गोल्डेन न्यूज संवाददाता
शनिवार र मंगलवार गएको भूकम्पबाट कास्की रेडक्रसमा सहयोग आउने क्रम जारी छ । बिहीवारसम्म ३० लाख ५१ हजार ५ सय ५८ रुपैया संकलन भएको छ । पछिल्लो क्रममा पोखरा–१३ की पुष्पा परियारबाट ६ हजार रुपैया, नेपाल रेडक्रस सोसाइटी काहुँ उपशाखाबाट १० हजार १ सय ११, सिद्धार्थ लभडेल बोर्डिङ स्कुलबाट ५ हजार रुपैयाँ प्राप्त भएको कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिए । भूकम्पबाट १० हजार ७ सय ६४ घरमा क्षति पुगेको छ । यसमध्य २ हजार ३ सय २ पूर्ण र ८ हजार ४ सय ६२ आंशिक क्षति भएको जनाइएको छ । नारी उत्थान दिदी बहिनी आमा समूह, छोरेपाटनले बुधबार रेडक्रसमा आएर लत्ताकपडा सहयोग गरेको छ । समूहकी अध्यक्ष सरिता घिमिरेले रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गाना र उपसभापति डोलराज पाण्डेलाई प्रदान गरिएको हो । सो अवासरमा सुती साडी ६१ थान, चिप्लो साडी ५० थान, कम्वल ११ थान, कुर्ता सर्वाल १५ थान लगायत करिव १ लाख ४० हजार रुपैयाँको सहयोग प्राप्त भएको छ । हालसम्म कास्कीमा पहिलो चरणमा राहत वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाले बताए । अझैपनि गाविसहरुबाट राहतको लागि माग आउने क्रम भने जारी रहेको जनाइएको छ । यसैबीच पोखरामा बिहीवार गैरसरकारी संस्थाहरुको वैठक पोखरामा सम्पन्न भएको छ । बैठकले भूकम्पबाट प्रभावित परिवारलाई आवश्यक त्रिपाल र खाद्यान्न सहयोग गर्ने निर्णय गरेको छ । साथै निर्माणको लागि दाताहरुको खोजी गर्ने निर्णय भएको गैरसरकारी संस्था कास्कीका सचिव इन्दिरा पौडेलले बताए । कार्यक्रममा रेडक्रस कास्की सभापति वामदेव ढुङ्गाना, लि–वर्डका महेश शर्मा, इन्सेक पोखराका शिव खकुरेल, कम्युनिटी सर्पोट ग्रुपकी मिना श्रेष्ठ, सिद्धार्थ क्लवका अध्यक्ष दिपेन्द्र मरासीनी लगायतको सहभागिता रहेको थियो । सहभागीहरुले सबैसंघसंस्थाहरुसँग सहकार्य गर्दै प्रभावित परिवारलाई त्रिपाल र पूर्ण क्षति भएका परिवारहरुको निक्र्योल गरी जस्तापाता समेत प्रदान गर्ने निर्णय भएको छ । यसैगरी पोखराको वडा नं १५ मा रहेको सिर्जनशील बाल विकास कार्यक्रमले विपन्न परिवारका ९ जना बालबालिकालाई एक कार्यक्रम बीच करिब ४१ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । तनहुँ जिल्लाको शुक्ला निमावि मा अध्ययनरत ५ जना र भीमाद स्थित सिद्धज्योति प्रावि का ४ जना गरी ९ जना विद्यार्थीलाई विद्यालय पोशाक र आवस्यक कापी किताव प्रदान गरिएको हो । उनीहरुलाई जनही ३ हजार बराबरका समाग्री र नगद १४ हजार रुपैयाँ समेत गरी करिब ४१ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको सृर्जनशील बाल विकास कार्यक्रमका कार्यालय व्यवस्थापक विष्णु पन्थले जानकारी दिए । कार्यक्रमका शिक्षक अभिभावक संघ तनहुँका अध्यक्ष मेख बहादुर खत्रीले प्रदान विद्यार्थीहरुलाई आवश्यक कापी कलम र विद्यालय पोशाक प्रदान गरेका हुन् । छात्रवृत्ति प्राप्त गरेपटि विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । शुक्ला निमावीका प्रधानाध्यापक सूर्यकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सृजर्नशील बाल विकास कार्यक्रमका कार्यालय व्यवस्थापक विष्णु पन्थ, कर्मचारी नवराज गिरी लगायतको पनि सहभागिता रहेको थियो ।यसैगरी नेपाल राष्ट्रिय खड्गी समाज कास्कीले पोखरा–२२ आर्वा विजयका भूकम्प पीडितलाई राहत वितरण गरेको छ । गत वैशाख १२ र २९ गते गएको भूकम्पबाट पीडित भएका त्यस क्षेत्रका ४५ घर परिवारलाई खाद्यन्न लगायतका सामाग्री वितरण गरेको हो । आर्वामा आयोजित कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष मोहनबहादुर साई जिल्ला अध्यक्ष सोमबहादुर साई, प्रमुख सल्लाहकार भिमबहादुर साई लगायतले पीडित परिवारलाई चामल, दाल, तेल लगायतका खाद्य सामाग्री वितरण गरे । समाजमा आवद्ध सदस्य तथा विभिन्न क्षेत्रमा रहेका खड्गी समुदायबाट रकम संकलन गरि राहत वितरण गरिएको अध्यक्ष साईले जानकारी दिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष साई, वडा सचिव ऋषि बराल, प्रमुख सल्लाहकार भिमबहादुर साई, रेडक्रस उपशाखा आर्वाका सभापति टेकनाथ बराल, नागरिक मञ्चका हरिबहादुर बराल, एमाले आर्वाका नारायणप्रसाद बराल, समाजका उपाध्यक्ष निर्मल खड्गी, महासचिव विकल साई लगायतले भूकम्प प्रभावितहरुलाई सहयोग गरेर समाजले आफ्नो उत्तरदायित्व बहन गरेको बताएका थिए ।यसैगरी लायन्स क्लब अफ पोखरा डाउनटाउनले भुकम्प पीडितका लागि चौथो चरणको राहत वितरण कार्य सम्पन्न गरेको छ । यसअघि धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा राहत वितरण गरिसकेको क्लबले चौथो चरण अन्तर्गत गोरखाको बारपाकमा पुगेर भूकम्प पीडितको हातमा राहत सामाग्री थमाएको हो । क्लबका अध्यक्ष प्रमोद लामिछानेको नेतृत्वमा बुधवार बारपाक पुगेको टोलीले अस्थायी टहरा बनाई बासको जोहो गर्न लागेका पीडितहरुको सहयोगमा जस्तापाता वितरण गरेको हो । करिब एक सय पचास जस्तापाता लिएर बारपाक पुगेको टोलीले त्यस स्थानका करिब २५ घरपरिवारलाई जस्तापाता वितरण गरेको अध्यक्ष लामिछानेले जानकारी दिए । जस्ता प्राप्त गरेपछि वारपाकका ती पीडितहरुले खाद्यन्न लगायतका सामाग्री राहतस्वरु ल्याईने गरेको भएपनि अस्थायी टहरा निर्माणका लागि लायन्स क्लब अफ पोखरा डाउन टाउनले गरेको जस्तापाता सहयोगले महत्वपूर्ण राहत मिलेको प्रतिक्रिया दिएका थिए । उनका अनुसार जस्तापाता खरिद गर्नका लागि स्वीडेन स्ट्राङनासका नागरिक एना, फिदा र सोफियाले अधिकतम आर्थिक सहयोग गरेका थिए । उनीहरु पनि वारपाकमा पुगी पीडितसँग भेटघाट र सहयोग गरेको लामिछानेले जानकारी दिए । उनका अनुसार क्लबको पहलमा स्वीडेनी ती नागरिकहरुले भुकम्प पीडित सिन्धुपाल्चोकका विभिन्न दश जना बालबालिकाहरुलाई एकवर्षसम्म सहयोग गर्ने गरी पोखराको एक निजी विद्यालयमा भर्ना गरिदिएको पनि लामिछानेले जानकारी दिए । राहत वितरण गर्न वारपाकमै पुगेका क्लबका सदस्य श्रीमान् थीङ मङगल र शुभचिन्तक शंकर कोईरालाले क्लबका माध्यबाट तथा व्यक्तिगत रुपमै भएपनि भुकम्प पीडितको सहयोग गर्न पाउँदा आफुहरु गौरवान्वित महसूस गरेको बताएका थिए ।यसैगरी भूकम्प पीडितहरुको सहयोगार्थ कास्की जिल्लामा रहेको सहकारी संघहरुको अगुवाईमा आफ्ना सदस्य संस्थाहरुबाट संकलन भएको रु.१५ लाख २७ हजार १२७ एक कार्यक्रमका बीच कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको भौचर हस्तान्तर गरिएको छ । पहिलो चरण अन्तर्गत कास्कीमा भएको मध्ये ११४ वटा सहकारी संस्थाहरुले उक्त खातामा सहयोग प्रदान गरेको हो । सहकारी अभियानले उक्त रकम नेपाल बंगलादेश बंैकमा भएको खाता नं. ०३५१४१ सी मा जम्मा गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीमबहादुर गुरुङ्ग, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारी, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष पुण्यप्रसाद पौडेल, जिल्ला उपभोक्ता सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद बराल लगायतका सहयोग गर्ने सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसअघि कास्कीमा कार्यरत सहकारी संघ संस्थाहरुबाट एकमुष्ठ रुपमा राहत रकम संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सहकारी संघ संस्थाहरुलाई आह्वान समेत गरेको थियो ।यसैगरी कास्कीको धितालबाट पोखरामा आइ विभिन्न पेशा र व्यवसायमा संलग्नहरुको संस्था धिताल पोखरा सेवा समाजले पनि भूकम्प पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको छ । समाजका अध्यक्ष मोती प्रसाद ढुङ्गानाले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार समाजले प्रधानमन्त्री राहत कोषको सांग्रिला विकास बैंकमा रहेको खातामा १० हजार १ सय ५ रुपैयाँ जम्मा गरेको हो ।
कास्कीमा रहेको सहकारी संघ संस्थाहरुले यसको अलवा प्रभावित जिल्लाहरुमा गई विभिन्न भौतिक सामाग्रीहरु समेत वितरण गरिरहेको छ । इच्छुक सहकारी संघ संस्थाहरुले राष्ट्रिय सहकारी बंैक लि.पोखरा शाखामा भएको सहकारी दैबी प्रकोप राहत कोषमा जम्मा गर्न सकिने बताइन्छ ।यसैगरी पोखराको छोरेपाटन स्थित शितल चौतारी टोल विकास संस्थाले लेखनाथ वडा नं १६ भरतपोखरी माथिल्लो पुडीटारमा जस्ता पाता वितरण गरेको छ । भूकम्पको कारण घरमा क्षति पुगेका आर्थिक अवस्था कमजोर रहेका ५ घर परिवारलाई पुडीटारमा एक कार्यक्रमका बीच शितल चौतारी टोल विकास संस्थाका अध्यक्ष इश्वरी प्रसाद लम्साल ,कार्यक्रम संयोजक मोहन प्रसाद बराल, सचिव कृष्ण प्रसाद पोखरेल अनिल परियार र शिव प्रसाद आचार्यले संयुक्त रुपमा पीडितहरुलाई जस्ता पाता हस्तान्तरण गरेका थिए । घरमा क्षति भएका गणेश पुन, गम बहादुर पुन, हस्तबहादुर कोइराला, विरबहादुर राना र पूर्ण बहादुर थापालाई एक–एक बन्डल जस्ता पाता हस्तान्तरण गरिएको थियो । शितल चौतारी टोल विकास संस्थाका अध्यक्ष इश्वरी प्रसाद लम्सालले कार्यक्रम संयोजक मोहन प्रसाद बरालको सक्रियतामा गोरखा, धादिङ कास्की लगायतका क्षेत्रमा ठूलो सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने बताए । कार्यक्रम संयोजक मोहन प्रसाद बरालले आफूले सामाजिक सञ्जाल मार्फत आफ्ना साथीहरु बीच संकलन गरेको आर्थिक सहयोगले पीडितहरुलाई केही भए पनि राहत उपलब्ध गराउन पाएको भन्दै आफू सिन्धुपाल्चोकमा एउटा कलेज र एक विद्यालयमा पुन निर्माणको लागि एक ट्रक जस्ता सहित तर्फ जान लागेको बताए । उनले कास्कीको चापाकोटको विद्यालयमा जस्ता पाता सहयोग गरेको बताउँदै केही दिनपछि कास्कीको अर्को विद्यालयमा पनि जस्ता पाता उपलब्ध गराउने बताए । हस्तान्तरण कार्यक्रमको संचालन सचिव कृष्णप्रसाद पोखरेल गरेका थिए भने स्थानीय शंकर बहादुर अधिकारी लगायतले मन्तब्य राखेका थिए । यसैगरी तमू प्ये ल्हु संघ केन्द्रिय समितिलाई कतार शाखाबाट करिव ३ लाख ३३ हजार वरावरको राहत सामाग्री प्राप्त भएको छ । गत वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पबाट प्रभावित भूकम्पपीडितहरुलाई राहत सामाग्री वितरण, भोजनदान तथा स्वास्थ्य सामाग्री र औषाधि सहयोग गर्दै आएको तमू प्ये ल्हु संघ केन्दिूय समितिलाई विहिवार एक समारोहबीच प्ये ल्हु संघ कतार शाखाबाट भूकम्पपीडितहरुको राहतको निम्ति केन्द्रिय समितिलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ वरावरको राहत सामाग्री प्राप्त भएको हो । उक्त सहयोग सामाग्री कतार शाखाका प्रमुख सल्लाहकार चन्द्रप्रकाश तमू, उपाध्यक्ष ओम प्रकाश तमू र कोषाध्यक्ष यम तमूले केन्द्रिय समितिका अध्यक्ष क्याप्टेन रुप बहादुर तमू, राहत सामाग्री संकलन तथा वितरण समितिका संयोजक हितकाजी तमू र केन्द्रिय प्ये छ्या संकलन समितिका अध्यक्ष लेफ्नेण्ट इन्द्र वहादुर तमूलाई हस्तान्तरण गरे । तमू प्ये ल्हु संघ कतार शाखाले भुकम्पपीडितहरुको लागि कतारमा संकलित ६ लाख ५० हजार मध्ये ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ वरावरको सामाग्री खरिद गरि केन्द्रिय समितिलाई पठाएको र वाँकी रकम कतार शाखामै आवद्ध भुकम्पपिडित सदस्यहरुलाई शुक्रवार वितरण कतार शाखाका अध्यक्ष युद्ध जंग तमूले जानकारी दिए ।
Post a Comment