0
कास्कीको पोखरामा राष्ट्रपति रनिङ शिल्ड चलिरहेको छ । पश्चिमाञ्चलका अधिकांश जिल्लाबाट आएका झण्डै सात सय खेलाडीले आफ्नो प्रतिभा देखाए । राष्ट्रपति रनिङ शिल्ड विद्यालय तहका खेलाडीको प्रतिष्पर्धा भएकाले पनि यो महत्वपूर्ण प्रतियोगिता मानिन्छ । त्यसो त सरकारी लगानीमा स्थानीयस्तरमै पुगेर गरिने यो एक मात्र प्रतियोगिता हो । विद्यालयस्तरबाट छानिएर आएका खेलाडी जिल्लास्तरमा, जिल्लास्तरबाट छानिएका खेलाडी क्षेत्रीयस्तरमा र क्षेत्रबाट छानिएका खेलाडीले राष्ट्रियस्तरमा भाग लिन पाउँछन् । पश्चिमाञ्चल विकास क्षेत्रबाट छानिएका खेलाडीहरु पोखरामा हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा भाग लिन पाउने छन् । राष्ट्रियस्तरमै राम्रो प्रतिभा देखाउन सक्नेहरु अन्य प्रतियोगिताका लागि पनि छनौट हुने छन् र विद्यालय तह पूरा भएसँगै उनीहरुको खेल जीवन शुरु हुनेछ । यसरी जनस्तरमै लुकेर बसेका खेल प्रतिभाहरुलाई खोजेर राष्ट्रियस्तरसम्म पु¥याउने र उनीहरुको खेल जीवनको शुरुवात गराउने भएकाले पनि राष्ट्रपति रनिङ शिल्ड महत्वपूर्ण मानिन्छ । त्यसो त राष्ट्रपतिकै सम्मानमा खेल आयोजना हुने भएकाले राष्ट्रिय एकता कायम गर्न पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हुन त यो गणतन्त्र स्थापनापछि शुरु भएको नयाँ खेल अवधारणा भने होइन । पञ्चायकालमा राजाको नामबाट यस्तै खेलकूद आयोजना गर्ने गरिएकोमा गणतन्त्र स्थापनापछि राष्ट्रपति रनिङ शिल्डको रुपमा खेल खेलाइन्छ । जसले आमखेलाडी विद्यार्थीहरुमा राष्ट्रपतिमार्फत गणतान्त्रिक व्यवस्थाप्रति निष्ठा र राष्ट्रिय एकतामा समर्पणको भाव सिर्जना गर्न मद्दत पु¥याउने अपेक्षा पनि गर्न सकिन्छ । व्यक्ति र राष्ट्रको जीवनमा खेलको ठूलो महत्व छ । खेलको सार्वभौम नारा नै छ–‘व्यक्तिका लागि खेल, राष्ट्रका लागि खेल ।’ निश्चय नै व्यक्तिको जीवनलाई शारीरिक र मानसिकरुपमा जीउनयोग्य बनाउन खेलको जति महत्व छ, कुनै पनि राष्ट्रको जीवनमा पनि खेलको उत्तिकै महत्व छ । देशभित्र राष्ट्रिय एकता कायम गर्नेदेखि विश्वसामु आफ्नो उपस्थिति देखाउने महत्वपूर्ण माध्यम हो खेल । अझ पछिल्लो विश्व राजनीतिलाई हेर्ने हो भने खेल मनोवैज्ञानिक युद्धको रुपमा अघि बढिरहेको छ । कुन देशको क्षमता कति छ भनेर मापन गर्ने क्षेत्र नै खेल बनेको छ । त्यसैले विश्वका शक्तिसम्पन्न र विकसित मुलुकहरुले खेल र सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेको देखिन्छ । नेपालमा भने राज्यतहबाट खेल क्षेत्रको विकासका लागि उल्लेखनीय काम हुन सकिरहेको छैन । राजनीतिक अस्थिरताका कारण खेल क्षेत्र पनि प्रभावित भएको छ भन्न सकिएला तर अब यति भनेर मात्र फुर्सद पाउने अवस्था छैन । नेपालको भन्दा तल्लो आर्थिक हैसियतमा रहेका देशहरु खेल क्षेत्रमार्फत अघि बढिरहेको बेला अब नेपालले पनि यो क्षेत्रमा गुणात्मक फड्को मार्न ढिला गर्नुहुँदैन । त्यसका लागि सबैभन्दा पहिले राज्य तहबाट उपयुक्त नीति निर्माण गरिनुपर्छ । खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट जति टाढा राख्न सकियो, यसको त्यति धेरै प्रगति हुँदै जानेछ । नयाँ खेल नीति बनाउँदा जतिसक्यो धेरै विद्यालय तहमा खेलकूदको अभ्यास बढाउँदै लैजानुपर्छ । भोलि कुन क्षेत्रमा जाने भनेर हरेक व्यक्तिले विद्यालय तहबाटै भविष्यको निर्धारण गर्दछ । गाउँबस्तीमा लुकेर बसेका प्रतिभाहरु, जो उचित वातावरण पाएमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय खेलाडी बन्नसक्छन्, उनीहरुको खोजी गर्ने आधारभूत थलो पनि विद्यालय नै हो । पछिल्लो समयमा विद्यालय तहमा खेलको बिस्तार गर्ने केही पहल थालिएकै हो तर यसले पूर्णता पाउन सकेको छैन । हरेक विद्यालयमा खेल शिक्षक नियुक्त गरेर बालबालिकाहरुलाई खेलकूदको ज्ञान दिने कामको थालनी भए पनि यसले पूर्णता पाउन सकिरहेको छैन । स्रोतसाधनको अभावको नाममा विद्यालय तहमा खेलकूद शिक्षक नियुक्ति र परिचालनलाई प्रभावकारी बनाउन सकिएको छैन । अन्य विषयमा जस्तै खेलमा पनि हरेक विद्यालयमा विषयगत शिक्षक राख्नु आवश्यक छ । यसले एकातिर हरेक विद्यालयबाट खेलाडी उत्पादनको सम्भावना बढ्नेछ भने अर्को्तिर खेलाडीहरुको रोजगारीको अवसर पनि बढ्नेछ । पाठ्यक्रममै खेलकूदसम्बन्धी विषयवस्तु राखेर खेल शिक्षक अनिवार्य गर्ने हो भने खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नेछ । यसरी विद्यालयबाट उत्पादन हुने खेलाडीको पहिचान र विकासका लागि नियमितरुपमा प्रतियोगिताहरु संचालन गर्न जरुरी छ ।

Post a Comment

 
Top