0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा बुधबार पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासका प्रथम सचिव डेनिस काङले दक्षिण कोरियाको इतिहास र विकास सम्बन्धी वृत्तचित्र प्रस्तुत गर्नुको साथै नेपालले पनि कोरियाबाट धेरै सिक्न सक्ने बताए । उनले कोरिया सन् १९५० मा अत्यन्तै गरिब भएको तर सबै एकजुट भएर काम गरेपछि अहिले विश्वमा धनी देशको रूपमा चिनिन सफल भएको बताए । उनले जुनसुकै स्थानको पनि विकास हुन इमान्दारिता, पारदर्शिता र समन्वय हुनुपर्ने भन्दै सडक फराकिलो भए पोखरा पनि त्यस्तै बन्न सक्ने विश्वास व्यक्त गरे । विश्वका तेक्वान्दो खेलाडी सहभागी हुने हान्मादाङ फेस्टिबल नेपालको पोखरामा गर्ने सोचाइमा रहेकोले त्यसको लागि सबैको सहयोगको अपेक्षा गरे । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले हान्मादाङ फेस्टिबल नेपालमा गर्न पाउनु ठूलो अवसर भएको भन्दै त्यसको लागि सहयोग हुने विश्वास दिलाए ।  दक्षिण कोरियास्थित तेक्वान्दो हेडक्वार्टर कुकिवनका मास्टर एवं नेपालका लागि आवासीय तेक्वान्दो प्रशिक्षक योङ दल क्वानले हान्मादाङ फेस्टिबलले पोखराको खेलपर्यटनको विकास गर्नमा सघाउ पु¥याउने हुँदा नोभेम्बरको अन्तिम हप्ता पोखरामा गर्ने सोचाइमा रहेको र त्यसको लागि आफूहरू निरीक्षणमा आएको बताए ।  कस्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमनारायण न्यौपानेले गरेका थिए । सो अवसरमा डेनिस काङ र योङ दल क्वानसँग अन्तरक्रिया पनि गरिएको थियो । अन्तरक्रियामा सहभागीले हान्मादाङ फेस्टिबल पोखरामा गर्न पाउनु पोखरेलीको अहोभाग्य हुने बताएका थिए ।

Post a Comment

 
Top