0
राजाराम पौडेल
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास व्यवसायीहरुको समस्यामा राज्य गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । उनले सुरक्षा, कमिसन लगायतका एजेन्डाका साथै जिल्लाका समस्याहरु लिएर दस्तावेज बनाएरै सार्थक वार्ताका लागि महासंघले प्रक्रिया अघि बढाएको समेत जनाए । कास्कीको धम्पुसमा शनिबार भएको एलपी ग्यास विक्रेता संघ कास्कीको ११औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष अर्यालले ग्यास उद्योगहरुले सिधै उपभोक्तासम्म ग्यास पु¥याएको गुनासो आएको सुनाए । ‘विक्रेताको लगानीलाई कुठाराघात हुने काम नगरौं । खर्च बढेको निहुँमा कमिसन नघटाऔं’, अर्यालले भने–‘उद्योगी र विक्रेता भनेको नङ र मासु जस्तै सम्बन्धमा रहनुपर्छ ।’ उनले एउटाको बदमासीले सबै बदनाम हुने भएकाले आफ्नो मर्यादामा रहन आग्रह गर्दै घुमाउरो तरिकाले चामलसँग ग्यास साटेर उपभोक्ता नठग्न पनि विक्रेताहरुलाई आग्रह गरे । महासंघका सल्लाहकार बालकृष्ण कोईरालाले मुलुकको यही अवस्था रहे अर्को साधारणसभा समेत ग्यास व्यवसायीले गर्न नसक्ने बाध्यता रहेको व्यंग्य गर्दै ग्यास विक्रेताहरु मानसिक तबरले पनि त्राहीत्राहीको अवस्थामा बाँच्नुपरेको उल्लेख गरे । उनले उद्योगले नयाँ डिलरहरुलाई प्राथमिकता दिएकोमा आपत्ति समेत जनाए । व्यवसायीले पनि गोदाम व्यवस्थापनदेखि वितरण प्रक्रियासम्म आचारसंहिता पालना गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सञ्जीवबहादुर कोईरालाले कुनै पनि पेशा व्यवसायमा एक न एक समस्या झेल्दै आएको भन्दै नाकाबन्दीको समयमा पनि व्यवसायीहरु धैर्यवान रहनु ठुलो कुरा भएको बताए। उनले एउटा सिलिण्डर बेचेर जेरी समेत नआउने बाध्यता रहँदा हिजो खाईपाई आएको कमिसन समेत काटिएको गुनासो बढिरहेकाले उद्योगको ध्यानकर्षण गराए ।
महासंघका केन्द्रिय उपाध्यक्ष महेश्वर कुमार श्रेष्ठले नाकाबन्दीको समयमा महासंघले वितरण प्रक्रिया सहज बनाउन पहल गरेको उल्लेख गर्दै डिलर प्रमाणिकरण प्रक्रिया अघि बढेको जनाए । उद्योगहरुका तर्फबाट शक्ति ग्यास कम्पनीका कार्यकारी प्रमुख मेघराज पौडेल र गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले बोलेका थिए । उनीहरुले भारतले नेपालप्रति गरेको हेपाहा प्रवृत्ति जस्तै राज्यले पश्चिमाञ्चल क्षेत्रका दुई कम्पनी गृहलक्ष्मी र शक्तिलाई हेपेको गुनासो गरे । लेखनाथ १३ गगनगौंडामा उद्योग रहेको यी दुई कम्पनीले पश्चिमाञ्चल क्षेत्रका ७० प्रतिशत हिस्सा ओगटेको छ । यहाँ १३ कम्पनीका ग्यास आधिकारिक रुपमा बजारमा आएकोमा यी दुई कम्पनीका बराबरी जसो १ लाख २० हजार सिलिण्डर मासिक विक्री–वितरण हुन्छ । नाकाबन्दीको समयमा सरकारले राजधानीलाई मात्र प्राथमिकता नदिएकाले ग्यास बुलेटहरु त्यहाँको दाँजोमा आउन नसकेको भन्दै उनीहरुले तरपनि समानुपातिक वितरण र पारदर्शितामा आफूहरु नचुकेको दाबी गरे । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले व्यवसायिक धर्म पुरा गर्दै उपभोक्तामुखी सेवामा ध्यान दिन आग्रह गरे । कार्यक्रममा स्वागत गर्दै संघ कास्कीका अध्यक्ष नारायण पौडेलले यो वर्ष ग्यास विक्रेताहरुका लागि साह्रै कष्टकर वर्ष रहेको भन्दै व्यवसाय चौपट भएको बताए । साधारणसभामा संघ कास्कीका सचिव नारायण दाहालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णबहादुर भण्डारीले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले संघको रिक्त पदपूर्ति पनि गरेको छ । उपाध्यक्षमा डिल्लीरमण भण्डारी (राजु), कोषाध्यक्ष शिव वाग्ले र सदस्यमा सुरज गुरुङलाई चयन गरेको छ । कोषाध्यक्ष भण्डारीले दिएको राजिनामालाई साधारणसभाले स्वीकृत गरी वाग्लेलाई चयन गरेको हो ।













Post a Comment

 
Top