0
गोल्डेन न्यूज संवाददाता
गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी महाभूकम्प पीडितहरुका लागि सहयोग आउनेक्रम जारी छ । यसैक्रममा नेपालमा शिक्षा, स्वास्थ्य र बुद्ध धर्मको संरक्षणका लागि स्थापित शाङ्पा फाण्डेशन काठमाडौं र बोधिचित्त ट्रष्ट कास्की नेपालले संयुक्त रुपमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ । ‘भूकम्प पीडितका लागि हाम्रो प्रयास’ भन्ने मूल नाराका साथ नेपाल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषको खातामा उक्त रकम जम्मा गरि रकम प्रदान गरेको हो ।  शाङ्पा फाउडेशनका संस्थापक अध्यक्ष तथा धर्मोदय सभाका केन्द्रीय अध्यक्ष शाङ्पा रिन्पोछेले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीलाई उक्त रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै धर्मगुरु रिन्पोछेले भूकम्प पीडित नेपालीहरुका लागि सहयोग गर्न काठमाडौं र पोखरामा एक–एक स्वयंसेवक टोली खट्टिएको जानकारी दिए । उनले नेपालीहरुको दुःखमा माया र समवेदना प्रकट गर्न पाउँदा खुशी लागेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले राष्ट्रिय विपद्को बेला सरकार एक्लैले केही गर्न नसक्ने अवस्थामा निजी तथा विभिन्न संघ–संस्थाले गरेको सहयोग महत्वपूर्ण हुने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य सीता गुरुङ, वोधिचित्त ट्रष्ट कास्कीका अध्यक्ष अमृतवज्र महर्जन, सचिव राम लामा, खेन्रप लामा, सोतोप लामा, उर्गेन गुरुङ, टासी वाङ्गेल, पत्रकार प्रकाशचन्द्र सापकोटा, हरि पन्त, सुशिल नेपाली, नेपाली कांग्रेस कास्कीका पूर्व सचिव पोषनाथ शर्मा, विष्णु कुँवर लगायत सहभागी थिए । शाङ्पा फाउण्डेशन र बोधिचित्त ट्रष्टले यसअघि कास्कीको सल्यानमा रहेको जनजागृति प्रावि र तनहुँको त्रिभुवन उच्च मावि पुनःनिर्माणका लागि ५०÷५० हजार रुपैयाँ प्रदान गरेको थियो ।  यसैगरी विभिन्न संघ–संस्था तथा व्यक्तिहरुको सहकार्यमा भूकम्प पीडितका लागि गोरखाको लाप्राक, हंसपुर, सिर्दवाश, नुवाकोट, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, रामेछापका साथै कास्की र तनहुँमा करिब २६ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको पोउवासंघकी सदस्य सीता गुरुङले जानकारी दिइन । गुरुङले दिएको जानकारी अनुसार गोरखाकै बिँही र प्रोक गाविसमा समेत राहत वितरणको तयारी भइरहेको छ ।

Post a Comment

 
Top