0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भयो । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउनका पहल कार्यक्रम अन्तर्गत स्थानीय सेवाग्राही र सेवाप्रदायक निकायवीच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवाला निकायसंग अन्तत्र्रिmया गरिएको हो । नागरिकका आधारभूत अधिकार मध्येको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा नीतिगत व्यवस्थाहरु भएपनि त्यसको कार्यान्वयन नहुदाँ सर्वसाधारण अधिकार उपभोगबाट बञ्चित रहेको भन्दै सरोकारवाला निकायले त्यसको प्रभावकारी रुपमा अनुगमन गरिनु पर्नेमा जोड दिए । 

उनीहरुले राज्यको शिक्षा, स्वास्थ्य र खाद्य नीतिका बारेमा आम नागरिकलाई सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने बताउँदै गुणस्तरीय र सर्वशुलभ रुपमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार उपभोगको लागि वातावरण बनाइनु पर्ने आवश्यकता औल्याए । स्थानीय सेवाप्रदायक निकाय सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेही बन्न नसकेका कारण सर्वसाधारण आधारभूत अधिकारको उपभोग गर्नबाट बञ्चित भएको भन्दै स्थानीयस्तरबाटै निगरानी गर्ने गरी संयन्त्र बनाइनु पर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले राज्यबाट प्रदान गरिने सेवा सुविधाका बारेमा आम नागरिक सचेत भई कानुन कार्यान्वयनमा समेत दायित्व बहन गर्ने गरी सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले कानूनको कार्यान्वयनका सवालमा राज्यका निकायबाट अनुगमन संयन्त्रलाई प्रभावकारी बनाइनु पर्नेमा जोड दिए । जिल्ला खाद्य निरीक्षक अनिता पौडेलले खाद्य वस्तुमा हुने मिसावट तथा स्वच्छ खाद्यन्नका लागि नागरिकमा सचेतना जरुरी रहेको भन्दै सरोकारवाला निकायबाट नियमित रुपमा बजार अनुगमन गरिनु पर्नेमा जोड दिईन् ।

जिल्ला जनस्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदीले जिल्लाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा औषधि अभाव हुन नदिनका लागि जनस्वास्थ्यबाट प्रयास भैरहेको भन्दै अस्पताल, स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क औषधि वितरण र स्वास्थ्यकर्मीको उपस्थितिमा प्रसुति गराउने सरकारको लक्ष्य अुनसार काम भैरहेको बताए । जिल्ला कृषि कार्यालयका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले आधुनिक कृषि प्रणालीमार्फत बस्तुको उत्पादन गरी बजारीकरणमा ध्यान दिनुपर्ने बताए । उनले कृषकलाई लक्षित गरी सरकारले बालि तथा पशु विमाको व्यवस्था गरेको भन्दै त्यसको लाभ लिन कृषकहरुलाइ आग्रह गरे ।

इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा इन्सेक पोखराकी कार्यक्रम फोकल पर्सन सवनम शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिईन भने इन्सेक पोखराका प्रलेख अधिकृत टंक खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top