पत्रकार कृष्णसेन इच्छुकको १३औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संघलगायतका संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर उनको सम्झना गरिरहेका छन् । क्रान्ति र परिवर्तनको पक्षमा सेनको योगदान र निष्ठाको चर्चा गर्दै उनको सम्झना गरिएको छ । नेपाली पत्रकारिता, साहित्य र राजनीतिमा कृष्णसेन इच्छुकको नाम एउटा आदर्शको रुपमा स्थापित छ । पत्रकारिता, साहित्य र राजनीति तीनै क्षेत्रबाट परिवर्तनका खातिर डटेर लागेका सेन क्रान्ति र परिवर्तनकै पक्षमा निर्भिकतापूर्वक अडिएको कारणले शहीद भएका थिए । परिवर्तन र क्रान्तिको निम्ति उहाँले समाएको हतियार कलम थियो । उनको कलमको शक्तिबाट आत्तिएका निरंकुशताका हिमायतीहरुले उनको निर्मम हत्या गरेको आरोप विभिन्न तहबाट लाग्ने गरेको छ । एकजना कलमजीवीले समाचार लेखेकै कारण ज्यान गुमाउनुुप¥यो । २०५९ जेठ ६ गते गिरफ्तार गरेर महेन्द्र पुलिस क्लबको हिरासतमा जेठ १३ गते उनको हत्या गरियो । जेलभित्रै हत्या गरेर उनको लाश बेपत्ता पारिएको समेत आरोप छ । कृष्णसेन इच्छुकको हत्या भएपश्चात मुलुकमा धेरै राजनीतिक परिवर्तन भएको छ । उनको हत्या हुँदा बहुुदलीय शासन व्यवस्थालाई हत्याएर राजतन्त्र फर्काउने कसरतमा लागेका राजा ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन सर्न बाध्य भए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । सेनले आस्था राख्ने पार्टी र लोकतन्त्र, गणतन्त्र अनि प्रेस स्वतन्त्रताको बयान गरेर नथाक्ने दलहरु सबैले सत्तारोहण गरिसके । सेन र सेनजस्ता कैंयौं शहीदको बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत हुने नयाँ संविधान अझै प्राप्त हुन सकिरहेको छैन । क्रान्ति र परिवर्तनको नाममा भएका ऐतिहासिक संघर्ष र त्यसबाट प्राप्त उपलब्धि संस्थागत हुन नसक्दा राजनीतिक क्षेत्रप्रति नै एक खालको निराशा र अविश्वासको वातावरण सिर्जना भएको छ । राजनीतिक, सामाजिक र साँस्कृतिक सबैतिर सिद्धान्त, नैतिकता र आदर्श स्खलित अवस्थामा छ । राजनीतिक र सामाजिकरुपमा बढ्दै गरेको भनाइ र गराइबीचको गहिरो खाडलका कारण कसैले कसैप्रति विश्वास गर्न सक्ने अवस्था छैन । राष्ट्रिय राजनीतिक परिदृश्यमा आशा र विश्वास भत्किरहेका बेला कृष्ण सेनलाई सम्झिने काम भइरहेको छ । तर कर्मकाण्डीरुपमा शहीदहरुलाई सम्झने परम्परा पनि अब भत्कनुुपर्छ । सानै सही, तर सेनको जीवन व्यवहारको अनुुसरण गर्न सकियो भने मात्रै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । पत्रकारिता क्षेत्रले दाबी गर्दै आएको एउटा कुरा के हो भने ऊ आवाजविहीनको आवाज हो । आजको वर्गीय समाजमा आवाजबिहीनको तहमा कुन वर्गका पर्छन् त्यो धेरैलाई थाहा भएकै विषय हो । तर के आजको दिनमा पत्रकारिता जगतको प्राथमिकताको विषय के साँच्चिकै ती बिपन्न असहाय आवाजबिहीनको मुद्दा पर्ने गरेको छ त ? कृष्णसेन इच्छुकको स्मरण गरिरहँदा पत्रकारिता क्षेत्रले मनन गर्नुपर्ने विषय यही हो । हरेक क्षेत्रमा मौलाउँदै गएको सिद्धान्त, निष्ठा, नैतिकता, आदर्श, मूल्य र मान्यता स्खलनको यो रफ्तार कसरी रोक्ने ? हरक्षेत्रमा व्याप्त अविश्वास, निराशा, कुण्ठा भत्काउँदै नयाँ आशा र विश्वासको सञ्चार कसरी गर्ने ? यी विषयमा गहनतम विमर्श भएकोसम्म सुनिँदैन । सेनको स्मृतिमा औपचारिक कार्यक्रम गरेर उनको सम्झना सार्थक हुन सक्दैन । सेनलाई मान्ने र उनको त्याग, तपस्या र बलिदानीको चर्चा गर्नेहरुले कम्तिमा आफ्नै जीवनमा, आफ्नै संगठनमा र आफू संलग्नक्रियाकलापहरुमा उनको आदर्शलाई पछ्याउन सक्ने हो भने मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ । सत्यप्रतिको निष्ठा,निर्भिकतापूर्वक निरन्तर डटिरहने कर्मशील स्वभाव, शब्द र कर्मबीचको एकरुपता जस्ता सेनबाट सिक्नुपर्नेधेरै असल गुण छन् । राजनीतिक सामाजिकरुपमै संस्कृति बनिसकेको भनाइ र गराइबीचको दोहोरो मापदण्ड नै अहिलेको समस्याको जड हो । यसको अन्त्यको लागि इमानदार प्रयास गर्ने हो भने सेनले देखेको सपना, जुन देश र जनताको समृद्धिको सपना हो त्यो पूरा हुने दिशातर्फ चालिएका पाइला सफल हुन सक्छन् । स्व.पत्रकार कृष्णसेन इच्छुकप्रति श्रद्धासुमन
Subscribe to:
Post Comments (Atom)
Post a Comment