गोल्डेन न्यूज संवाददाता
भूकम्पबाट क्षतिग्रस्त पुम्दि–भुम्दीस्थित पोखरा दर्शनीय स्थल प्राविलाई दुई युवाले सहयोग गरेका छन् । हालै गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई पोखराका युवा निर्माण व्यवसायी हिक्मतजंग कार्की र युकेमा रहेका रामचन्द्र गिरीले सहयोग प्रदान गरेका हुन् । फेब रिटेल युकेबाट गिरीको संयोजकत्वमा संकलित रकम भूकम्प पीडितका लागि भनेर पठाएका थिए । कार्कीले आफ्नो जन्म दिनको अवसर पारेर विद्यालयलाई सहयोग गरेका हुन् । दुवैको रकमबाट गरी ५० बोरा सिमेन्ट किनेर बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी बिएन्डजे सिमेन्ट सप्लायर्सले समेत सोही विद्यालयलाई १० बोरा सिमेन्ट सहयोग गरेको छ । कार्की र रामचन्द्रका भाइ अर्जुन गिरीले बुधबार विद्यालयमै पुगी ६० बोरा सिमेन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त बास्तोला र प्रधानाध्यापक मातृका बराललाई हस्तान्तरण गरे । कार्कीले संयुक्तरुपमा विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । ‘भूकम्पबाट धेरै ठाउँमा क्षति भएको विद्यालयमा सहयोगको खाँचो छ,’ उनले भने, ‘जति सकिन्छ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ भन्ने सोचले सानो सहयोग गरेका हांै ।’ सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नागरिक दैनिकका पोखरा ब्युरो प्रमुख केशवशरण लामिछानेले सानो उमेरमै व्यवसायमा लागेर कमाएको रकमबाट सामाजिक सेवामा पनि योगदान पु¥याउनु सह्रानीय भएको बताए । ‘पैसा कमाउनेहरू त धेरै हुन्छन्, तर सबै पैसा कमाउनेहरूले समाजका लागि सोच्दैनन्,’–उनले भने । पत्रकार अर्जुन गिरीले भूकम्पले धेरै क्षेत्रमा असर पारेको भए पनि दाजुबाट संकलित रकमबाट विद्यालयलाई सहयोग गरेर सयौं बालबालिकाले शिक्षा लिन पाउने सहज वातावरणका लागि योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यायल शिक्षक अभिभावक संघका अध्यक्ष गीता बराल, पत्रकार सागरराज तिमिल्सिना लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक मातृका बरालले गरेका थिए । भूकम्पले विद्यालयको ६ वटा कोठामा क्षति पु¥याएको छ । पुनर्निर्माण गर्न करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको प्रअ बरालले जानकारी दिए । ९५ जना विद्यार्थी रहेकोे विद्यालयमा ४ जना दरबन्दीका शिक्षकसहित ८ शिक्षक कर्मचारी छन् ।
Post a Comment