0
गोल्डेन न्यूज संवाददाता
पोखराका विभिन्न नागरिक तथा पेशागत संस्थाहरुले ईन्धन सन्तुलित र पारदर्शी रुपमा वितरण गर्न आग्रह गरेका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका केन्द्रीय सदस्य आनन्दराज मुल्मीको अध्यक्षतामा वुधवार वसेको संस्थाहरुको वैठकले प्रभावकारी र समुचित वितरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । वैठकले भारतले करिव एक महिना अघिदेखि लगाएको अघोषित नाकावन्दीका कारण मुलुकको आम जनजीवन अस्तव्यस्त भएको भन्दै, यसबाट मुलुकको आर्थिक र सामाजिक क्षेत्र नराम्रोसँग प्रभावित भई आम नागरिकको जीवन कष्टकर बनाएको नागरिक समाजको निष्कर्ष छ । मधेशी मोर्चाको आन्दोलनले नागरिकलाई अत्यन्त पीडादायी र देशको अर्थ व्यवस्थालाई चौपट पार्ने कार्य गरेको कारण आन्दोलन स्थगन गरी सार्थक वार्तामा वस्न पनि नागरिकले आव्हान गरेका छन् । सरकार र मधेशी दलहरुवीच सुरु भएको वार्ता सकरात्मक र सार्थक निस्कर्षमा पुग्ने अपेक्षा नागरिक समाजले गरेको छ । विषम परिस्थितिमा नाकाबन्दी लाई बहाना बनाई हरेक क्षेत्रमा मूल्य वृद्धि गर्ने र अभाव सृजना गरी नाजायज फाइदा लिने प्रवृत्ति वढ्दै गएको गुनासो आउन थालेको कारण सरकार र राज्य संयन्त्रले यस दिशातर्फ गम्भीर चासो दिन आग्रह गरिएको छ ।
 
अभाव र पिडाको वेला मितव्ययी बन्ने, दुःखसुखका वेला आपसमा मिलेर वस्ने नेपाली संस्कारलाई फेरी एक पटक आत्मासाथ गर्दै अहिलेको जटिल अवस्थामा आपसी सद्भाव, एकता कायम राखी स्वाभीमान जोगाउन आग्रह पनि गर्दछौं नागरिक समूहहरुको तर्फवाट निकालिएको विज्ञप्तिका उल्लेख छ । अन्य प्रदेशको तुलनामा प्रदेश नं. ४ मा इन्धनको समस्या जटिल बनेको हुँदा आपूर्ति व्यवस्था सहज बनाउन अनुरोध गर्दै आगामी दिनहरुमा इन्धन वितरण कार्य प्रभावकारी र समुचित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि संस्थाले गराएका छन् । संकटको यस घडीमा चाडपर्व र संस्कारका नाममा फजुल खर्च गर्ने, तडक भडक देखाउने र अस्वभाविक काम नगर्न सवै नागरिकसँग संस्थाहरुको तर्फवाट अपिल गरिएको छ । यस संकटपूर्ण अवस्थामा अनावश्यक मूल्य वढाउने, कृत्रिम अभाव खडा गर्ने, र नागरिकलाई महङ्गीको मार खेप्न वाध्य पार्ने काम कुनैपनि उद्योगी, व्यवसायी र तथा समूह कहीँ कतैवाट नगर्नुहुन समूहको तर्फवाट अनुरोध गरिएको छ । दैनिक जनजीवनलाई सहज वनाउन सवैको सहयोग र सहकार्यवाट अगाडि वढन सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नागरिक समाज, पेशा व्यवसायी सवै पक्षलाई नागरिक समूहले हार्दिक अपिल गरेको छ । समूहको तर्फवाट कार्तिक १२ गते साढे ११ वजे कास्कीका प्रमुख जिल्ला अधिकारी र पश्चिमाञ्चल क्षेत्रीय प्रशासकलाई वर्तमान परिस्थितीका वारेमा ध्यानाकर्षण गराउँदै स्मरणपत्र वुझाउने सुनासका अध्यक्ष पुण्य पौडेलले जानकारी दिए ।
 
यसैबीच नागरिक समाज पोखराले पोखरामा इन्धनको अभाव, कालोबजारी र सुरक्षा स्थितिको विषयमा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यलय कास्कीमा ध्यानाकर्षण पत्र बुझाएको छ । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलको नेतृत्वमा मानवअधिकारकर्मी र पत्रकार सहितको टोलीले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पाल र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतलाई ध्यानाकर्षण पत्र बुझाएको छ । इन्धन अभावमा नागरिकले भोगेको नियति र सुरक्षा स्थिति, इन्धन वितरण प्रक्रियामा भएको लापर्वाही रोक्नुपर्ने, कालोबजारी भएको गुनासो आएकाले अनुसन्धान गर्नुपर्ने, एकै समयमा सबै पेट्रोल पम्पमा इन्धन वितरण गर्नुपर्ने, रातिको समयमा इन्धन वितरण गर्दा महिला र शभ्य नागरिक लाई असुविधा भइ मानवअधिकार उल्लङ्घन भएको भन्दै दिउसोमा इन्धन वितरणको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाएको नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले बताए । यस्तै नागरिक समाजले विगत २०६७ साल देखि सुरु गरेको कास्कीलाई पटका मुक्त क्षेत्र यस वर्ष पनि निरन्तरता दिने पौडेलले बताए । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राउतले दिउसोको समयमा इन्धन वितरणको व्यवस्था मिलाउन पहल गर्ने आश्वासन दिए । यस्तै प्रहरी प्रमुख हरि पालले मातहतका निकायमा निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पार्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले गैरजिम्मेवारी रुपमा पम्पमा गइ अरुको मोटरसाइकलमा पेट्रोल लिएको जानकारी पाए आफूले कार्बाही गर्ने पालको भनाइ छ ।
 
यसैबीच पोखरा उद्योग वाणिज्य संघले मुग्लिङमा धर्ना बसेर भए पनि पोखरा लगायत पश्चिमाञ्चल क्षेत्रमा सहज इन्धन आपूर्ति पहल गर्ने निर्णय गरेको छ । संघका कार्यवाहक अध्यक्ष देव क्षेत्रीको अध्यक्षतामा बुधबार भएको सरोकारवालाहरुको बृहत बैठकले नेपाल भित्रिएका इन्धनका गाडीहरु राजधानीतिर मात्र लगिएपछि मुग्लिङमा धर्ना बसी २५ प्रतिशत गाडीहरु पश्चिमाञ्चल क्षेत्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो । यद्यपि, धर्नाभन्दा अगाडि संघले इन्धन सहज आपूर्तिका लागि राजधानी पुगी सम्बन्धित निकायको ध्यानकर्षण गराउने छ । बैठकले पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा औद्योगिक प्रतिष्ठान, व्यापार व्यवसाय, पर्यटन क्षेत्र र आम नागरिकको दैनिक जीवन कष्टकर भएको ठहर गर्दै सहज आपूर्तिका लागि पहिलो चरणमा संघकै अगुवाईमा काठमाडौंमा डेलिगेसन जाने निर्णय गरेको हो ।

Post a Comment

 
Top