0
पोखरामा नयाँ दूध उद्योग थपिएको छ । दूध उत्पादक कृषकहरुको सक्रियतामा नयाँ ‘पोखरा दूध’ बजारमा आउने भएको छ । पोखरा दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो उत्पादन आँफै प्रशोधन गरी उपभोक्ता माझ पठाउन नयाँ दुध उद्योग संचालनमा ल्याउन लागेको हो । पोखरा त्रिवेणी डेरी तथा जैविक कृषि उद्योग मार्फत नयाँ दूध बजारमा ल्याउन लागेको संस्थाका अध्यक्ष शोभाकान्त ढकालले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उद्योगबाट दूध, दही, घ्यू, पनिर, नौनी, आईसक्रिम, खुवा, बटर लगायतका दुग्धजन्य पदार्थ उत्पादन गरिने उनले बताए । पोखरा १५ ढुङ्गेसाघुमा रहेको उद्योगबाट उत्पादन भएका बस्तुहरु तत्कालको लागि पोखराको मुख्य बजार लगायत छोरेपाटन, लेकसाईड, सिम्पानी, काहुखोला, विजयपुर, लेखनाथ, छिनेडाडा, महतगौडा क्षेत्रसम्म पुग्ने ढकालले बताए । हाल तोकिएको बजार मूल्य अनुसारनै उत्पादित बस्तु बिक्री हुने ढकालले बताए । उनका अनुसार स्टाण्र्डड दूधको प्रतिलिटर ६४, होल दुध ८०, दहि १ सय १०, नौनी घ्यू ६ सय ७०, आईसक्रिम १५०, पनिर ५५० प्रतिलिटर बिक्री गरिनेछ । कम्पनीबाट प्रतिदिन तीन हजार देखि पाँच हजारसम्म दीध उत्पादनको क्षमता छ । ५ करोड लागानीमा सञ्चालित उद्योगमा ४५ जनाले रोजगारी पाएको संस्थाले जनाएको छ । उक्त दूध उद्योग संचालन गर्नका लागि नेपाल सरकारको कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि व्यापार आयोजना (प्याक्ट) ३१ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । उद्योगमा आवश्यक दूध आफ्नै फार्ममा रहेका ७५ वटा गाइबाट दैनिक ५ सयदेखि ६ सय लिटरसम्म उत्पादन हुने अध्यक्ष ढकालले बताए । उद्योगको थप क्षमता वृद्धि गर्नका लागि एक घरमा दुई गाइ अभियान कास्कीका ग्रामिण भेगमा संचालन गरिने उनले बताए । कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक तथा सहकारीका सचिव धर्मराज अर्याल र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले समेत बोलेका थिए ।

Post a Comment

 
Top