0
गोल्डेन न्यूज संवाददाता
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको आयोजनामा यहि जेठको १२ देखि १४ गतेसम्म पोखरामा खेलकूद पत्रकारिता सम्बन्धी तालिम आयोजना हुने भएको छ । मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा बुधबार बसेको चौथो बैठकले उक्त निर्णय गरेको मञ्चका सचिव दिननाथ बरालले बताए । क्रिकेट, गल्फ, भलिवल, फुटवल लगायतका खेलको बारेमा समाचार सम्बन्धी तालिम दिन राजधानीबाट प्रशिक्षक आउने भएको समेत सचिव बरालले बताए । बैठकले उपाध्यक्ष सन्देश श्रेष्ठलाई तालिम संयोजकको जिम्मेवारी दिएको छ । कास्की जिल्ला खेलकुद विकास समिति, पोखरा उप–महानगर पालिका कार्यालयको सहयोगमा उक्त तालिम आयोजना हुन लागेको हो । तालिममा करिब ४० जना खेल पत्रकारहरु सहभागी हुने भएको छ । साथै बैठकले गत वैशाख १२ गते आएको विनासकारी भूकम्पबाट खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष सुमन भोम्जनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित उनको परिवारजनप्रति समवेदन समेत प्रकट गरेको छ । साथै उक्त भूकम्पमा परी दिवंगत भएका नेपाली तथा विदेशीप्रति  समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको मञ्चले जनाएको छ । त्यसैगरी मञ्च कास्कीका सदस्य रञ्जन अधिकारीको भूकम्पमा परी घर भत्केको, त्यस्तै सदस्य विजय नेपाल, सुरज श्रेष्ठ, प्रदिप पौडेल र सचिव दिननाथ बरालको घरमा आसिंक क्षति भएकोे मञ्चले जनाएको छ । मञ्चका सदस्य सुरज श्रेष्ठ शितलादेवी युवा क्लवको अध्यक्ष पदमा हालै निर्वाचित भएकोमा उनको कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरिएको छ । त्यसैगरी मञ्चका सचिव दिननाथ बराल गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यावसायी समन्वय समितिले सडक यातायात पुरस्कारबाट सम्मान गरेको तथा रेडियो अन्नपूर्णबाट बर्षको वेष्ट न्यूज पर्सन हुन सफल भएकोमा उनलाई बधाई ज्ञापन गरिएको बताइन्छ ।

Post a Comment

 
Top