0
वभिन्न स्वदेशी तथा विदेशी संघ–संस्था र समाजसेवी लगायतसँग समन्वय गरी भूकम्प पीडितहरुका लागि निरन्तर सहयोग जुटाउँदै आएको गोरखा मिलन समाजले पछिल्लो पटक गोरखा स्थित महेन्द्रज्योति उच्च माविमा अध्ययनरत ३० जना भूकम्पपीडित टुहुरा बालबालिकाहरु लाई ७९ हजार रुपैयाँको विभिन्न न्यानो कपडा, पोशाक, स्टेशनरी लगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरेको जनाएको छ  । राहत कार्यक्रम अन्तर्गत जनता उमावि आँपपीपल, महेन्द्रलिला उमावि, हर्मी र अमरज्योति जनता उमावि, लुईंटेलमा अध्ययनरत दृष्टिविहीन, अपाङ्ग र टुहुरा विद्यार्थीहरुका साथै अतिआर्थिक विपन्न महिला समेत ८ जनालाई ३० हजार रुपैयाँको न्यानो लुगा, शैक्षिक सामग्री र नगद वितरण गरिएको समाजका अध्यक्ष सूर्य क्षेत्रीले बताए । गोरखा मिलन समाजको अनुरोध बमोजिम भूकम्प पीडितहरुको सहयोगार्थ अमेरिका स्थित अल्वानी न्युयोर्क नेपाली समाजको संयोजनमा हिन्दु मन्दिर अल्वानीले गोरखा मिलन समाजको नाममा एकमुष्ठ रु.१ लाख नौ हजार नौ सय बाइस रुपैयाँ प्रदान गरेको थियो । हिन्दु मन्दिरले नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ अल्वानीमा खाना पकाएर खुवाउने कार्यक्रम सञ्चालन गरी रकम सङ्कलन गरेको थियो । समाजले सञ्चालन गरेको विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत गोरखा घर भई हाल अमेरिका बस्नुहुने डा. कृष्ण देवकोटाले अल्वानी न्युयोर्क नेपाली समाजका अध्यक्ष डा. अशोक सेढाई र हिन्दु मन्दिर बीच समन्वयात्मक भूमिका निर्वाह गरेका थिए । भूकम्प गएदेखि निरन्तर जिल्लावसीहरुको राहतमा जुटेको समाजले आगामी दिनमा पनि भूकम्पबाट अभिभावक गुमाएका टुहुरा बालबालिकाहरुका लागि आवश्यक सहयोग जुटाउने जनाएको छ ।

Post a Comment

 
Top