गोल्डेन न्यूज संवाददाता
यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट १७ हजार ८६६ घाइते भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा तीन हजार १०७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार २२२ को मृत्यु भएको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका दुई लाख ९६ हजार ९०३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् । भूकम्पमा परेकाहरू को उद्धार तथा राहतको कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ । यसैबीच सोमबार साँझ ८ बजेर ३५ मिनेट जाँदा सिन्धुपाल्चो क केन्द्र भएर ४.२ रिक्टर स्केल भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टरभन्दा माथिका १६१ भूकम्पको धक्का महसुस गरिएको यसबाट डराउनुपर्ने अवस्था नरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ठूलो भूकम्पको धक्का गएको हुनाले ससाना धक्का जानु स्वाभाविक भएको र छ रिक्टरभन्दा मुनिका भूकम्प आउँदा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । सोमबार अहिलेसम्म एक भूकम्पको धक्का मात्र महसुस गरिएको छ ।
Post a Comment