0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका–५ स्थित पस्र्याङ् युवा क्लबले यही बैशाख १२ र २९ गते गएको महाभुकम्पमा दिवङ्गत हुने हरुको आत्माको शान्तिको कामना गर्दै प्रस्र्याङ्मै रहेको लायन्स पार्कमा स्थिानीय आमासमूहका प्रतिनिधि, व्यापारी, पत्रकार सहितको करिब १५० जनाको समूहमा रहेको टोलीले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको क्लबका उपाध्यक्ष सञ्जय पराजुलीले बताए । दीप प्रज्वलन गर्दै क्लबका अध्यक्ष सुजन बाबु लामिछानेले भुकम्प पीडितहरुलाई सबैले आ–आफ्नो क्षेत्र बाट सहयोग गरिरहेको र सहयोग जारी राख्नुपर्ने बताएका थिए । स्थानीय क्रियाशिल राजनीतिक दलहरुको समेत सहभागिता रहेको कार्यक्रममा दुई सय २२ वटा दीप प्रज्वलन गरिएको क्लबका सचिव अमृत सुवेदीले बताए । यसैगरी पाल्पाली समाज पोखराले भूकम्प प्रभावितहरुको सहयोगको लागि संकलन गरेको राहत रकम जिल्ला दैवी प्रकोप उद्धार समिति पाल्पालाई हस्तान्तरण गरेको छ । पोखराबाट पाल्पा पुगेको टोलीको नेतृत्व गरेका समाजका अध्यक्ष बाबुराम खनालले पोखरामा संकलन भएको ७४ हजार ८ सय ५० रुपैयाँ जिल्ला दैवि प्रकोप उद्धार समितिका सदस्य सचिव तथा पाल्पाका स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । स्थानीय विकास अधिकारी पाण्डेले वैशाख १२को शक्तिशाली भूकम्प र २९ गते आएको शक्तिशाली पराकम्पनले पाल्पामा मानवीय क्षति नभए पनि पूर्वी भेगमा भौतिक क्षति बढी भएको बताए । गाविस र नगरपालिका मार्फत् तथ्यांक संकलन गरी पारदर्शी रुपमा राहत वितरण गरिएको उनले दाबी गरे । पाल्पाली समाज पोखराका अध्यक्ष बाबुराम खनालले कामको सिलसिलमा जिल्ला बाहिर रहे पनि आफ्नो जन्मथलोको मायाले गर्दा थोरै भए पनि सहयोग गरेको बताए । राहत संकलन अभियानलाई निरन्तरता दिइएको पनि उनले बताए । समाजका प्रथम उपाध्यक्ष कुलप्रसाद घिमिरेले पाल्लामा भूकम्पको असर भए पनि सहयोग कम आएको सुनेर सहयोग गरिएको बताए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष नारायणप्रसाद पौडेल, द्वित्तीय उपाध्यक्ष रेशम थापा, महासचिव वालचन्द्र परियार, कोषाध्यक्ष केशव नेपाल, सहकोषाध्यक्ष हुमबहादुर सिंजाली, पत्रकार श्याम कुँवर लगायत सहभागी थिए । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी टंक प्रसाद पाण्डेका अनुसार, पाल्पाका १ हजार ५ सय २३ घरमा पूर्ण क्षति हुँदा ७ हजार ३ सय ९९ जना विस्थापित भएका छन् । जिल्लाका २ हजार ९ सय ४६ घरमा आंशिक क्षति पुगेको छ भने १० हजार ५ सय २९ घरमा सामान्य क्षति भएको छ । जिल्ला कारागारका दुईवटा भवन कामै नलाग्ने गरी भत्किएका छन् भने २४ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । दुई पटकको भूकम्पमा परी १७ जना घाइते भएको र पाँच पशु चौपाया मरेको तथ्यांक संकलन गरिएको सहायक प्रजिअ पाण्डेले बताए । जिल्लाभरका ४७ विद्यालयका भवनमा भूकम्पले क्षति पु¥याएको छ । हालसम्म सरकारी तबरबाट १३ लाख ९६ हजार रुपैयाँ भूकम्प पीडितलाई प्रदान गरिएको उनले बताए । व्यक्तिगत र निजी तबरबाट समेत धेरै राहत सहयोग पीडितले पाएको उनले जानकारी गराए ।यसैगरी  बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले भुकम्प पिडितहरुको लागि रु १५ लाख रकम सहयोग गरेको छ ।  यहि बैशाख १२ गते काठमाडांै लगायत देशका विभिन्न भागमा गएको बिनाशकारी भूकम्पबाट पुग्न गएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिमा थोरै भएपनि सहयोग होस् भन्ने हेतुले बैंकले सहयोग गरेको बताइएको छ ।प्राकृतिक प्रकोपबाट उत्पन्न विषम परिस्थिति एवं राष्ट्रिय संकटको घडीमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत  बैंकले रु. १२ लाख, बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट पाँच दिनको तलब बरावरको गरि जम्मा रु. १५ लाख आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हुने गरि कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोषमा जम्मा गरिएको बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत मनोहर के.सीले बताए । यसैगरी तनहुँ सम्पर्क समाज पोखराको पहलमा शनिवार तनहुँ जिल्लाको क्षेत्र नं २ को थर्पु तथा क्षेत्र नं १ को बरभन्ज्याङ गाविस ( १ नागनागिनी तथा पुर्कोट गाविस –८ ढकालटारमा भूकम्प पीडित हरुलाई लाखौं मूल्यको राहत सामग्री बितरण गरियो । समाजले आफ्ना सदस्यहरुबाट संकलन गरेको रकमबाट जुटाइएको खाद्यन्नका साथै नेपाल रेडक्रश सोसाइटी कास्की शाखाले उपलब्ध गराएको खाद्य बस्तु, रोटरी क्लब अफ न्यूरोड पोखराले उपलब्ध गराएको कम्वल पनि बितरण गरिएको थियो । एश हेल्पिङ ह्याण्डस् पोखराले राहत बितरणका लागि औषधिलगायतका खाद्य सामाग्री राखेर तयार गरिएको झण्डै बीस किलो तौलमा १२५ प्याकेट सामग्री उपलब्ध गराएको थियो । तनहुँ सम्पर्क समाजले चामल,दाल, चिनी चियापत्ति, नूनलगायतका दैनिक आवश्यकताका खाद्य बस्तु उपलब्ध गराएको थियो । तनहुँ जिल्लाका तीनवटै क्षेत्रका भूकम्प पीडितहरुलाई तत्कालीन राहतका सामग्रीहरु उपलब्ध गराउने योजना अनुसार तीनवटै क्षेत्रमा राहत सामग्री बितरण गरिएको समाजका महासचिव अम्विका भट्टराईले जानकारी दिएका छन् । समाजले अघिल्लो हप्ता आफैंले जुटाएको रकम र विभिन्न सहयोगीहरु जुटाएर क्षेत्र नं ३ को शुक्लागण्डकी र फिरफिरे गाविसमा राहत सामग्री उपलब्ध गराएको थियो । एस हेल्पिङ ह्याण्डस्का संस्थापक दिनेश थापा, तनहुँ सम्पर्क समाजका अध्यक्ष ईश्वरप्रसाद सुवेदी, एस हेल्पिङ ह्याण्डस्लाई सहयोग गर्दै आएकी स्वयंसेवक फ्रेञ्च नागरिक डिवोरा,  समाजका पदाधिकारी, पूर्वअध्यक्ष तथा सल्लाहकारहरुले ती ठाउँमा राहत सामाग्री हस्तान्तरण गरेका थिए । यसैगरी कास्कीको लुम्ले गाँउ विकास समिति वडा नं ९ लान्द्रुकका ३५ घरपरिवारलाई आईतवार राहत वितरणगरिएको छ । पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङ्गको विशेष उपस्थितिमा घुम्ती नेपालको संयोजनमा संकलन गरिएको राहत भूकम्प प्रभावित नागरिकहरुलाई वितरण गरेका छन् । लान्द्रुृकमा ३५ प्याकेटमा चामल ५२५ केजी, आलु १२३ केजी, सोयविन ३५ केजी, चाउचाउ ५२५ प्याकेट, चिउरा १७५ केजी, मसला ७० पयकेट, नुन ३५ पोका, तेल ३५ पोका, र त्रिपाल वितरण गरिएको घुम्ती नेपालका संयोजक पशुपति भट्टराईले जानकारी दिए । राहत वितरण कार्यक्रममा डाक्टर सुधिरगोपाल पराजुलीले स्थानिय भूकम्प पीडित नागरिकहरुको स्वास्थ्य जाँच गरि करिव २० हजार रुपैयाँ वरावरको औषधि निःशुल्क वितरण गरेका थिए । घुम्ती नेपालका संयोजक पशुपति भट्टराई, राजु श्रेष्ठ तथा जर्मन नागरिक एलेक्स सहित ईग्ल्याण्ड, फ्रान्स, जर्मन, आयरल्याण्ड र व्राजिलका गरी ५ मुलुकका नागरिकले घान्द्रुक र लुम्लेको लान्द्रुक गाँउका भुकम्प पीडितका लागि आफ्ना साथीहरु मार्फत राहत संकलन गरेका थिए । हिजो मात्रै कास्कीको घान्द्रुकका विभिन्न वडामा राहत वितरण र विरामीको जाँच र औषधि वितरण गरिएको थियो । ती दुवै गाँउ विकास समितिका १ सय ५ घर परिवारका लागि करिव ४ लाख रुपैयाँ वरावरको विभिन्न राहतका सामाग्री उपलव्ध गराईएको घुम्ती नेपालका संयोजक पशुपति भट्टराईले जानकारी दिए ।यसैगरी धिताल–पोखरा सम्पर्क समाजले भूकम्प पीडितहरुका लागि राहत स्वरुप १० हजार १०५ रुपैयाँ सांग्रिला विकास बैंकमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरेको छ । समाजका अध्यक्ष मोती प्रसाद ढुङ्गाना, निवर्तमान अध्यक्ष मनोरथ सापकोटा, उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, सचिव सोमनाथ ढुङ्गाना, कोषाध्यक्ष लक्ष्मण पौडेल, सहि–सचिव प्रेमनारायण अधिकारीका साथै सदस्यहरु गुणराज सापकोटा, परशुराम दाहाल, पार्वती पोडेल, जगनाकुमारी गुरुङ लगायतबाट उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको बताइन्छ । यसैगरी विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट जुटाएको राहत गोर्खा तथा धादिङका भूकम्प पीडितलाई वितरण गरिएको छ  विशाख १२ गते गएको भूकम्पले क्षति गरेको भन्ने थाहाँ पाएपछि रकम संकलन गरि त्यसको भोली पल्टदेखिनै पोखरा–१७ की मिकोल पर्सिस तामाङ राहत विरणमा जुटेकी थिइन् । उनले हालसम्म ४ लाख रुपैया बराबरको राहत वितरण गरिसकेको बताइन् । राहतको लागि विशेष गरी वेरसेवा उमावि काठमाडौ, नेप्टिज, पोखरा व्याड एशोशियसनले रकम सहयोग गरेको उनले बताइन् । ‘भूकम्प गएको भोली पल्टनै म राहत लिएर विभिन्न पुगेको थिए’ उनले भनिन्,–‘विपतीको वेला राहतको लागि मलाई तत्काल संस्थाहरुले सहयोग गरे ।’ आफ्नो दुई बर्षीय छोरीलाई घरमा छाडेर उनी गोर्खा र धादिङका विभिन्न ठाउँमा चामल, विस्कुट, चिउरा, पाल, मेट, कपडा, औषधि वोकेर पुगेकी थिइन् । ‘त्यस्तो वेलामा मलाई संस्थाले मात्र होइन व्यक्ति रुपमा पनि साथीहरु रकम पठाए,’ उनले भनिन्,‘ अस्टेूलियाबाट राजिव थकाली र जापानबाट दिपेन गुरुङले पनि तत्काल राहतको लागि सहयोग गरे ।’ भूकम्प पीडितलाई अब टिनको आवश्यक रहेको उनले बताइन् । ‘ खाद्यन र पाल भन्दा पनि टिको आवश्यक छ,’ उनले भनिन्,‘ वर्षाको वेला पालले पनि त्यति राम्रोसँग पानी नथेक्ने भएकाले अस्थाइ रुपमा भएपनि टिनको घर आवश्यक छ ।’ भूकम्प गएपछि विशेष गरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी मारमा परेको उनले बताइन् । ‘राज्यले उनको लागि तत्काल केही गर्नु पर्छ,’उनले भनिन्,‘साथै सबै संघसंस्थाले मिलेर उनीहरुको लागि सहयोग गर्नु पर्छ ।’ यता, तमु जातिको पुरानो साझा सामाजिक संस्था तमु धिं नेपालमा ३१ वर्षमा प्रवेश गर्दैछ । २०४२ साल जेठ ५ गते पोखरामा स्थापना भएको तमु धिं मंगलवार ३१ वर्षमा प्रवेश गर्ने भएको हो । विगतमा वर्षहरुमा स्थापना दिवस भव्यताका साथ मनाउदै आएता पनि यसवर्ष देश भूकम्पले विपत्तिमा परेको वर्ष र तमु धिं नेपालले आफ्नै परिसरमा भूकम्प पीडितहरुलाई पुर्नस्थापना केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको अवस्थामा भूकम्प पीडितकै अधिकारको माग गरी मनाउने भएको छ । तमु धिं नेपालको शनिवार सम्पन्न बैठकद्धारा अध्यक्ष कर्म तमुको संयोजकत्वमा स्थापना दिवस मनाउन गठित उपसमितिले भूकम्प  पीडितका लागि उचित राहत र व्यवस्थित पुर्नस्थापनाका लागि राज्यको नीति, योजना, कार्यक्रम र अधिकारका बारेमा अन्र्तक्रिया गरी मनाउने निर्णय गरेको हो । स्थापना दिवसका प्रमुख अतिथि क्षेत्रीय प्रसासक दिनेशकुमार थपलियालाई आमन्त्रण गरिएको र उक्त कार्यक्रममा पुर्नस्थापना केन्द्र स्थापना गरेको तमु धिं नेपाल र पुर्नस्थापना केन्द्रमा रहेका गोर्खाका भूकम्प पीडितहरुले राज्यबाट पाउने सेवा सुविधा र भावी कार्यक्रमको बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिइन ।

Post a Comment

 
Top