वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भवन पूर्णरुपमा चर्किएर रातो स्टिकर टाँसिएका सिंहदरबारभित्रका तीन मन्त्रालयलाई कार्य सञ्चालनमा ठूलो कठिनाइ भएको छ । चन्द्र शमशेरले निर्माण गरेको ऐतिहासिक सिंहदरबारको मुख्य भवनमा रहेको रक्षा मन्त्रालयका कोठा सबै चर्किएपछि मन्त्रालयका कागजपत्र निकालेर राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा लगिएको छ । सचिवालयमा पहिल्यै मन्त्रालयका चारवटा शाखा राखिएकाले मन्त्रालय सार्ने स्थानको समस्या नभएपनि सबै कर्मचारीलाई कार्यकक्षको अभाव रहेको छ । “कुन–कुन शाखा कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या रहेको छ, सबै शाखा र कर्मचारीलाई व्यवस्थापन गर्न स्थान पु¥याउन गाह्रो छ, ९८ जना कर्मचारीको दरबन्दी रहेको मन्त्रालयलाई परिषद्को सीमित ठाउँमा व्यवस्थापन गर्न अप्ठ्यारो छ”–मन्त्रालयका प्रवक्ता सूर्यकान्त पन्थीले भन्ने । कमलपोखरीस्थित लोक सेवा आयोगबाट २०७१ पुस ६ गते सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको भवनमा सरेको युवा तथा खेलकुद मन्त्रालय पनि पूर्ण रुपमा चर्किएर रातो स्टिकर टाँसिएपछि कर्मचारी पाल टाँगेर चौरमा बसेका छन् । मन्त्रालयको कुनै वैकल्पिक स्थान नभएकाले कार्य सञ्चालनमा समस्या भएको मन्त्रालयका सहायक सूचना अधिकारी ओमकुमार श्रेष्ठले बताए । उनले भने–“कमलपोखरी बाट सिंहदरबारमा मन्त्रालय सरेपछि महिला मन्त्रालयका सामान नसारिएकाले ‘प्यासेज’मै सामग्री राखेर अलपत्र अवस्थामा पाँच महिनादेखि बसिरहेका थियौँ । भूकम्पले मन्त्रालयको अवस्था बेहाल भएको छ । यसअघि पनि प्रशासन र योजना शाखा एउटै कोठामा सञ्चालन गर्दै आएका थियौँ, १३ कोठामा ६६ कर्मचारी मिलेर साँघुरोमा काम गर्दै आएका थियौँ, अब त पूरै मन्त्रालयका लागि पनि एउटै कोठा भएन ।”महिला मन्त्रालय २०६० सालमा सर्दा नै अनुपयुक्त भवन भनिएकामा सम्बन्धित निकायले बेलैमा ध्यान नदिँदा मन्त्रालय कार्य कक्षविहीन बन्न पुगेको श्रेष्ठले गुनासो गरे । मन्त्रालयको कोठा भित्रको सामान र कागजपत्र खसेर त्यसमाथि माटो र ढुङ्गाले कागजपत्र पुरिएका छन् । प्रत्येक कोठा चर्किएर धाँजा परेकाले कागज निकाल्न जान नसकिएको मन्त्रालयलजनाएको छ । श्रम तथा रोजगार मन्त्रालयको अवस्था पनि फरक छैन । एउटै भवनमा आधा आधा ठाउँ ओगटेर रहेका युवा र श्रम मन्त्रालय दुवैको अवस्था उस्तै छ । श्रम मन्त्रालयका सहायक सूचना अधिकारी जीवनकुमार राई बागबजारबाट १७ वर्ष अघि मन्त्रालय सिंहदरबारमा सरेको र सरेदेखि नै भवन जीर्ण रहेको बताउँछन् । उनले भने–“भवनको एकपट्टि भागमा २० कोठा लिएर सञ्चालन भएको मन्त्रालयले यस अघि नै भवन जीर्ण रहेको जानकारी गराएपनि सुनुवाइ भएन, फलस्वरुप प्रशासन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा अनुगमन शाखा भत्किएर कागजपत्र पनि निकाल्न सकेका छैनौँ । सहरी विकास तथा भवन निर्माण विभागले भित्र छिरेमा चोटपटक वा मृत्यु पनि हुनसक्छ भनी रातो स्टिकर टाँसेकाले कोही छिर्न सकेका छैनौँ ।” हाल सिंहदरबार पुनः निर्माण समितिले छोडेको सानो भवनमा मन्त्रालयको सामान सारिरहेको पनि उनले जानकारी गराए । श्रम मन्त्रालयअन्तर्गतको व्यावसायिक सीप विकास तालिम केन्द्र भैँसेपाटीको चारतले प्रशासकीय भवन पनि पूर्णरुपमा चर्किएर छिर्न नहुने अवस्थामा पुगेको केन्द्रका निमित्त महानिर्देशक जनकराज रेग्मीले बताए । “वि सं २०५० मा निर्माण गरिएको पक्की भवनको भूँइतलाको भित्ता ढलेको छ, विशेषज्ञले प्रवेश निषेध भनेकाले आवासीयरुपमा सञ्चालन भएको व्यावसायिक तालिम स्थगन गरेर प्रशिक्षार्थीलाई अभिभावकको जिम्मा लगाई घर पठायौँ”–उनले भने । भाडाको घरमा सञ्चालन भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अनामनगरको भवनमा कार्यकारी निर्देशकलगायत चारवटा कोठामा पस्न नहुने गरी क्षति भएको मन्त्रालयले जनाएको छ । विसं १९६६ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी दरबारको रुपमा सिंहदरबारको निर्माण गरेको सिंहदरबार पुनःनिर्माण समितिका सदस्य सचिव गिरिजाप्रसाद गोर्खालीले बताए । “२०३० सालको आगलागीमा पनि रक्षा मन्त्रालय रहेको भाग चिनिया विशेषज्ञले डाइनामाइट पड्काएर जोगाएका थिए, त्यसबेला प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको भवन क्षति भई त्यही रुपमा पुनःनिर्माण गरिएको थियो”–उनले भने । दरबारको पश्चिमपट्टिको भागमा रहेको रक्षा मन्त्रालयको माथिल्लो तलामा सुविधा सम्पन्न र राम्रो बैठक रहेको छ । यो बैठक १५ वर्ष अघिसम्म पनि सञ्चालनमा रहेकामा जीर्ण भएकैले प्रयोग गर्न छोडिएको उनले जानकारी दिए । आठ सय ८० रोपनी क्षेत्रफलमा फैलिएको सिंहदरबार पछि कालिकास्थान र बबरमहल छुट्याएपछि ८०० रोपनीमा सीमित भएको समितिले जनाएको छ ।सहरी विकास तथा भवन निर्माण विभागले दिएको जानकारी अनुसार आजसम्म प्राविधिक अध्ययन गरिएका २१० सरकारी भवनमध्ये २० वटा भवन पूर्णरुपमा चर्किएका, ४१ वटा आंशिकरुपमा चर्किएका र १३९ वटामा सामान्य अवस्था रहेको वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले बताए । भूकम्पबाट पूर्णरुपमा चर्किएकामा रातो स्टिकर, आंशिकरुपमा चर्किएकामा पहेँलो स्टिकर र सामान्य अवस्थामा रहेकामा हरियो स्टिकर टाँसिएको छ । रातो स्टिकर टाँसिएकामा छिर्न निषेध, पहेँलो स्टिकर टाँसिएकामा मर्मत गरेर कार्यालय सञ्चालन गर्न सकिने र हरियो स्टिकर टाँसिएकामा निर्वाधरुपमा कार्यालय सञ्चालन गर्न सकिने विभागले जनाएको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
संघ संस्था गतिबिधी
» सिंहदरबारभित्र तीन मन्त्रालयलाई काम गर्न समस्या
Subscribe to:
Post Comments (Atom)
Post a Comment