0
गोल्डेन न्यूज संवाददाता
पोखरेली साहित्यकारहरुले महाभूकम्पबाट क्षतिग्रस्त बनेको कास्कीको सिद्ध गाविसस्थित ‘गाउँ फर्क माध्यमिक विद्यालय’को अस्थायी भवन निर्माण गरेका छन् । पोखराका युवाहरुद्वारा सञ्चालित ‘विपद् व्यवस्थापनमा युवा, पुनःनिर्माणका लागि स्वयम् सेवा’ अभियान सँगको सहकार्यमा सम्मोहन साहित्यिक पत्रिकाले संयोजन गरेको अभियानअन्तरगत पोखरेली साहित्यकारहरुले ४ कोठे अस्थायी भवन निर्माण गरेका हुन् । सो युवा अभियानले कास्कीका विभिन्न स्थानमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुका लागि अस्थायी भवन निर्माण गरेको संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । सधैँ कलम, कापी बोकेर सिर्जनाका लागि शब्द खोज्दै हिँड्ने साहित्यकारहरुका हातमा शनिबार भने बञ्चरो, हँसिया, खन्ती, गैँची, हथौडाजस्ता ज्याबलहरु थिए । चर्को घाममा तरतरी पसिना बगाउँदै कोही खाडल खन्दै थिए, कोही बाँस खोज्न जङ्गलतिर चाहार्दै थिए, कोही बाँसलाई आकार मिलाउँदै चिर्न, काट्न र गाड्नमै व्यस्त थिए । जब भवनको बाहिरी संरचना पुरा भयो, तब चोयाबाट बुनिएको मान्द्रोले बार्ने र त्रिपालले छाउने काममा तँछाडमछाड गर्न थाले साहित्यकारहरु । सम्मोहनका सम्पादक तथा कार्यव्रmम संयोजक अल्पज्ञानी, सम्पादकद्वय सुरज उपाध्याय र कपिल शर्मा ‘सञ्जोग’, प्रधान सम्पादक तथा प्रकाशक रुपिन्द्र प्रभावी, सल्लाहकार ईश्वरमणि अधिकारी, नवनीत साहित्यकार सागरका अध्यक्ष लक्ष्मण थापा, ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालका अध्यक्ष गनेस पौडेललगायतको साहित्यकारको टिमले गाउँ फर्क माविको भवन निर्माणमा निकै उत्साहपूर्वक सहभागिता जनाएको थियो । नव प्रभात ओपन स्काउट व्र्mयुका सदस्यहरु तथा विद्यार्थी नेताहरु अमरदीप पराजुली, कृष्ण दाहालसहित स्थानीय वासिन्दाको साथ पाएर उनीहरु अझ हौसिँदै भवन निर्माणमा व्यस्त देखिन्थे । उनीहरुद्वारा निर्मित भवन विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद पराजुलीलाई सम्मोहन साहित्यिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक रुपिन्द्र प्रभावी र नेपाल स्काउट कार्यालय कास्कीका सङ्गठन आयुक्त तथा नव प्रभात ओपन स्काउट व्र्mयुका सदस्य–सचिव सागर पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । भवन हस्तान्तरण गर्दै प्रधान सम्पादक रुपिन्द्र प्रभावीले सम्मोहन परिवार पत्रिका प्रकाशनका अलावा सामाजिक अभियानमा सव्रिmय हुँदै आएको भन्दै यसलाई निरन्तरता दिने बताए । भूकम्प पीडितका लागि पोखरेली साहित्यकारुका तर्फबाट सङ्कलन गरिएको रकममध्ये ३० हजार रुपैयाँ शैक्षिक क्षेत्रका लागि सञ्चालित युवा अभियानलाई प्रदान गर्नुका साथै सो अभियानप्रति ऐक्यबद्धतासहित विद्यालय निर्माणमा जुटेको उनको भनाइ थियो । भवन ग्रहण गरेपछि प्रधानाध्यापक पराजुलीले सम्मोहनको संयोजनमा बनेको भवन अस्थायी भए पनि मायाको चिनोका रुपमा सिद्धवासीले स्थायी रुपमा मनमा राख्ने बताए । विपत्तिको घडीमा सम्मोहन र युवा अभियानले दिएको साथप्रति धन्यवाद दिँदै भविष्यका कर्णधारहरुका लागि यो कार्यले ठुलो महत्त्व राख्नेमा पराजुलीले जोड दिए । त्यस्तै, नेपाल स्काउटका राष्ट्रिय तालिम आयुक्त शिवबहादुर भण्डारीले विपत्तिमा उद्धारका लागि स्काउट सधैँ लागिरहने भन्दै सम्मोहनका हरेक अभियानको प्रशंसा गर्नुभयो । यसअघि कवि इन्द्र राना ‘प्रतीक’की श्रीमतीको उपचारका लागि पनि अर्थ सङ्कलन अभियान सम्पन्न गरिसकेको सम्मोहनले महाभूकम्पबाट पीडितका लागि साहित्यकार र साहित्यप्रेमीहरुबाट राहत सङ्कलन गरिरहेको छ ।

Post a Comment

 
Top