0
अहिले सरकारले, नेपालबाट विदेशमा कामदारका रूपमा जानेहरूका लागि शून्य लागत र शून्य खर्चमा विदेशमा जान पाउने व्यवस्था गरेकको छ । सरकारबाट गर्न लागिएको यो शुरुवात अत्यन्तै राम्रो काम हो । शून्य लागत र शून्य खर्च भनेको भिषा शुल्क, आतेजाते जहाजको टिकटसमेत नलाग्ने गरी कामदारलाई विदेश पठाउने व्यवस्था हो । यस्तो योजनाका लागि श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रिपरिषदमा प्रस्ताव लगी स्वीकृत समेत भइसकेको छ । तर व्यवसायीहरु भने सरकारको यो नीति विरुद्ध उभिएका छन्, उनीहरुले यसको विरुद्ध रोजगार विभागको कार्यालयमा नै तालावन्दी गरी आन्दोलन शुरु गरेका छन् । व्यवसायीको यो रवैया कुनै पनि हालतमा स्वीकार्य नहुने कुरा हो । व्यवसायीको व्यवसाय र रोजीरोटरीको कुरा आउन सक्छ । यस विषयलाई आन्दोलन होइन उपयुक्त बाटो खोजी समाधान तर्फ लागनुपर्छ । स्वीकृत प्रस्ताव राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ । सरकारले गर्न लागेको यो प्रणाली कार्यान्वयन भने कामदारका लागि ठूलो राहत हुनेछ । सरकारका काममा श्रमशक्तिका व्यापारीको प्रभाव राम्रो नै परेको देखिन्छ । वास्तवमा नेपाली कामदारको फाइदा उठाएर श्रमशक्तिका ब्यापारीहरु लुट्ने धन्दामा क्रियाशिल छन । श्रमिकहरुको विवशताको फाइदा उठाएर तिनका सपना लुट्ने, तिनको पसिना लुट्ने र धन कमाउनेहरूलाई सरकारले लागु गर्न लागेको शून्य लागत र शून्य खर्चको प्रणालीेले ठूलो चोट पुराएको आभास अहिले भइरहेको छ । यो लागू हुनेबारे आएका अभिव्यक्ति र व्यवसायीहरूको चर्को दबाबले कार्यान्वयनमा जानेमा थुप्रै आशंका जन्माइदिएको छ । नेपालीका लागि आफ्नै जीवन अभिशप्त बन्ने गरिबी र अविकास सधैँ बोझ बनी आएको छ । मानिसमा जीवनप्रतिको मोह यति बलशाली हुन्छ कि ऊ हरेक प्रतिकूलतामा अनुकूलताको खोजी गर्छ, संघर्ष गर्छ र कसैगरी पनि आफ्ना आवश्यकता पूरा गर्छ । यसै क्रममा बसाइँ सर्छ, अर्काको काम गर्छ, भारी बोक्छ, गोरुझैँ जोतिन्छ र दासझैँ काम गर्छ । कामदारका रूपमा बिदेसिने र बिदेसिन चाहेर पनि दलालको चक्करमा फसेका युवायुवतीहरुका कथाले यही भन्ने गर्दछ । यी दुःख झेल्न सवै युवायुवतीहरुलाई आफ्नो आर्थिक अवस्थाले बाध्य पारेको हो । वास्तवमा विदेश जाने युवाहरुलाई शोषण गर्ने अनेक तह छन । गाउँका साहु या सुद्खोरहरूदेखि सहरका दलाल, श्रम मन्त्रालयका कर्मचारी, हवाई अड्डामा भिसा चेक गर्नेहरू, काम गर्न गएका ठाउँका मालिक र तिनका भरौटे अनि नेपालीलाई हेप्ने ती देशका सरकार सबै मिल्छन् र कामदार युवाहरुलाई शोषण गर्छन् । यो शोषणको घाउमा अलिकति भएपनि मलम लगाउने काम सरकारले लागू गर्न थालेको शून्य लागत नीति हो । यो नीति लागू हुँदा कामदारलाई ठग्न नपाइने डरले आत्तिएका छन् । वास्तवमा जो–जो ठगी खान पल्केका थिए ती सबै यो नीतिको विरोधमा लागेका छन् । यो प्रवृतिको विरोधमा लड्दै शून्य लागत नीतिलाई कार्यान्वयन गराउन सबैतिरबाट रचनात्मक दवाव सिर्जना गरांैं ।

Post a Comment

 
Top