0
गोल्डेन न्यूज संवाददाता
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा महिला निर्वाचित हुनुलाई ऐतिहासिक उपलब्धी भएको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखमा पनि महिला निर्वाचित हुनु र राष्ट्रपतिमा समेत महिला नै निर्वाचित हुनु खुसीको विषय भएको बताए । ‘राष्ट्रपतिमा सक्षम महिला निर्वाचित हुनु खुसीको कुरा हो’, उनले भने । एमाले उपाध्यक्ष विद्या भण्डारी नेपालको राष्ट्रपतिमा केही बेर अगाडि मात्रै निर्वाचित भएकी थिएन । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले संविधानको सहज कार्यान्वयन सुरु भएको भन्दै बाँकी रहेका अन्य समस्या समेत सहज रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे । संविधानको सहज कार्यान्वयनले उत्पीडित वर्ग तथा समुदायको राज्यको उच्च तहमा प्रतिनिधित्व भएको बताए । उनले मधेसमा आन्दोलन जारी रहेकाले त्यसलाई सम्बोधन गर्न आफूहरु गम्भीर भएर लागेको प्रतिक्रिया दिए । गम्भीर रुपमा छलफल जारी रहेको र आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत मधेस आन्दोलन, इन्धन संकटको विषयमा छलफल भएको र समस्या समाधान गर्ने प्रयत्नमा रहेको बताए । समावेशी समानुपातिक मूल्य मान्यतालाई संस्थागत गर्ने प्रयासमा आफूहरु रहेको र संविधानको सहज कार्यान्वयन गराउनु आजको प्रमुख आवश्यकता रहेको प्रचण्डले बताए । इन्धन संकटको समाधान र तराई मधेसको आन्दोलनलाई सार्थक रुपम सम्बोधन गर्न आफूहरु प्रयन्तशील रहेको बताए । विगतमा पनि आफूले भूकम्पको पीडामा सरकारलाई सहयोग गरेको उल्लेख गर्दै उनले सरकार बनाउँदा पनि काँग्रेस सामेल होओस भनेर पहल गरेको उल्लेख गरे राष्ट्रपतिका लागि सहमति जुटाउन पहल गरेपनि सफल हुन नसकेको भन्दै राष्टका अगाडि रहेका समस्या समाधान गर्न काँग्रेससँग मिलेर काम गर्न तयार रहेको बताए । नेपाली काँग्रेससँग पनि मिलेर अगाडि बढ्न चाहेको उल्ल्ेख गदैृ प्रचण्डले भने,–‘ सहमतिका आधारमा राष्ट्रपति चयन गर्न हिजो बिहान पनि मैले पहल गरेको थिए तर सफल हुन सकिन । तैपनि सबै दलसँग मिलेर अगाडि बढ्नु नै प्रमुख आवश्यकता हो ।’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा विद्या भण्डारीको विजय ऐतिहासिक उपलब्धि भएको बताएका छन्। प्रधानमन्त्री ओलीले संविधानसभा भवनमा संचारकर्मी लाई संक्षिप्त प्रतिक्रिया दिंदै भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुले नेपाली महिलाहरु नीति निर्माणदेखि शासन संचालन गर्न सक्षम छन् भन्ने देखाएको बताए। प्रधानमन्त्री ओलीले निर्वाचनमा हार जित हुनुलाई स्वभावित रुपमा लिनुपर्ने बताए। उनले नेपाली काँग्रेसप्रति कटाक्ष समेत गरेका थिए।पावर सेयरिङमा सबैभन्दा ठूलो शक्ति वाहिरिएको सम्बन्धमा तपाईंको के प्रतिक्रिया छ भनी संचारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले काँग्रेस उमेद्वारले २ सय १४ मत प्राप्त गर्नु नै पावर सेयरिङ भएको बताए। यस्तै एमाओवादीका सचिव एवम् उपप्रधानमन्त्री टोपबहादुर रायमझीले राष्ट्रपतिमा महिला निर्वाचित हुनु खुसीको विषय भएको बताए । उनले संविधानको सहज कार्यान्वयन नै हालको प्रमुख चुनौती भएकाले त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
यता, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीले सबैलाई साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएपछि व्यवस्थापिका–संसद्बाट बाहिरिने क्रममा सभापति कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पार्टीले प्रजातान्त्रिक प्रक्रियाअनुसार राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए । सभापति कोइरालाले राष्टूपतिमा निर्वाचित भण्डारीलाई बधाई तथा शुभकामना पनि दिए ।



Post a Comment

 
Top