गोल्डेन न्यूज संवाददाता
ढोर फिरफिरे समाज युकेले तनहुँको फिरफिरेका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ । समितिले पोखरा रोयल सहकारी संस्था पोखराका प्रवन्ध निर्देशक तथा समाजसेवी भीम गुरुङमार्फत फिरफिरेका भूकम्प पीडितलाई सहयोग गरेको हो । शनिबार फिरफिरेमा आयोजित कार्यक्रममा भूकम्प पीडितलाई नगद सहयोग गरियो । समितिले गाविसको बढी क्षति भएको वडा नम्बर ३ र ७ मा ५०÷५० हजार रूपैयाँ सहयोग गरेको छ । अन्य वडाहरु १, २, ४, ५, ६, ८ र ९ का भूकम्प पीडितलाई ४०÷४० हजार रूपैयाँका दरले सहयोग गरेको गुरुङले जानकारी दिए । गाविस सचिव नेत्र नारायण सुवेदी तथा स्थानीय जनप्रतिनिधि हरुको उपस्थितिमा वडा नागरिक मञ्चका संयोजक तथा अन्य प्रतिनिधिहरुमार्फत भूकम्प पीडितलाई सहयोग प्रदान गरिएको हो । प्राप्त सहयोगलाई सर्वदलीय बैठकमा छलफल गराएर आवश्यकता अनुसार भूकम्प पीडितलाई प्रदान गरिने वडा नं. ७ का नागरिक समाजका अध्यक्ष अमरसिंह गुरुङले बताए । ‘ढोर फिरफिरे समाज युकेले भूकम्प पीडितलाई सहयोग गरेर ठूलो सामाजिक काम गरेको छ,’ उनले भने,–‘प्राप्त सहयोगलाई सही सदुपयोग गर्नेछौं ।’ वडा नं. ३ का वडा संयोजक प्रेम गुरुङले दलित वर्ग तथा बढी पीडितलाई प्राथमिकता दिएर नगद वितरण गर्ने बताए । ढोर फिरफिरे समाज युकेका अध्यक्ष छविलाल गुरुङ, सचिव हुत्तमान गुरुङलगायतको सक्रियतामा नगद संकलन गरी भूकम्प पीडितका लागि सहयोग गरिएको हो ।यसैगरी तमु प्ये ल्यु संघ पोखराले भूकम्प पीडितलाई जस्तापाता सहयोग गरेको छ । संघ अन्तर्गतको केन्द्रीय आमा समितिले तनहुँको फिरफिरेका भूकम्प पीडितलाई जस्ता पाता वितरण गरेको हो । १ लाख रूपैयाँ बराबरको १४ वण्डल जस्तापाता वितरण गरिएको संघका सचिव ओमबहादुर गुरुङले जानकारी दिए । विभिन्न स्थानमा भूकम्प पीडितलाई सहयोग गर्ने क्रममा शनिबार तनहुँको फिरफिरेमा जस्तापाता सहयोग गरेको आमा समितिका अध्यक्ष पुष्पा तमुले जानकारी दिइन् । अत्याधिक भूकम्प पीडित र यसभन्दा अगाडि जस्तापाता नपाएकाहरुलाई सहयोग गरेको आमा समूहका कोषाध्यक्ष बुद्धिमाया तमुले बताइन् । समितिले यस अगाडि भूकम्प पीडितका लागि १ करोड रूपैयाँ बराबरको राहत सामग्री सहयोग गरिसकेको बताइएको छ ।
Post a Comment