0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार कास्की कांग्रेसको संयोजनमा गोर्खाको पाचोक गाविस–७ स्थित पाचोक माविको अस्थायी भवन बनाईएको छ । स्कूलमा ४ वटा कोठा निर्माण गरिएको र यसका लागि आवश्यक पर्ने जस्तापाता लगायतका सामाग्री समेत कांग्रेस आफैले उपलव्ध गराएको बताइन्छ । पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई नेतृत्वको टोलीले निर्माण गरेको अस्थायी भवन करिब २ वर्ष चल्ने अनुमान गरिएको छ । टोलीमा केन्द्रीय सदस्य भट्टराई सहित सभासद वृन्दा राना, कास्की–३ का सभापति शोभाचन्द्र बराल, लोकतान्त्रिक जनजाति संघका अध्यक्ष जितबहादुर गुरुङ, महिला संघ कास्की–३ की सभापति शारदा गिरी, पार्टीका क्षेत्रीय सदस्य नम्रता बराल तथा कांग्रेस कार्याकर्ता भक्तबहादुर थापा, खेमराज गिरी, पशुपति भट्टराई, तिलक तामाङ र विष्णु तिमिल्सिना लगायत सहभागी भएको सभासद रानाले गोल्डेन न्यूज दैनिकलाई बताइन ।यसैबीच पोखरामा हालै गठन भएको नेपाली काँग्रेस धादिङ–पोखरा सम्पर्क सदनले झुल वितरण गरेको छ । सदनका सभापति केदार धमलाको नेतृत्वमा गएको टोलीले 

धादिङ जिल्ला ज्याम्रुङ गाविसमा ६ सय थान झुल वितरण गरेको बताइन्छ । ज्याम्रुङ वासीलाई लामखुट्टेको टोकाइबाट बचाउन जापानमा बस्दै आएका नेपालीहरुको समूह फुकुओका नेपाल सोसाईटीको सहयोगमा उक्त झुल वितरण गरिएको हो । ज्यामरुङ गाविसका गोलाभञ्ज्याङ, वाँडा गाउँ, चामभञ्ज्याङ, वोसी गाउँ, धमला गाउँ, सल्ले, गैह्री गाउँ लगायत क्षेत्रमा झुल वितरण गरिएको सदनका सभापति धमलाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी पोखराका पर्यटन व्यवसायी तथा ह्याप्पी भिलेज ट्रेक एण्ड एक्स्पिडिसनका प्रवन्ध निर्देशक उदय सुवेदीले पनि आफ्नो विदेशी मित्रहरुसंगको सहकार्यबाट संकलित ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री गोरखा र स्याङ्जामा वितरण गरिएको छ । सुवेदीले  कास्की रेडक्रसलाई १० लाख रुपैयाँ प्रदान गर्नुका साथै गोर्खा जिविस र मकैसिद्ध, धादिङको मुरली भञ्ज्याङ र स्याङ्जा विसौनाका साथै कास्कीको पार्चेका भूकम्प पीडितलाई विभिन्न सामाग्री दिएका हुन् । उनले वेल्जियमस्थित एभरेष्ट नेपाली समाजका अध्यक्ष दुर्गाप्रसाद सुवेदीको तर्फबाट प्रदान गरिएको ५० हजार रुपैयाँ झुल स्थानीय तथा पोखराका व्यवसायी कृष्णबहादुर लम्साल मार्फत वितरण गरिएको बताइन्छ । यसैगरी बैशाख १२ गते गएको महाभूकम्पमा परी गास, बास गुमाएर विचल्लीमा परेर जीवन गुजारिरहेका परिवारजनप्रति केहीमात्र भए पनि मल्हमपट्टी लगाउने उद्देश्यका साथ माछापुच्छे« टोल विकास संस्था रत्नचोक पोखरा ७ पोखराले प्रधानमन्त्री राहत कोषमा रु.११ हजार १ सय ११ नगद जम्मा गरेको छ ।  संस्थाका सचिव अर्जुन बहादुर थापाले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको बताए ।

Post a Comment

 
Top