0
गोल्डेन न्यूज संवाददाता
पोखराबाट १५ किलो भन्दा बढी लागूऔषध चरेश सहित पाँच जना पक्राउ परेका छन् । पोखराको सराङ्कोटमा गेष्टहाउस सञ्चालन गरी चरेशको कारोवार गर्दै आएका दुई महिला सहित अन्य तीन जना १५ किलो पाँच सय ग्राम चरेश सहित पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट प्रहरी निरिक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सराङ्कोटमा हिमालय भ्यू गेष्टहाउस सञ्चालन गर्ने ४६ बर्षीय सरस्वती पहारी र ४३ बर्षीय देउमाया पहारीको साथबाट ९ किलो पाँच सय ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।  त्यस्तै बाग्लुङ लेखानी ६ का ६२ बर्षीय हरि पुनको साथबाट एक किलो र म्याग्दी दरवाङ ५ की ५० बर्षीय बिष्णु कुमारी पुनको साथबाट पाँच किलो चरेश बरामद गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । चरेश ओसार–पसारमा संलग्न बाग्लुङ हरिचौर ९ का ५५ बर्षीय सुन बहादुर घर्तिमगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सराङ्कोटलाई आधार बनाएर सो सहित पोखरामा चरेशको कारोवार हुने गरेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजना बिरुद्ध लागूऔषध मुद्धामा कार्बाही अघि बढाउने प्रहरीले जनाएको छ । लागूऔषध ऐन अन्तर्गत १० केजि भन्दा बढी चरेश उत्पादन, तयारी र खरिद बिक्रीमा संलग्नलाई २ देखि १० बर्ष कैद र १५ हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।





Post a Comment

 
Top