0
   महिला समन्वय समिति पोखरा–१८ को आयोजनामा सोमबारदेखि अर्गानिक तरकारी खेती, उद्घोषण तथा महिला शशक्तिकरण सम्वन्धी तालिम शुरु भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने तथा  महिलाहरुको क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित तालिम १६ गतेसम्म चल्ने छ । पोखरा उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा आयोजित तालिममा वडा नं १८ का ७० जना महिलाको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोहमा आदर्श समाज दैनिकका प्रमुख सम्वाददाता नवीन सिग्देललाई सम्मान गरिएको थियो । पत्रकार सिग्देललाई कार्यक्रमकी प्रमुख अतिथि सभासद् शारदा पौडेल र समन्वय समितिकी अध्यक्ष इन्द्रमाया बाँनियाले संयुक्त रुपमा सम्मान गरेका थिए । तालिमको उद्घाटन गर्दै सभासद् शारदा पौडेलले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रका जग्गाधनीलाई उचित मुआब्जा दिलाउने बताईन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्छ र जग्गाधनीलाई पनि उचित मुआब्जा दिनुपर्छ उनले भनिन्–मैले त्यसतर्फ गम्भिरतापूर्वक काम गरिरहेकी छु । कार्यक्रममा नेपाली काङ्ग्रेस पोखरा–१८ का इकाई सभापति बोधराज कार्कीले जग्गाधनीलाई उचित मुआब्जा दिएर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल शुरु गर्न माग गरे । नेकपा एमाले पोखरा–१८ का अध्यक्ष माओ थापाले तालिमलाई उपलब्धिमूलक बनाउनुपर्ने उल्लेख गरे । एनेकपा माओवादी पोखरा– १८ का अध्यक्ष खड्कबहादुर वि.कले सामाजिक विकृति, विसंगति नियन्त्रण र विकास निर्माणका लागि सवै दल मिलेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा सम्मानित व्यत्तित्व पत्रकार नवीन सिग्देल, कृषि अधिकृत गंगाबहादुर थापा, टोल विकास समन्वय समिति–१८ का अध्यक्ष तोरण खड्का, समन्वय समितिका सल्लाहकार रोमबहादुर कार्की, ललित बानियाँ, जगन्नाथ तिमिल्सिना, राममाया मगर, लक्ष्मी पोखरेल, बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिव पोखरेल, शुभकामना टोल विकास संस्थाका अध्यक्ष कृष्ण कुँवर, भगवति आमा समूहकी अध्यक्ष डिल शोभा गुरुङ, मनकामना मन्दिर संरक्षण समितिका अध्यक्ष बासुदेव बानियाँ, अर्गानिक प्रशिक्षक विश्वनाथ पराजुली लगायतले बोलेका थिए । महिला समन्वय समिति–१८ की अध्यक्ष इन्द्रमाया बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला सल्लाहकार संयोजक यशोदा भट्टराईले गरेकी थिईन् ।

Post a Comment

 
Top