0
यो प्रलयकारी भूकम्पले धेरै ठूलो जनधनको क्षति गरेको छ । आफन्त गुमाउने र घाइते हुनेको पीडा अथाह छ । जनको क्षति जस्तो धनको क्षति हुँदैन । जनको क्षति भएकालाई हामी सबैले सान्त्वना दिनुपर्छ । धन त कमाउँला, बाँचेरै हो धन जोड्ने । हाम्रो देश नै भूकम्प गएर बनेको रहेछ । हाम्रा हिमाल, पहाड भूकम्पका धक्काबाट ठडिएका हुन् भन्छन् विज्ञ । हामी जहाँ जन्मन्छौँ, त्यसैलाई साथी बनाउनु सक्नुपर्छ ।हामी आगोमा जन्म्यौँ भन्देखिन्, आगैलाई साथी बनाएर हिँड्नुपर्छ । पानीमा जन्म्यौँ भन्देखिन्, पानीलाई साथी बनाउनुपर्छ । हामी भूकम्पले ठडिएका हिमालका काखमा छौँ, त्यसैले भूकम्पलाई हामीले साथी बनाउन सक्नुपर्छ । र, सक्छौँ पनि । भूकम्पलाई साथी बनाउने भनेको, भूकम्पमैत्री हुनुप¥यो हामी । जहाँ जस्तो प्राकृतिक अवस्था छ, त्योसँग दुश्मनी गरेर बस्नु हुँदैन । हामी भूकम्प फ्रेन्ड्ली हुनुपर्यो । अब भूकम्पलाई के–के चिज मन पर्दैन त ? भूकम्पलाई अग्ला तर कमजोर घर मनपर्दो रहेनछ । भूकम्पलाई कमजोर भौतिक संरचना केही पनि मनपर्दो रहेनछ । हाम्रा नगरपालिका, जिविस, गाविसले दृष्टि पुर्याउन नसकेका र पुर्याएर पनि आँखा चिम्लेका संरचनाहरू यो भुइँचालोले भत्काइदियो । यस्ता कमजोर संरचना हामीले अबदेखि बनाउनु हुँदैन, यो भूकम्पलाई मन पर्दैन । हाम्रा सहर र गाउँमा जस्ता संरचना छन्, त्यसमा एकदमै ठूलो हेलचेक्र्याइँ भएको छ । नक्सै पास नगरी घर बनाउने, भूकम्प प्रतिरोधात्मक भन्ने शब्द थाहै नभएका मान्छेहरूलाई टेक्निसियन बनाउने यस्ता काम गर्न अब हामीले छोड्नुपर्छ । यस्ता काममा सघाउनु राम्रो होइन रैछ भनेर यो भूकम्पले सम्झाएको छ ।अस्तव्यस्त भएका गाउँबस्ती, सहरलाई व्यवस्थित पार्ने अवसर पनि हो यो । जहाँ पातलो बस्ती छ, जहाँ स्कुल पुर्याउन सकिँदैन, अस्पताल पु¥याउन सकिँदैन, त्यहाँको विकास त्यही ढंगले गर्नुपर्छ । त्यहाँ जडीबुटीको विकास हुन्छ, जंगलको विकास हुन्छ, अन्य सम्भावना पनि होला, जे सम्भावना छ, त्यहीअनुरूप विकास गर्नुपर्छ । जहाँ मान्छे बस्नका लागि उपयुक्त छैन, त्यहाँका मानिसलाई व्यवस्थित स्थानमा सार्नुपर्छ । उनीहरूलाई रोजगारीका अवसर दिनुपर्छ । यो भुइँचालोले हामीलाई चारैतिर हेर्न र सोच्न पारेको छ । हाम्रो नराम्रो प्रवृत्ति के छ भने, जिल्ला विकास समितिको केही बजेट लिएर डाँडाडाँडामा डोजर लगाइएको छ । जुन ठाउँमा १० घर छन्, त्यहाँ बाटो पुर्याइएको छ । अर्को साल पहिरो जान्छ, फेरि डोजर कुदायो । यसले पर्यावरणको विनाश गरेको छ । जंगल मासिएको छ । त्यसकारण अहिले हामीले व्यवस्थित बस्तीका बारेमा पनि सोच्नुपर्छ । कुन ठाउँ केका लागि उपयुक्त हो भनेर छुट्याउनुपर्छ । यो भुइँचालो विनाशकारी त हो नै । तर, यसले हामीलाई व्यवस्थित हुने अवसर दिएको छ । अब हामीले समृद्ध नेपाल बनाउनुपर्छ । देशको चौतर्फी विकास गर्नुपर्छ ।अहिले भूकम्पले हामीमा मानसिक त्रास बढाएको छ । हामी आफ्नै घरमा बस्न, आफ्नै गल्लीमा हिँड्न, आफ्नै बस्तीमा डुल्न पनि डराइरहेका छौँ । सधैँ त्रसित भएर मात्रै पनि हुँदैन । तत्कालै हामी भूकम्पसँग शतर्कता अपनाएर अघि बढ्नुपर्छ । अब आउँदा दिनका भूकम्पसँग कसरी प्रतिरोध गर्ने ? कसरी हामी भूकम्पमैत्री बन्ने ? यसरी सोचेर अब काममा निस्कनुपर्छ । त्रास र शोकमा बसेर कहीँ पनि पुगिँदैन ।यति धेरै काम छ । थुप्रै घर, संरचना भत्केका छन् । तिनीहरूलाई बनाउनु छ । बर्खा लाग्यो, बर्खा छल्ने बास चाहिएको छ । बर्खा भनेको खेतीपाती गर्ने समय हो । अब त्यतातिर पनि लाग्नु छ । मैले मिडियामार्फत सुन्दै छु, यो भुइँचालोपछि बिदेसिने युवाको संख्या घटेको छ रे । युवाहरू विदेसिनुको आफ्नै बाध्यता होला । अब युवा आफ्नै देश बनाउन लाग्नुपर्छ । भूकम्प प्रभावित क्षेत्रमा सुरक्षित घर बनाएर आफ्ना परिवारलाई राख्नुपर्ने भएको छ । भूकम्पले प्रभाव नपारेका क्षेत्रमा पनि सुरक्षित घर बनाउन लाग्नुपर्नेछ । किनभने, मैले अघि नै भनेँ, भूकम्पलाई साथी बनाउनु छ ।यो भुइँचालोले जति क्षेत्रमा क्षति ग¥यो, त्यसमा सप्पै नेपाली र संसारले नै सहयोग गर्न खोजिरहेका छन् । अहिले नेपाल बनाउन धेरै ठूलो पैसा आवश्यक छ । हिजोमात्रै हामी कलाकारहरूले प्रधानमन्त्रीलाई भेट्यौँ । केही कुरा राख्यौँ । हामीले अहिलेको सरकारलाई मात्रै दोष दिएर हुँदैन । पञ्चायती व्यवस्थादेखि अहिलेसम्मका सरकारले विश्वसनीय काम गर्न नसकेकाले नै जनताले राहत कोषमा पैसा हाल्न त्यति ठूलो सहयोग गरेका छैनन् । हाम्रा सरकारहरूले बजेटको २५ प्रतिशत पनि खर्च गर्न नसकेको अवस्था छ । यस्तोमा विदेशीले पनि भन्ने अवसर पाइरहेका छन् । फेरि पनि विदेशी सरकार र दातृनिकायले सहयोगको कुरा गरिरहेका छन् । विदेशी सहयोग सरकारको समन्वयमा हुनुपर्छ । कतिपय आईएनजीओले राहत मात्रै ल्याउँदैनन्, विकृति पनि ल्याउँछन् । त्यसैले बलियो सरकार बनाएर हामी अघि बढ्नुपर्छ । विदेशी सहयोग पनि सरकारी कोषमा जम्मा हुनुपर्छ । सरकारलाई मात्रै पनि सबैले विश्वास नगर्ने भएकाले त्यो कोष सञ्चालनमा निजी क्षेत्र, नागरिक समाजका विज्ञ पनि राखिनुपर्छ । सरकारी कोषलाई सबैले विश्वास गर्ने गरी बनाइयो भने, सहयोगको समस्या हुने म देख्दिनँ । देशमा कति धन पनि मन पनि भएका मान्छे छन् । कति विदेशमा बस्ने नेपालीले यति घर बनाइदिन्छु, त्यो गर्छु, भनिरहेका छन् । उनीहरूलाई पनि सरकारले अपनत्वसहित काम गर्ने मौका दिनुपर्छ । सरकार, निजी क्षेत्र र नागरिक समाजले अवश्य नै काम गर्छ है भनेर विश्वास दिलाउन सक्नुपर्छ । हामीले प्रधानमन्त्रीलाई यही भन्यौँ । प्रधानमन्त्रीले यसरी नै काम गर्ने सोच लिएको र छिटै अघि बढ्ने बताए । यस्तो किसिमको संस्था अथवा विकास कोष बन्यो भने त्यसमा पैसा जम्मा गर्नका लागि हामी सबैले प्रचारप्रसार गर्नुपर्छ ।यो भूकम्पले घरबारविहीन भएर कतिको बिचल्ली भएको छ । उनीहरूलाई खाना त अत्यावश्यक नै भयो । अहिले राहतका रूपमा खाद्यान्न गइरहेका छन्, नगएका ठाउँमा पुर्याउनुप¥यो । खाएर मात्रै भएन । सुखसँग निदाउन पाएन भने केही गर्न सक्दैन मान्छेले । त्यसकारण पीडितलाई खानासँगै राति निर्धक्कसँग निदाउने व्यवस्था गर्नु छ । यो बर्खा छल्ने गरी अस्थायी घर बनाउन युवाको आवश्यक छ । अहिले स्वस्फूर्त पनि युवा लागिरहेका छन् । यो बेला हिमाल, पहाड, तराईका युवा मिलेर भूकम्पपीडित लाई सहयोग गर्नैपर्ने भएको छ । काम गर्छु भनेर अगाडि आएपछि काम गर्ने वातावरण बन्छ नै ।पार्टीहरूले पनि स्वयंसेवक खटाइरहेको कुरा आएका छन् । पार्टी, संस्था, समूहबाट जुनसुकै फोरमबाट पनि हामीले सहयोग गर्न सक्छौँ । तर, कुनै दलको भन्दा पनि नेपाली भएर, सबै दलका युवाले स्वयंसेवामा हातेमालो गर्नुपर्छ । प्रशस्त विकासका सम्भावना छन््, हामी सबै आफ्नो ठाउँबाट लाग्नुपर्छ, देश बन्छ । देशैभरि नयाँ संरचना नबनाए हाम्रो भविष्य सुरक्षित छैन भनेर यो भुइँचालोले सूचना दिएको छ । यसमा पनि युवाले आ–आफ्नो ठाउँबाट सोच्नुपर्ने भएको छ । देश विकासको बाटोमा अघि बढ्यो भने सप्पै ठीक हुन्छ । अहिले देशमा संविधान बन्ने कुरा आइरहेका छन् । संविधान बन्दा देशको विकासभन्दा पनि विनाश हुने कुराहरू उठाइरहेका छन्, हाम्रा नेताले । त्यस्ता कुरा छाडेर देशको विकास कसरी गर्ने ? कसरी देशमा सक्षम लिडरसिप जन्माउने ? भनेर सोच्नुपर्छ । अहिले हाम्रो जनसंख्या झन्डैझन्डै तीन करोड छ, तीन करोडलाई सयजनाले दशकौँदेखि लिड गरिरहेका छन् । देशप्रति सकारात्मक सोच नराख्ने, देशलाई कसरी माथि उठाउनेभन्दा पनि आफू कसरी माथि उठ्ने भनेर सोच्ने, आफ्नो पार्टीलाई कसरी माथि उठाउने भन्ने मात्रै सोच भएका सयजनाले देश चलाइरहेको देखिन्छ । म सप्पै नेतालाई दोष पनि दिन चाहन्नँ । सप्पै राजनीतिक विचार फोहोरी हुँदैनन् । कर्मचारीतन्त्रमा सप्पै कर्मचारी नराम्रा हुँदैनन् । तर, ९५ प्रतिशत मान्छे राम्रा र पाँच प्रतिशत मान्छे नराम्रा हुन्छन् भने पनि बिगार्न सक्छन् । हाम्रोमा पाँच प्रतिशतले ९५ प्रतिशतलाई काम गर्न दिइरहेका छैनन् । हाम्रोमा सबैभन्दा खड्केको कुरा हो, नेतृत्व । हामीले युवा–युवा त भन्छौँ । तर, हाम्रो देशका युवाले कहिल्यै मौका पाएका छैनन् ।एउटा युवामा देश बनाउने प्रचुर क्षमता र सम्भावना छ, भिजन छ । र, ऊ देश बनाउँछु भनेर राजनीतिमा होमिन्छ भन्देखिन्, समस्या अनेक आउँछन् । उसले कुनै पार्टीको सदस्यता लिनुप¥यो । फेरि पार्टीभित्र अनेक गुट हुन्छन् । एउटा गुटलाई समात्नुपर्यो । अर्को गुटले उसको खुट्टा तान्छ । माथिल्ला नेताले प्रयोग गर्न थाल्छन् । यसरी सम्भावना भएको युवाले अवसरै नपाउने प्रवृत्ति छन् हाम्रोमा । त्यो युवाले आफूभित्रको प्रतिभा र क्षमतालाई कुण्ठित गरेर, पार्टीभित्रका जस्तासुकै प्रवृत्तिलाई साथ दिएर राजनीतिमा टिक्नुपर्ने हुन्छ । यसरी २५–३० वर्ष टिक्यो भने मात्रै ऊ माथिल्लो निर्णायक स्थानको नेता हुन सक्छ ।म कुनै पनि पार्टीको समर्थक पनि होइन र सप्पै पार्टीको विरोधी पनि होइन । कुनै पार्टीका कुनै कुरा राम्रा लाग्छन्, कुनै नराम्रा लाग्छन् । मलाई के लाग्छ भने, अब संविधान बनाउँदा यो संसदीय पद्धतिमा जानुहुँदैन । यो संसदीय पद्धतिमा हामी गयौँ भन्देखिन्, सही मान्छे चयन गर्ने प्रक्रिया झन्झटिलो छ । यो संसद्ले प्रधानमन्त्री छान्ने, राष्ट्रपति छान्ने, संसद्का सदस्यको समर्थन लिने जुन प्रक्रिया छ, यसले हामीलाई धेरै अलमल्याएको छ । यो परिपाटीको अन्त्य गरेर प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री अथवा राष्ट्रपति चुनिनुपर्छ । यसो भयो भन्देखिन्््, जनताले भिजन भएको नेतालाई छान्न सक्छन् ।त्यो सम्भावनाको ढोका हामीले यो संविधान बनाउँदाखेरि खोल्नुपर्छ । हुन त यो माओवादीको लाइन हो क्यारे । एमालेले प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री र माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, कांग्रेसले संसदीय व्यवस्था भनेको थियो । मैले कुनै पार्टीलाई समर्थन गरेर भनेको होइन, सही लागेकाले भनेको हुँ । तर, अहिले आलोचनात्मक समर्थन गरेर माओवादी, एमाले पनि संसदीय पद्धतिमा राजी भएको कुरा आएको छ । यसो हुनुहुँदैन । दुई–चारजना विद्वानका कुरा सुन्दा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अथवा राष्ट्रपति भयो भन्देखिन् तानाशाही जन्मन सक्छ रे । तर, तानाशाही जन्म्यो भन्देखिन्, त्यस्तालाई जनताले सिध्याइदिएका, जेलमा जाकेका उदाहरण पनि छन् । फेरि कस्तो किसिमको तानाशाहीलाई कसरी ठीक पार्ने भन्ने कानुनको पनि व्यवस्था गर्न सकिन्छ ।कलाकारहरूले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् । हामी पनि विभिन्न ठाउँमा राहत बाँड्न हिँड्यौँ । सबै कलाकार एकढिक्का भएर लागे त राम्रो हो । तर, विपतमा जो जहाँ छ, त्यहीँबाट सहयोग गर्नुपर्ने भएकाले यो सम्भव भएको छैन । कलाकारले आफूले गर्न सक्ने सहयोग गर्नुपर्छ । अहिले मान्छेलाई हँसाउने बेला भइसकेको छैन । भूकम्पको धक्काले लडेका हामी विस्तारै उठ्दै छौँ । अहिले नै हँसाउन थालियो भने उल्टो अर्थ पनि लाग्न सक्छ । त्यसकारण, केहीपछि हामीले मानिसका मनमा मलम लगाउने खालका टेलिशृंखला बनाउँछौँ । केही समयपछि पीडित मानिसलाई पीडा बिर्साउने खालका ठूला–ठूला कन्सर्ट गर्न सकिन्छ । मानिसलाई जगाउन, सामान्य अवस्थामा फर्काउन सकिन्छ, त्यतातिर सोच्नुपर्छ, सोच्छौँ । साभार ः रातोपाटी

Post a Comment

 
Top