0
गोल्डेन न्यूज संवाददाता
कास्कीका नवआगन्तुक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक घनश्याम अर्यालले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफूले बोलेका कुरा व्यवहारमा लागू गरेर देखाउने बताएका छन्  । पश्चिमाञ्चल होटल संघ पोखराले उनको स्वागतमा आयोजित  कार्यक्रममा बोल्दै अर्यालले कुनै पनि आपराधिक गतिविधि र भ्रष्टाचारप्रति आफू शून्य सहनशिलताको नीति लिएर अगाडि बढ्ने स्पष्ट पारे  । कार्यक्रममा बोल्दै उनले पर्यटकीय लेकसाइडमा हर्न निषेध गर्न यसअघि सुरु गरिएको कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिने, पर्यटक र नागरिकलाई लेकसाइड र सिंगो जिल्लामा ढुक्क र शान्तसँग हिंड्ने, डुल्ने र रमाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे  । प्रहरी संगठन भित्रैको शुद्धिकरण र सुदृढिकरण पनि आफ्नो प्राथमिकता भएको उनले सुनाए  । आफूले केही दिन अघि सार्वजनिक गरेका १६ वटा बँुदा गाइडलाइनमात्र भएको बताउँदै उनले तिनै बुँदामा आधारित भएर आफूले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र सुरक्षाका मामलामा फरक छाप छोडेर देखाउने दाबी गरे  । ट्राफिक व्यवस्थापन चुस्त बनाउने, गुण्डागर्दी नियन्त्रण, चन्दा आतंक विरुद्ध खरो उत्रने र पर्यटन व्यवसायीसँग सहकार्य गरेर आफू अगाडि बढ्ने पनि उनले बताए  । गल्ती गर्ने आफ्नै छोरा भएपनि नछाड्ने प्रतिवद्धता जनाउँदैै उनले कास्की आउन साथ गल्ती गर्ने केही प्रहरी विरुद्ध पनि कार्वाही अगाडि बढाएको बताए  । कार्यक्रममा होटल संघका अध्यक्ष भरतराज पराजुलीले शान्ति सुरक्षा नभई पर्यटन फस्टाउन नसक्ने बताउँदै होटल क्षेत्रको अर्वौ रुपैयाँको लगानीको सुरक्षाका लागि पनि आफूहरु गम्भीर भएको बताए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराईले पुराना ट्रक र ट्रयाक्टर पोखराबाट हटाइनुपर्ने सुझाव राखे  । संघका सल्लाहकार सुन्दर कुमार श्रेष्ठले पोखरा सुरक्षित शहर हो भन्ने सन्देश दिने किसिमले काम गर्न प्रहरी प्रमुख अर्याल समक्ष सुझाव राखे । कार्यक्रममा सल्लाहकार बच्चुराम तिवारी, गोविन्दराज पहारी, निवर्तमान अध्यक्ष हरि शर्मा गैह्रे, समाजसेवी गिरिराज अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top