कानुनी कारबाहीको प्रक्रिया फितलो र जटिल भएकाले काठमाडौँ महानगरपालिकाभित्र बन्ने ५० प्रतिशतभन्दा बढी घर स्वीकृत नक्साको मापदण्डविपरीत बन्ने गरेका छन् । वार्षिक चार हजार भवन निर्माणको इजाजत दिने महानगरपालिका कार्यालयको एकातिर अनुगमन कार्य प्रभावकारी छैन भने अर्कोतिर कानूनी जटिलता रहेको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट काठमाडाँै महानगरपालिकामा स्वीकृत नक्साको मापदण्डबमोजिम निर्माण भएका र नभएका दुवै किसिमका घरमा क्षति भएकाले यतिखेर त्यस्ता घरको निर्माण प्रक्रियाका बारेमा बहस सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको मापदण्ड बमोजिम महानगरपालिकाले नक्सा स्वीकृत गरेपनि अनुगमन भने नाम मात्र हुने गरेको स्वयम् महानगर पालिकाका कर्मचारी स्वीकार्छन् । मापदण्डविपरीत निर्माणाधिन घरको निर्माण कार्य रोक्ने तथा भत्काउन सक्ने कानुनी अधिकार महानगर पालिकालाई भएपनि स्रोत साधन, जनशक्ति र घर भत्काउने उपकरणको कमीका कारण कारबाही प्रभावकारीरुपमा गर्न नसकेको महानगरपालिकाका उपनिर्देशक सनतकुमार थापा बताउछन् । महानगरपालिकामा हाल करिब एक लाख १० हजारमात्र नक्सा पास भएका घर छन् भने त्यसमध्ये ५० प्रतिशत भन्दा बढी घर स्वीकृत नक्साको मापदण्डविपरीत निर्माण भएको महानगरपालिकाको अनुमान छ । मापदण्डबमोजिम निर्माण भए÷नभएको बारेमा निर्माणाधिन प्रत्येक घरमा महानगरपालिकाबाट प्राविधिकका साथै नगर प्रहरी र सम्बन्धित वडाका कर्मचारी स्थलगत अनुगमनमा जाने भएपनि आर्थिक चलखेलका कारण कुनै पनि कारबाही नहुने गरेको एक कर्मचारी बताउँछन् । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६१ बमोजिम स्थानीय निकायको प्रमुखले आफ्ना प्राविधिक कर्मचारी खटाई प्राविधिक प्रतिवेदन लिई मापदण्ड विपरीत भवन निर्माण भएको देखिएमा भत्काउने अधिकार छ । तर ऐनको दफा १६२ बमोजिम उक्त निर्णयमाथि पुनरावेदन गर्न सक्ने अधिकार भवन निर्माणकर्तामा सुरक्षित रहेकाले तत्काल निर्णय कार्यान्वयन हुने देखिदैन् । महानगरपालिकाले हाल नयाँ बन्ने घरको जग, डिपिसी र सम्पन्न भएपछि तीन चरणमा नक्सा पास गर्ने र सोहीअुनसार अनुगमन गर्ने गरेको महानगरपालिकाका वरिष्ठ इन्जिनियर राम थापा बताउँछन् । हाल सबै नगरपालिका पिच्छे घर निर्माणको मापदण्ड फरक फरक रहेकाले समय सापेक्षरुपमा कम्तीमा उपत्यकामा घर निर्माणको मापदण्ड एउटै निकायबाट हुनुपर्ने र त्यसको अनुगमन कार्यलाई प्रभावकारी बनाउनुपर्ने बेला आएको वरिष्ठ इन्जिनियर थापाको भनाइ छ
Subscribe to:
Post Comments (Atom)
Post a Comment