0
गोल्डेन न्यूज संवाददाता
बिहीबारदेखि पोखरामा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन बिहान आठ बजे कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले गर्नेछन् । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन–प्याब्सान कास्कीको विशेष सहयोगमा उक्त प्रतियोगिता शुरु हुन लागेको हो । जेठ १७ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्लाका ४५ विद्यालयको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । जसमध्ये सरकारीतर्फ २८ र निजीतर्फ १७ विद्यालय छन् । क्षेत्रगत रूपमा क्षेत्र नं. १ बाट तीन, क्षेत्र नं. २ बाट १५, क्षेत्र नं. ३ बाट नौ तथा क्षेत्र नं. ४ बाट १८ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल र एथलेटिक्सतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, रिले, हार्ईजम्प, लङजम्प, ज्याभ्लिन थ्रो, सटपुटतर्फ छात्रछात्राको प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले जानकारी दिए । प्रतियोगितामा हालै एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीले पनि सहभागिता जनाउन पाउनेछन् । पोखरा रङ्गशालामा कास्कीका चारवटै निर्वाचन क्षेत्रका छुट्टाछुट्टै प्रतिस्पर्धा समेत गराइने छ भने निर्वाचन क्षेत्रबाट प्रथम र द्वितीय भएका टीम तथा खेलाडीलाई जिल्लास्तरीयमा सहभागी गराइने छ । विजेता विद्यालयलाई १५ हजार, उपविजेतालाई १२ हजार र तेस्रो हुनेलाई नौ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। उत्कृष्ट हुने छात्र तथा छात्रालाई छात्रवृत्तिस्वरुप जनही १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न छ लाख लाग्ने भएको छ ।

Post a Comment

 
Top