0
यतिबेला पोखरा लगायत देशभर गर्मी ह्वात्तै बढेको छ । यो संगै विभिन्न स्थानमा पानीको अभाव हुन थालेको छ । खोला र नदीहरुमा पानी कम हुँदा सिंचाईमा समस्या हुन थालेको छ भने यसअघिका पानीका स्रोत कम हुँदा खानेपानीकै अभाव हुन थालेको छ । त्यसै त सबैजसो ठाउँमा धाराको शुद्ध पानी पुग्न सकेको छैन, त्यसमा भएको पानीको पनि स्रोत सुकेपछि समस्या आउनु स्वाभाविक हो । तराईका जिल्लामा पानीको ठूलो समस्या देखिन थालेको छ । यहाँ सिंचाई र खानेपानी दुबैमा समस्या देखिन थालेको छ । सिंचाई सुविधा नहुँदा पश्चिम नेपालको अन्नभण्डार मानिने तराईका खेतबारीमा बाली नलाग्ने समस्या देखिएको छ । हेर्दा सामान्य लागे पनि यो ठूलो समस्या हो । यो किसानको मात्र समस्या होइन, सिंगो मुलुकको अर्थतन्त्रसँग जोडिएको समस्या हो । नेपाल कृषिप्रधान देश हो, ६५ प्रतिशत बढी नागरिक कृषि पेशामा निर्भर छन् । वर्षेनी बाँझो जमिन बढ्दै जाँदा ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्र नै अस्तव्यस्त हुने खतरा छ । कृषि क्षेत्र अस्तव्यस्त हुनु भनेको अर्थतन्त्रको मूल आधार सुक्नु हो, जसले कूल गार्हस्थ उत्पादनमा धेरै कमी आउनेछ । त्यस्तै खानेपानीको सही व्यवस्थापन गर्नु पनि अत्यावश्यक छ । खानेपानीको दिगो व्यवस्थापन बस्ती विकासको आधारभूत आवश्यकता हो । अहिले तराइमा सिंचाई र खानेपानी दुबैमा समस्या देखिन थालेको छ । दुबै समस्यालाई समाधान गर्न दीर्घकालीन सोचको आवश्यकता छ । तत्कालका लागि खानेपानी व्यवस्थापनमा थोरै सुधार ल्याउँदा पनि केही राहत हुने देखिन्छ । खानेपानी संस्थाहरुले आवश्यकताभन्दा बढी धारा नबाँड्ने, मिटर जडान गरिएको ठाउँमा मिटर जफत गर्ने आदि खानेपानी व्यवस्थापनका अल्पकालीन उपाय हुन् । यी पनि आवश्यक छन् तर यतिले मात्र अब पुग्दैन । भइरहेको पानीको सही व्यवस्थापन र आपूर्ति नहुनु एउटा समस्या होला तर हाल भइरहेको पानीको स्रोत सुक्दै जानु र वैकल्पिक स्रोतको खोजी नहुनु कास्कीमा पनि सबैभन्दा ठूलो समस्या हो । जनसंख्या बढ्दै जानु, पानीको स्रोत सुक्दै जानु तर विकल्प नखोजिनुले ठूलो खतरा निम्त्याउन सक्छ । कास्कीमा खानेपानीको दिगो र वैकल्पिक स्रोत के हुन सक्छ ? यो प्रश्नको जवाफ दिने दायित्व सरोकारवालाहरुको बढी होला तर उनीहरुको मात्र होइन आम कास्कीबासीको हो । अझ नीति निर्माण तहमा बस्ने हरेकको यो दायित्व बन्नुपर्छ । गर्मीयाम शुरु भएसँगै चिन्ता व्यक्त हुने र त्यसपछि बिर्सने काम हुँदै आएको छ । यसरी समस्या समाधान हुँदैन । स्पष्ट भिजनसहित पानीको वैकल्पिक स्रोत खोजेर व्यवस्थापन गर्नु आवश्यक छ । अहिले सिंचाईको सन्दर्भमा भएको पानीको व्यवस्थापनमा बढी जोड दिन आवश्यक छ । कैयौं खोलाहरुमा पानी भएर पनि प्रयोग गर्न नसकिने स्थिति सिर्जना भएको छ । अनियन्त्रितरुपमा ढुंगा, बालुवा र गिट्टी निकाल्दा पानी तल र खोलाको सतह माथि हुने स्थिति सिर्जना भएको छ । ग्वारसहित विभिन्न खोलाहरुमा यो समस्या सिर्जना भएपछि हरेक वर्ष किसानहरु आन्दोलित हुने गरेका छन् । यो समस्या अन्य खोलाहरुमा पनि छ । यस्तो स्थिति बढ्दै गयो भने खेतीयोग्य हजारौं हेक्टर जग्गा बाँझो हुने खतरा सिर्जना हुनसक्छ । त्यसतर्फ जिल्ला विकास समितिलगायत सरोकारवाला निकायहरु बेलैमा सजग भएर अनियन्त्रित ढुंगा गिट्टी निकासीलाई नियमन गर्नु आवश्यक छ । त्यस्तै कास्कीको पोखरामा वैकल्पिक खानेपानीको व्यवस्थाका लागि पनि अहिलेदेखि नै पहल थाल्नु आवश्यक छ । यहाँ ठूला–ठूला चर्चा चल्ने गर्दछन् । पोखरामा विभिन्न स्थानको पानी झार्नेसम्मका चर्चा गरिन्छ तर व्यवहारमा यी कुराहरु अघि बढ्न सकेका छैनन् । त्यस्तै कास्कीको उत्तरी भेगमा हाइ ड्याम निर्माण गर्नेदेखि कुन–कुन विकल्प र विधिबाट पानीको आपूर्ति सहज गराउन सकिन्छ, त्यसतर्फ सोच्नुपर्दछ । अहिले जमिनमुनिको पानीको सतह निकै घटिरहेको छ । भएकै पानी पनि एकै ठाउँबाट तान्दा जमिनले नधान्ने स्थिति सिर्जना हुँदोरहेछ भन्ने कुरा भर्खरैको भूकम्पले देखाएको छ । धेरै पानी तानेका राजधानीका गोंगबुलगायतका क्षेत्रबाट हामीले पनि बेलैमा पाठ सिकेर पानीको दोहनमा पनि ख्याल गर्नुपर्ने भएको छ । पानी जति तानिसकेपछि जमिन खुकुलो हुने र भासिने खतराप्रति यहाँ पनि सचेत रहन आवश्यक छ । जमिनको भित्री भागबाट पानी थुत्नेभन्दा पनि बाहिरी स्रोतको खोजी गर्नेतर्फ बढी ध्यान दिनु जरुरी छ ।

Post a Comment

 
Top