0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेको असल छिमेकी नेपाल (पोखरेली ख्रिष्टीय समुदाय) ले गोर्खा जिल्लाको श्रीनाथकोट गाविसका भूकम्प पीडितको सहयोगार्थ ३८ लाख २५ हजार रुपैया जिल्ला विकास समिति गोर्खा मार्फत प्रदान गरेको छ । सोमबार जिविस गोर्खाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि असल छिमेकी नेपालका अध्यक्ष पास्चर राम रोक्काले उक्त रकमको चेक प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनालाई प्रदान गरेका हुन् ।सो अवसरमा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले सहयोगको आश्वासन दिने तर सरकारमार्फत सहयोग गर्न आनाकानी गर्ने देश तथा विदेशमा रहेका संघ संस्थाहरुलाई यो राम्रो पाठ भएको बताउँदै सहयोग गर्ने मनकारीहरुले विभिन्न वाहानामा सरकारलाई अविश्वास गर्न नहुने बताए । साथै उनले दैवि प्रकोप कोषमा जम्मा भएको रकम पारदर्शी रुपमा परिचालन गरिरहेको र हरेक गाविसलाई नमुना गाविस बनाउने योजना अनुरुप कार्य अगाडि बढि रहेको पनि बताए ।  असल छिमेकी नेपालका अध्यक्ष पास्चर राम रोक्काले संस्थाले शिक्षा, स्वास्थ्य र पुनःनिर्माणको क्षेत्रका कार्य गर्दै आएको र भूकम्प पीडितका लागि दीर्घकालिन कार्य गर्ने संस्थाको निर्णय अनुसार जिविस गोर्खासँग सहकार्य गर्दै श्रीनाथकोट गाविसमा करिब तीन करोड रुपैयाँको योजनाहरुमा कार्य भईरहेको बताए । सो रकमले तिन वर्षसम्म उक्त गाविसमा शिक्षा, स्वास्थ्य, वाटो लगायत सामुदायका आवश्यकता अनुरुप कार्य गर्ने बताए । उनले असल छिमेकी नेपाल पोखरा भित्र रहेका ४५ वटा चर्चहरुको साझा संस्थाको रुपमा १३ वर्ष अगाडि विधिवत दर्ता भई स्वास्थ्य तथा सामाजिक कार्यहरु गर्दै आएको बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी प्रेमराज गिरि, जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष जिवनाथ पौडेल, श्रीनाथकोट गाविसका सचिव नारायण पंथी र असल छिमेकी नेपालका सदस्यहरु को सहभागिता रहेको थियो ।

Post a Comment

 
Top