0
‘तपाई जीवितै हुनुहुन्छ ?’ वैशाख १२ गतेको विनाशकारी भूकम्पको ३३ घन्टापछि जीवितै उद्धार गरिएकी सुनिता सिटौलाले पुनर्जीवन पाएको पक्का भएपछि आफ्ना पतिसँग बोलेको पहिलो वाक्य हो यो । “त्यसपछि त मैले पनि मन थाम्न सकिनँ अनि आपसमा अँगालो हालेर निकैबेर रोयौँ,” पति महेन्द्र सिटौलाले भने । आफू बसेको घरको भग्नावशेषमा पुरिएर ३३ घन्टापछि अर्कै संसारमा उक्लिएकी सुनितालाई आफू उद्धार भएको त थाहा भयो तर आफ्ना पति जीवितै नहोलान् कि भन्ने ठूलो त्रास थियो । बाहिर निकालिएपछि उनले आफ्ना पतिलाई पनि जीवितै देखिन् र पहिलो वाक्य खुसीका साथ नै यसरी बोलिन् । सुनिताले भनिन्–“मलाई त आफूले नयाँ जीवन पाएको मात्र होइन कि अर्कै लोकमा बसाई सरेर आएको अनुभव भयो । त्यसमा पनि आफ्नो पतिलाई झन् हाँसीखुसी देख्दा त मैले झन् मन थाम्नै सकिनँ ।” तपाई ३३ घन्टापछि जीवितै बाहिर आउन सक्नुभयो, अनि आफ्ना श्रीमान्लाई देख्दा उहाँसँग पहिला के भनेर बोल्नुभयो भन्ने प्रश्नमा उनले भनिन् –बाहिर आउनासाथ मेरा श्रीमान्लाई देख्दा मेरो खुसीको सीमा नै रहेन र तपाई पनि जीवितै हुनुहुन्छ भनेर सोध्न पो पुगिछु । तर सुनिता ३३ घन्टासम्म माटोमुनि बस्दा उनका श्रीमान् महेन्द्रले के कति गोता पाएभन्ने बारेमा भने उनले धेरैपछि मात्र थाहा पाइन् । उनी भित्र छिन् र बोलिरहेकी छिन् भन्ने महेन्द्रलाई थाहा थियो । उनी पाँचतले घरको भूईँतलामा पुरिएकी थिइन् र उनका पति महेन्द्रले बाहिरबाट सुनिता भन्दै बोलाउने गर्दथे । महेन्द्र भन्छन्–“मैले बोलाउदा बुढीले दुरुस्तै बोलेको सुन्थेँ र जतिसक्यो चाँडो बाहिर निकाल्नका लागि म पनि ३३ घन्टा नै नखाई र नसुतिकनै लागिपरेँ । तरपनि निकै कठिनसाथ त्यो काम सम्भव भयो । शनिबार करिब १२ बजे भूकम्प गयो, पहिल्यै झट्कामा पाँचतले भवन गल्र्यामगुर्लुम भयो र उनी पाँचतले भवनको भूईतलामै पुरिइन् ।” “त्यसपछि कैयौं पटक उनले सुनिताको नामले बोलाए । भित्र आफ्नी सुनिता बोलेको सुनिएपछि उनी सशस्त्र प्रहरी र सेनासँग हारगुहार गर्न लागे । प्रहरी त्यहाँ आयो पनि तर पुरिएको ढलानको चप्रो काट्ने ब्लेड नभएकाले ऊ फर्कियो । एक्साभेटर चलाउन मैले दिइनँ तर हाम्रा उद्धार कर्मीसँग यस्तो साधन छैन, मलाई साह्रै आपत् प¥यो”–महेन्द्र भन्छन् । त्यसपछि उनले भारतीय उद्धार टोलीसँग गई अनुरोध गरे र त्यहाँ ल्याए । सो उद्धार टोलीको लामो समयको प्रयासपछि भने उनलाई जीवितै बाहिर निकाल्न सफल भए । आइतबार राति ९ बजे उनले नयाँ जीवन पाएर बाहिर आइन् । यसअघि उनको उद्धारका लागि ल्याइएका सवारीमा तेल नभएकाले काम गर्न नसकेको, अर्काेमा चक्काको हावा खुस्किएकाले काम नगरेको र यति गर्दा पनि नभएपछि आफ्नी श्रीमतीलाई बाँच्न नलेखेकै रहेछ क्यारे भनेर निराश बनेको यथार्थलाई उनले बडो टिठ लाग्दो गरी एकादेशको कथाको शैलीमा सुनाउँदा जो कोहीलाई पनि मन थाम्न गाहै्र पर्छ । सुनितालाई भूकम्प आएको थाहा थियो र भाग्न खोजिन् । तर भूईँ तलामै रहेकी उनलाई बाहिर निस्कन भने ढोकाले दिएन । भान्छामा रहेकी उनले भनिन्– “भाग्दै थिएँ तर मूल ढोकामा आएपछि भने ढोका नै खस्यो र मलाई छेक्यो । पछि ममाथि त्यही ढोकाको टाँड परेछ र म उत्तानो परेर लडेकै अवस्थामा थुनिएँ । यताउति चल्मलाउन पनि पाइनँ र त्यही अवस्थामा नै उद्धार भएर बाहिर आउन सकियो ।” उनका श्रीमान्ले आफ्नी सुनिता बोलेको सुनेको भएपनि तिनी भने भित्र इन्तु न चिन्तु थिइन् । आफ्नो दुर्दशा सम्झिँदै सुनिताले भनिन्–“कोही गुन्गुनाएजस्तो त भित्रबाट सुन्थेँ तर आवाज बुझ्दैनथेँ । म उत्तानो परेर लडेकी थिएँ, सबैतिर भग्नावशेषले पुरेका थिए । हात चलाउन पनि पाउँदैनथेँ । शरीर भिजेको थियो । पानी रहेछ भन्ने त थाहा पाएँ निकै तिर्खा लागेको थियो तर पानी खान खोज्दा हात बाँधिएको थाहा पाउथेँ । मुखमा पानी कतैबाट आउला कि भन्ने प्रयास गरेँ तर सम्भवै भएन ।”      तिनले भनिन् –“कति समय भयो आफू थुनिएको केही थाहा थिएन । कहिले मर्छु या कसैले उद्धार पो गरिदेला कि भन्नेजस्ता कुराहरू दिमागमा आउँथे तर छिनछिनमा अचेत हुन्थेँ, केही थाहा पाउन्नथेँ । बाहिर कता कता आवाज आएजस्तो सुन्दा कोही त आउला कि बचाउन भन्ने चाहिँ लागेको थियो ।” अघिल्लो दिन सुनिताले सपनाका ठूल्ठूला सिरानी हालेर सुतेकी थिइन् । उनका श्रीमान महेन्द्रले पनि ४ महिनामात्र अघि सुरु गरेको व्यवसायले आफूलाई राम्रै कमाई देला भन्ने भरोसा राखेका थिए । तर बसुन्धराको नमूना टोलमा रहेको भाडाको घरसँगै यो दम्पतीको सपना पनि गल्र्यामगुर्लुम ढले । महेन्द्रले १३ वर्षसम्म विदेशमा बसेर कमाएको सारा सम्पत्ति नै घरको भग्नावशेषमा पुरिए । क्षणभरमै उनीहरूका सपना पुरिए र विनाशकारी भूकम्पले उनीहरूलाई सुकुम्बासीमा परिणत गरिदियो ।     तेह्रथुम संक्रान्ति गाविसका उनीहरू साना दुई छोराका साथ चार महिनामात्र अघि काठमाडौँ आएका हुन् । महेन्द्र भन्छन्–“मैले १३ वर्षसम्म खाइ नखाई कमाएको र गाउँको सारा घरजग्गा बेचेर जम्मा पारेको २५ लाख रुपैयाँ लगानी गरेर सोही घरमा मासु पसल खोलेको थिएँ ।” तर उनीसँग अहिले त्यो पसलको कुनैपनि संरचना र सामान बाँकी छैन, भग्नावशेषमा पुरिएका छन् । उनले भने–“अब गाउँ जाउँ भने सबै बेचेर यहाँ आयौँ, यहाँ केही छैन, भूकम्पले हामीलाई सुकुम्बासी बनायो ।” सुनिता भन्छिन्–“मैले अर्काे जीवन पाएको खुसियाली धेरै समयसम्म रहेन । जब हाम्रो पसल पुरिएको भन्ने थाहा पाएँ त्यसपछि मलाई त्यो भूईँमा पुरिएको जत्तिकै पीडा सुरु भएको छ । चार महिनाअघिमात्र त्यत्रो सम्पत्ति लगाएको व्यवसाय अब हामीसँग छैन, अन्त जाने ठाउँ छैन । अबको जीवन कस्तो हुने हो, हाम्रा अगाडि पूरै अँध्यारो छ ।” सुनिताको जस्तै पीडा खेप्ने यो देशमा यतिखेर धेरै नेपाली दाजुभाइ दिदी बहिनीहरू छन् । तर यो प्रकृतिको क्रुरता मात्र हो । यसका विरुद्ध अबका दिनमा सबैजना एक भएर शोकलाई शक्तिमा बदल्नुको अर्काे विकल्प छैन । संसारका नागरिकले त सात समुद्रपारिबाट हामीलाई अरबौँ रुपैयाँ सहयोग गरेका छन् । हामी नेपालीले पनि एकले अर्काेलाई मन र धनले सहयोग गर्नसक्नु पर्छ । क्रुरताले दिएको यो नियतिमा हामी सबैले पसिना सिंचेर यो देशलाई हराभरा बनाउन प्रण गर्नुपर्छ । रासस

Post a Comment

 
Top