर्ब रुपैयाँको सहायता सम्बन्धी समझदारीपत्रमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा र भारत सरकारका तर्फबाट त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजले हस्ताक्षर गरेका छन् । उक्त अनुदान सहायता अन्तर्गत आवास, स्वास्थ्य शिक्षा र सांस्कृतिक सम्पदाको निर्माण गरिनेछ । त्यसैगरी भुइँचालोबाट अतिप्रभावित १४ जिल्लामा ५० हजार घर निर्माण गरिनेछ । त्यसैगरी भूकम्पबाट प्रभावित ३१ जिल्लाका स्वास्थ्य, शिक्षा, सांस्कृतिक सम्पदाको निर्माणमा उपयोग गरिनेछ । तराई क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्नेसम्बन्धी समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुन कार्कीले दस्तखत गरेका छन् ।  समझदारीअनुसार ५१८ किलोमिटर सडक निर्माण गरिनेछ । प्रदर्शनकलाका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्ध सुदृढ तुल्याउन सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा सङ्गीत नाटक प्रतिष्ठानका सचिव हेलेन आचार्य र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार नाट्य सङ्गीतका विज्ञ, प्रतिनिधि, नर्तक, विद्धत् वर्गलगायत आदानप्रदान गरिनेछ । काँकडभिट्टा–बङ्गलाबन्ध मार्ग भएर नेपाल र बङ्गलादेशबीचको पारवहन मार्ग सञ्चालन गर्ने तथा विशाखापटनम् बन्दरगाह सञ्चालन गर्नेसम्बन्धी विनिमयपत्रमा भारतका वाणिज्य सचिव रीता ट्याओ टिया र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले दस्तखत गरेका छन् । उक्त विनिमयपत्रअनुसार भारतीय भूमि भएर नेपाल र बङ्गलादेश बीचमा मालबाहक सवारी साधन ओहोरदोहोर गर्नेछन् भने विशाखापटनम् बन्दरगाहबाट मालबाहक सवारी साधनलाई ओहोरदोहोर गर्न सहज हुनेछ ।  त्यसैगरी विखाशापटन्मबाट रेलमार्गको उपयोग र बङ्गलादेशको सिङ्हवाद भएर उक्तमार्गको सुविधा प्राप्त हुनेछ । यसैबीच भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरे ।  भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा भ्रमण गरेको र आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकामा स्वागत गर्दै आभार प्रकट गरे ।  त्यस अवसरमा प्रधानमन्त्री ओलीले उनको न्यानो आतिथ्यताका लागि धन्यवाद दिँदै उनलाई नेपाल भ्रमणको निम्तो दिए ।

Post a Comment

 
Top