गोल्डेन न्यूज संवाददाता
पोखरा–११, फूलवारीमा हरेको सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई हरियो मकै वितरण गरेको छ । ६ रोपनी जग्गाको क्षेत्रफलमा लगाईएको मकै बुधबार एक कार्यक्रमका बीच वितरण गरिएको सहकारीले जनाएको छ । ५ सय १० जना शयर सदस्य रहेको सहकारीले सोही जग्गामा आलु खेती गरी शेयर सदस्यलाई वितरण गरेको थियो । कृषिलाई टेवा दिने भन्दै सहकारीले मकै खेती गरेको सहकारीका कार्यवाहक अध्यक्ष विश्वराज बाँस्तोलाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखरा काहुँखोला मा गरिएको मकैखेतीले शेयर सदस्य लाभान्वित भएको मकै खेती कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले बताए । ९० दिनमा पाक्ने विशेष प्रजातिको मकै उत्पादन गरी करिब २ सय ८५ जना शेयर सदस्यलाई मकै वितरण गरेको सहकारीका सचिव धर्मदत्त ढुङ्गानाले जानकारी दिए । विभिन्न सामाजिक एवं आर्थिक सहयोग गर्दै आएको सहकारीले भूकम्प पीडित कास्की जिल्लाको थुम्की गा.वि.स वडा नं ७ मा रहेको शिवालय उच्च माध्यमिक विद्यालयमा सहयोग गरेको छ । १ दिने श्रमदान सहित विद्यालयमा ५ वटा अस्थायी कक्षा कोठा निर्माण गरि सहयोग गरेको निर्माण कार्यक्रम संयोजक रोहितराज बाँस्तोलाले जानकारी दिए । सहकारीले करिव ९० हजारको लागतमा सो विद्यालयमा पठन–पाठन गर्ने विद्यार्थीलाई शैक्षिक वातावरण तयार गरेको थियो । सहकारीले दोलखामा समेत ३१ हजारको लगानीमा २० थान त्रिपाल सहयोग गरेको थियो भने राष्ट्रिय सहकारी बैंक मार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हुनेगरि १५ हजार १ सय १ रुपैयाँ नगद समेत प्रदान गरेको थियो ।
Post a Comment