गोल्डेन न्यूज संवाददाता
विनासकारी भुकम्पबाट पीडित राहात वितरण गर्ने क्रम निरन्तर जारी रहेको छ । यसैक्रममा शनिबार तनहुँ जिल्लाको शुक्ला गण्डकी र फिरफिरे गाउँ विकास समितिमा खाद्यन्न सामाग्री तथा नगद राहतका रुपमा वितरण गरिएको छ । तनहुँ सम्पर्क समाज पोखरा, फिरफिरे तमु समाज पोखरा, ढोरेली समाज हङकङ र इनरह्वील क्लब अफ न्यूरोड पोखराले संयुक्त रुपमा राहात सामाग्री तथा नगद वितरण गरेका हुन् । शुक्ला गण्डकी नगरपालीकाको लामिस्वारा, भदौरे धोर्मेसहित तीन गाउँका २५ पीडित परिवारलाई २०÷२० केजी चामल सहित खाद्य वस्तुहरु समाजका अध्यक्ष इश्वर प्रसाद सुवेदीले हस्तान्तरण गरेका थिए । फिरफिरे गाविसको ढोर लामागाउँको जनप्रेमी उच्चमावीमा आयोजीत कार्यक्रममा तनहुँ सम्पर्क समाज पोखरा र ईनरह्वील क्लब अफ न्युरोड पोखराकाले उपलब्ध गराएको खाद्यवस्तुहरु उपलब्ध गराइएको थियो । फिरफिरे तमु समाज पोखरा र ढोरेली समाज हङकङले भुकम्प पीडितहरुलाई राहात स्वरुप नगद सहयोग गरेको थियो । कुल १ सय ५५ पीडित परिवारलाई गाउँ विकास समितिले उपलब्ध गराएको सूचिअनुसार सहयोग उपलब्ध गराइएको थियो । कार्यक्रममा समाजका अध्यक्ष ईश्वर प्रसाद सुवेदी, इनरह्वील न्यूरोड पोखराका अध्यक्ष उर्मिला श्रेष्ठ र फिरफिरे तमु समाजका अध्यक्ष मेजर कमलसिँह गुरुङले महाभुकम्पबाट पीडितलाई आफ्नै श्रोत र साधनले भ्याएसम्म सहयोग गर्दै जाने बताएका थिए । इनरह्वील क्लब अफ न्यूरोड पोखराकी अध्यक्ष उर्मिला श्रेष्ठले बेल्जीयमको जुइडेरटेरास रेष्टुरेण्टमा काम गर्ने नेपालीहरुबाट सहयोग जुटाई उक्त रकम इनरह्वीललाई हस्तान्तरण गरेकोमा बेल्जीयममा रहेका निर्माण श्रेष्ठलाई धन्यवाद दिइन् । शुक्ला गण्डकीकै वडा नं ७ तालेमा पनि यी संस्थाहरुले ७० वटा पीडित परिवारलाई सहयोग उपलब्ध गराएका थिए । तनहुँ सम्पर्क समाजले पोखरामा सहयोग संकलन गरी तनहुँका तीनवटै क्षेत्रमा राहत वितरण गर्ने योजना बनाएको छ । यसै बिच इनरह्वील क्लब अफ न्यूरोड पोखराले पनि राहत र पीडितलाई खाना खुवाउने कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
Post a Comment