0
गोल्डेन न्यूज संवाददाता
जिल्ला पशु सेवा कार्यालय कास्कीले जिल्लाका पशुपालक किसानहरुसँग पशु बीमाको बिषयमा अन्तरक्रिया गरेको छ । पशु बिमा गर्दा र बिमा रकम भुक्तानी लिने बिषयमा भएका समस्याहरुको बिषयमा केन्द्रित रहेर छलफल गरिएको हो । नेपाल सरकारले पशुपालन ब्यवसायलाई ब्यवसायीक बनाउने उद्देश्यले पशुधनको सुरक्षाका लागि केही बर्षयता पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा पशुपालक किसानहरुले पशु बीमा भुक्तानी लिँदा धेरै झण्झट हुने गुनासो गरे । कम्पनीले बिमा गर्ने बेला सहज रुपले गरिदिने तर पछि भुक्तानी दिने बेला अनाबश्यक झण्झट दिने गरेको ब्यवसायिक किसान घनश्याम भण्डारीले बताए । बिमा कम्पनीले नीति अनुसार काम नै गरेको छैन, उनी भन्छन्–नाफा हुने काम मात्रै कम्पनीले गरिदिँदा किसानलाई मर्का परेको छ । यस्तै उनले कुन कुन अवस्थामा किसानले बिमा रकम पाउँछन् भन्ने पनि स्पष्ट पारिदिनुपर्ने बताए ।
 
बिमा कम्पनी किसानले बोलाएका बेला बिमाका लागि नजाने र शहर केन्द्रित भएकाले ग्रामिण किसानहरुले बिमाबाट कुनै फाईदा दिन नसकेका उनीहरुको गुनासो छ । पछिल्लो समय कास्कीमा एउटै पशुको बिमा दुईतिर गरेको र बिमा गरेको पशु बस्तुको हेरचाहमा किसानले चासो नदिएको सरोकारवालाहरुले बताए । बिमाले केही किसानलाई फाईदा भएपनि केही किसानहरुले दुरुपयोग गरेका छन् । बिमा गरेका पशुहरुको हेरचाहमा किसानको चासो कम भएको पाईयो, पशु सेवा कार्यालय कास्कीका पशु विकास अधिकृत शम्भुराज पाण्डेले भने–किसानहरुकै कारण बिमा कम्पनीहरुले हात झिक्न सक्छन्, त्यसैले किसानहरुले बेलैमा सोच्नुपर्छ ।
 
जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख बरिष्ठ पशु चिकित्सक राकेश प्रजापतिले बिमा कम्पनी र किसानबीच प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । किसान र बिमा कम्पनीले गर्ने कामका बिषयमा हाम्रा प्राविधिकहरुलाई जानकारी भएन, उनले भने–आगामी दिनमा यस्तो समस्या र अन्यौल हुन नदिन यो कार्यक्रम गरिएको हो । बिमा कम्पनीले बिमा गर्ने बेला किसानसँग आँफुखुशी गर्ने तर मृत्यु प्रमाणित गर्ने बेलामा मात्रै प्राविधिकलाई दवाव दिने गरेको उनले बताए । स्वास्थ्य परीक्षण गर्ने बेला आफुँखुशी गर्ने तर मृत्यू प्रमाणित गर्ने बेलामा मात्रै कार्यालयमा आउने उनको गुनासो छ ।
 
कास्कीमा बिशेषगरी सिद्धार्थ ईन्स्योरेन्स, शिखर र एनएलजी गरी तीनवटा ईन्स्योरेन्स कम्पनीले पशु बीमाको काम गरिरहेका छन् । सरकारले भने सिद्धार्थ ईन्स्योरेन्सलाई बाध्यकारी बनाएर कास्कीमा पशु बीमाका लागि खटाएको जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु चिकित्सक सुरेश श्रेष्ठले जानकारी दिए । जिल्लामा बिमाका लागि सिद्धार्थलाई बाध्यकारी छ, उनले भने–तर अरुले पनि बिमा गरिरहेका छन्, यो किसानका लागि फाईदाजनक छ ।
सिद्धार्थ ईन्स्योरेन्सका नवराज पौडेलले पछिल्लो समय पशु बीमा प्रभावकारी भएपनि किसानले पूर्ण प्रयोग गर्न नसकेको बताए । हामीले बिमाका लागि किसानलाई सचेत गराईरहेका छौं, उनी भन्छन्–तर किसानहरुमा सकारात्मक भन्दा बढी नकारात्मक ब्यवहार बढि देखियो । बिमा कम्पनी शहर केन्द्रित भएका भन्दै उनले आगामी दिनमा जिल्लाको ग्रामिण क्षेत्रसम्म बिमाको कार्यक्रम पु¥याउनुपर्ने र यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।




Post a Comment

 
Top