0
गोल्डेन न्यूज संवाददाता
इतिहास रच्दै गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा  नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी छन्। एमाले उपाध्यक्ष भण्डारी बुधबार संविधानसभा भवनमा भएको निर्वाचनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङलाई पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। व्यवस्थापिका संसदमा ५ सय ९७ जना सांसद् रहेकामा भण्डारीले मत ३ सय २७ पाइन । निर्वाचनमा ५ सय ४९ मत खसेको थियो। खसेको मतमध्ये ८ मत बदर भएको छ। भण्डारीले खसेको मतको ५९ दशमलव ५६ प्रतिशत तथा कुल सदस्य संख्याको ५४ दशमलव ७७ प्रतिशत मत पाइन्। उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २ सय १४ मत पाएका थिए। काँग्रेससँग २ सय ७ जना सांसद रहेकामा दुई जना अनुपस्थित भएकाले गुरुङले अन्य दलका ९ सांसद्को मात्र मत पाएका थिए। तर एमाले उपाध्यक्ष भण्डारीले भने आफ्नो पार्टीका सांसद् बाहेक १ सय ४३ जनाको भोट पाइन्। निर्वाचनपछि बुधबार अपरान्ह बसेको व्यवस्थापिका संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेकी थिइन्। नेपालको इतिहासमा महिलाले मुलुकको राष्ट्राध्यक्षको पद पाएको यो पहिलो पटक हो। यसअघि नेपाली काँग्रेसका डा. रामवरण यादव राष्ट्रपति निर्वाचित भएका थिए। मुलुकमा गणतन्त्र आउनु पहिले राजा राष्ट्राध्यक्ष हुने चलन थियो। महिलाले मन्त्री पद पाउनुलाई पनि निकै महत्व दिने गरिएको अवस्थामा एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुलाई लैंगिक दृष्टिकोणले निकै ठूलो उपलब्धि मानिएको छ । सभामुख घर्तीले मत परिणाम सार्वजनिक गरेलगत्तै नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई वधाइ दिन सांसद्हरुको भीड लागेको थियो।
यसैगरी नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आफ्नो पद तथा गोपनियताको शपथ लिने भएकी छन्। दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनेछिन्। राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।
यसैबीच नवनिर्वाचत राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा आफ्नो विजय सबै नेपालीको जीत भएको बताएकी छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई दायाँबायाँ राखेर संविधानसभा भवनबाट वाहिरिने क्रममा नवनिर्वाचित राष्ट्रपति भण्डारीले संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै राष्ट्राध्यक्षको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन्। उनले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय एकतालाई केन्द्रविन्दुमा राखेर संविधानले दिएको जिम्मेवारी पूरा गर्ने बताइन्। संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएर नवनिर्वाचित राष्ट्रपति भण्डारी सुरक्षाकर्मीको कारगेडसहित निवास तर्फ लागेकी थिइन्। सरकारले नवनिर्वाचित राष्ट्रपति भण्डारी लाई १ करोड २ लाख रुपैयाँ मूल्यको भक्सवागन कारको व्यवस्था गरेको छ ।
यसैबीच नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति डा रामवरण यादवले बधाई दिएका छन्। व्यवस्थापिका–संसद्बाट निर्वाचित भएको घोषणालगत्तै राष्ट्रपतिले टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाई दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए। राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
यता, नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएको खुसियालीमा नयाँ बानेश्वर तथा आसपास क्षेत्रमा दीप प्रज्वलन गरेको छ । मुलुकमा प्रथम महिला राष्टूपतिका रुपमा भण्डारी निर्वाचित भएकामा युवा सङ्घले खुसियाली मनाएको हो । पार्टीका केन्द्रीय सदस्य तथा युवा सङ्घका इन्चार्ज शेरधन राई, अध्यक्ष राजीव पहारीसहितको पदाधिकारी, केन्द्रीय सदस्य तथा सर्वसाधारणको सहभागितामा उक्त कार्यक्रम भएको हो । सङ्घका इन्चार्ज राईले मुलुकमा लोकतान्त्रिक अभ्यासबाट महिलाले पनि राष्टूपतिको अवसर प्राप्त गरेकामा खुसी व्यक्त गरे । सङ्घका केन्द्रीय सदस्य विष्णु त्रिपाठीले संविधानसभाबाट निर्माण भएको संविधानले महिलालाई पनि जिम्मेवार पदमा पु¥याएको भन्दै यसलाई सबैले स्वीकार गर्नुपर्ने धारणा प्रकट गरे ।
यस्तै नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी मुलुकको पहिलो महिला राष्ट्रपति भएको खुसियालीमा दाङमा दिपावली भएको छ। एमालेको भातृसंगठन युवासंघले दाङले लमहीमा बुधवार अपरान्ह दिपावली गरेको हो। त्यसक्रममा उपस्थित सबैलाई मिठाई समेत वाँडिएको थियो। यस्तै विद्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएको खुसियालीमा विराटनगरमा दीपावली गरिएको छ । नेकपा (एमाले)का कार्यकर्ताले विराटनगरको जनआन्दोलनचोकमा मैनबत्ती बालेर दीपावली गरेका हुन् । उक्त अवसरमा एमालेका जिल्ला अध्यक्ष महेश रेग्मीलगायत पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ता सहभागी थिए । यसैबीच महेन्द्र मोरङ क्याम्पसका पूर्व विद्यार्थी भण्डारी आज मुलुकको सर्वोच्च पदमा आसिन भएकामा सो क्याम्पसका प्रमुख सरोजकुमार चौधरीले बधाई ज्ञापन गरेको छ । राष्ट्रपतिमा भण्डारी निर्वाचित भएर क्याम्पसको गौरव बढेकामा खुसी व्यक्त गर्दै उनले राष्ट्रपतिको कार्यकाल सफल होस् भन्ने कामना पनि गरेका छन् ।
सभामुखको जिभं्रो लटपटिंदा
नेपालको दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित गरेको घोषणा गर्दा सभामुख ओनसरी घर्तीमगरको जिभ्रो लटपटियो । भण्डारीले प्राप्त गरेको मत संख्या तीन सय २७ हुनुपर्नेमा घर्तीले हड्वडाएर दुई सय २७ भन्नपुगेकी थिइन् । राष्ट्रपतिमा जितका लागि दुई सय ९९ सय मत आवश्यक पर्छ । नेपालको पहिलो महिला सभामुखका रुपमा निर्वाचित घर्तीले पहिलो महिला राष्ट्रपतिका रुपमा भण्डारीको नाम घोषणा गर्ने संयोग मिलेको थियो । सभामुखको हैसियतमा चलाएको दोस्रो वैठकमा उनले राष्ट्रपतिको घोषणा गर्ने अवसर पाइन् । मत परिणाम वाचन गर्ने क्रममा घर्तीले सुरुमा कुलबहादुर गुरुङको मतसंख्या सहि भनिन् । दोस्रोमा भण्डारीको मतसंख्यामा भने चिप्लिइन् । भण्डारीको जित पहिल्यै सुनिश्चित रहेको अवस्थामा ताली पिट्न ठिक्क परेका सभासदहरु सभामुखले ‘एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीले दुई सय २७ मत ल्याउनुभएको छ’ भनेपछि अल्लमल्ल परे । भण्डारी स्वयम् आफ्नो मतसंख्या सुनेर क्षणिकरुपमा ‘नर्भस’ देखिइन् । तत्कालै संसद सचिवालयका महासचिवले दुई सय होइन तीन सय भनेर सभामुखलाई सम्झाएपछि उनले ए भन्दै सच्याएर सहि संख्या वाचन गरिन् । तर अघिल्लोपटक गरेको गल्तिमा क्षमायाचना गरिनन् । सभामुख घर्तीले दोस्रो प्रयासमा सहि मतसंख्या भन्दै विजेता घोषणा गरेपछि संसदभित्र हाँसो र हुटिङ एकसाथ गुञ्जियो । विद्याको अनुहारमा पनि खुशी छायो । छेउमा रहेका एमाले उपाध्यक्ष बामदेव गौतम निकैबेरसम्म हाँसिरहेका थिए ।
भोट बहिनीलाई कि ?
 राष्ट्रपति चुनावको मतदानका क्रममा धेरै सांसदको नजर कांग्रेस सभासद ज्ञानेन्द्र बहादुर कार्कीमाथि प¥यो । राष्ट्रपतिका उम्मेदवारद्वय विद्या भण्डारी र कुलबहादुर गुरुङमाथि सबैले नजर राख्नु त स्वभाविक नै हो । तर, धेरै सांसदले भने ज्ञानेन्द्रबहादुरतिर नजर लगाए । राष्ट्रपतिका लागि मतदान गर्न लाइनमा बस्दा कार्कीलाई धेरै सांसदले प्रश्न गरे । उनलाई सबैको साझा प्रश्न थियो, भोट बहिनीलाई दिने कि आफ्नो पार्टी उम्मेदवारलाई ? सांसदहरुका अनुसार कांग्रेस सांसद कार्कीले भने राष्ट्रपति हुने आफ्नी बहिनी नै भएको तर, भोट कसलाई दिने भन्ने स्वविवेकीय निर्णय भएको जवाफ दिएका छन् । सत्तारुढ गठवन्धनका उम्मेदवार विद्या भण्डारी कार्कीकी बहिनी हुन् । कार्की विद्याका फूपूका छोरा हुन् । तर, कांग्रेस नेता कार्कीको पार्टीका उम्मेदवार पूर्वमहामन्त्री कुलबहादुर गुरुङ छन् । दलीय राजनीतिमा आफ्नो आस्था र विचारलाई हेर्ने या परिवारलाई हेर्ने भन्ने छनोट गर्नुपर्ने स्थितिमा पुगे कांग्रेस नेता कार्की । तपाईसँग बहिनीले भोट मागिन् त ? भन्ने पत्रकारहरुको प्रश्नमा कार्कीले त्यो स्वाभाविक भएको बताए ।
भोट २ नम्बरमा ः
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चुनावमा सत्तारुढ गठवन्धनको उम्मेदवार विद्या भण्डारीले ३५० बढी मत ल्याउने दाबी गरेका छन् । संसद बैठकमा राष्ट्रपति चुनाव सुरु हुनु अघि सत्तारुढ गठवन्धनमा आवद्ध दलका सांसदहरुको संयुक्त बैठक बसेको थियो । गठवन्धनमा आवद्ध सांसदलाई विहान ९ बजे नै संविधानसभा भवनमा उपस्थित हुन हृवीप जारी गरिएको थियो । शीर्ष नेताहरुको उपस्थिति रहेको सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले यो चुनाव सभामुख, राष्ट्रपतिको चुनाव मात्र नभएको बताए । प्रधानमन्त्री चुनावमा आफूले ३३८ मत पाएको भन्दै उनले राष्ट्रपतिमा विद्याले ३५० भन्दा बढी मत पाउने बताए । बैठकमा सांसदहरुलाई कानूनमन्त्री समेत रहेका एमाले अग्नि खरेलले मतदान गर्ने प्रक्रिया सिकाएका छन् । पहिलो राष्ट्रपति चुनावमा २२ भोट बदर भएको स्मरण गर्दै उनले योपटक त्यस्तो नहोस् भनेर सचेत गराएका छन् । राष्ट्रपतिको चुनावमा गोप्य मतदान हुनेछ । मन्त्री खरेलका अनुसार उम्मेदवारको सूचीको पहिलो नम्बरमा कुलबहादुर गुरुङको नाम हुनेछ, भने दोस्रोमा विद्या भण्डारीको नाम हुनेछ । उम्मेदवारको नाम पछाडि कोष्टमा ठीक लगाएर मतदान गर्नु पर्नेछ । उनले सत्तारुढ गठवन्धनका सांसदहरुलाई विद्याको नामको पछाडि रहेको कोष्टको भित्र मात्र ठीक लगाउन निर्देशन दिएका छन् । उनले भने, एक नम्बरको नाम पढ्ने हो । दुई नम्बरकोमा भोट हाल्ने ।’ बैठकमा उपस्थित सत्तारुढ दलका सांसदहरुलाई हाजिरी समेत गराइएको छ ।


Post a Comment

 
Top